‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्नु गलत : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्नु गलत : प्रधानमन्त्री


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि जनाएका छन् ।

सोमबार सिंहदरवारमा आयोजित केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्रीले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘जे भयो गलत भयो । सरकारले विप्लवहरूसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरू शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरूलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ ।’

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।

सम्बन्धित समाचार : ‘विप्लव’ र ‘प्रकाण्ड’विरुद्ध पक्राउ पुर्जी जारी

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो । विप्लव समाजवादी मोर्चामा सहभागी छन् ।

२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस