‘विप्लव’ र ‘प्रकाण्ड’विरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘विप्लव’ र ‘प्रकाण्ड’विरुद्ध पक्राउ पुर्जी जारी


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानूनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि उल्लेख छ ।

२०७६ साल असोज ९ गते उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरूले संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो । त्यसैअनुसार जिल्ला अदालत प्रशासनले आज सूचना निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस