वीरगन्ज महानगरको बजेटमा २५ करोड रुपैयाँ थप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीरगन्ज महानगरको बजेटमा २५ करोड रुपैयाँ थप


२५ पुस २०८०, बुधबार


काठमाडौँ । वीरगन्ज महानगरपालिकाको नगरसभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको बजेटमा २५ करोड रुपैयाँ थप गरेको छ । यसका साथै विभिन्न योजना तथा कार्यक्रमहरू परिमार्जन समेत गरेको छ । 

बुधवारदेखि सुरु भएको अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्थामा रहेका कार्यक्रम परिमार्जन गर्दै बजेट थप गरेको हो ।

अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएका २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोड थपेर ३ अर्ब ४६ करोड पुर्‍याएको हो । अधिवेशनले खानेपानीका लागि महानगरवासीको ४ हजार घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ थप छुट्याएको मेयर राजेशमान सिंहले बताए ।

भारतीय दूतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याएको मेयर सिंहले जनाए । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरिएको उनले बताए ।

नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरू पनि पेश गरेका छन् । वीरगन्ज महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवम् संवर्द्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेश गरिएको हो ।

बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयकपनि पेश भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस