सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन, हामी कुर्सी मोहमा स्वार्थी भयौं : सांसद झा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन, हामी कुर्सी मोहमा स्वार्थी भयौं : सांसद झा


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जसपाबाट प्रतिनिधिसभा सदस्य रहेकी छिन् । उनी विगतमा नेकपा एमालेको सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापति समेत रहेकी थिइन् ।

सांसद झा सांसदको मुख्य काम कानुन निर्माण नै हुनुपर्नेमा गलत अभ्यास र बुझाइका कारण विकास निर्माणका काममा पनि संलग्नता देखिएकामा खुसी छैनन् । सांसदले संवैधानिक दायित्वबमोजिम कानुन निर्माणका काममा पर्याप्त समय दिएका छन् त ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सांसदको काम विशुद्धरुपमा कानुन र नीति बनाउने नै हो । हामी कहाँ सरकार, संसद् र समितिबीचको उचित तथा प्रभावकारी समन्वय पनि आवश्यक छ । सरकारको काम कानुनको मस्यौदा तयार गरी सदनमा लैजाने र सदनले सम्बन्धित समितिमा जनताको आवाजबमोजिम छलफल गराइ सदनमा पेस गरी पारित गराउने प्रक्रियाका बीचमा सांसदको सक्रिय भूमिका खोजिनुपर्छ ।’

संसदीय मामिलामा शीर्ष र अनुभवी सांसदले आफूहरूलाई खासै नसिकाएको गुनासो गर्ने सांसद झा चुनावमा जाँदा यति विकास गर्छु, उति बजेट ल्याउँछु भनेर आश्वासन दिने र त्यही कुरा पत्याएर मतदान गर्ने जनताले पनि सांसदका कारण विकास हुन्छ भन्ने बुझाइलाई त्याग्नुपर्नेमा स्पष्ट छिन् ।

सांसद झा संसद्भित्र विधेयक आउनु पूर्व वा बजेट तथा नीति निर्माण कार्यक्रम तय हुँदा सांसदको भूमिकाको माग गर्छिन् । उनी भन्छिन् ‘सांसदको क्षमता नै नभएर उनीहरूले भूमिका निर्वाह नगरेका होइनन् । सबै सांसद सक्षम छन् भन्ने होइन र सबै असक्षम नै छन् भन्ने पनि होइन । उनीहरूलाई त भूमिका दिनुपर्छ । मेरो क्षमता र ऊर्जाअनुसार मैले संसदीय काम गर्न पाइरहेको छैन । मैले गर्न खोजेको एक प्रतिशत पनि काम पाइरहेको छैन । अहिले संसद्मा सरकारले पर्याप्त विजनेश दिन सकिरहेको छैन ।’

सदनमा विभिन्न नाममा अवरोध तथा आरोप प्रत्यारोपणको क्रम बढेको छ । बढ्नुपर्ने चिज घटेको छ । घट्नुपर्ने चिज बढेको छ । यसले संसदीय अभ्यास र मर्यादामा आँच आउने त होइन भन्ने प्रश्न उठेको छ । सांसद झा सदन अवरोध गर्ने कार्य नियमावली र लोकतान्त्रिक आन्दोलनको मर्म विपरीत भएको ठान्छिन् ।

‘संसद्मा जनतामा आवाज प्रस्तुत हुनुपर्छ र सांसदबीच संवाद हुनुपर्छ । यसमा अनुभवी र पुराना सांसदले अगुवाइ गर्नुपर्छ । उहाँहरूबाट हामीले केही सिक्न पाउनुपर्छ । सदनमा कुनै अवरोध नहोस् भन्ने सबैको चाहना हो । यसरी अवरोध कायम रहेमा विधेयक समयमा अघि बढ्न सक्दैनन् ।’

सदनमा आवेगमा आएर अभिव्यक्ति दिने र पछि शब्द फिर्ता लिने वा रेकर्डबाट हटाउनुपर्ने स्थिति देखिएको छ । जनताको चाहना बमोजिम यी कार्य ठिक छन् त रु सांसद झा यसलाई कहिलेकाहीँ त्यस्तो अवस्था हुनसक्ने तर अधिकतम सांसदले विचार गरेरै बोलिरहेको जिकिर गर्छिन् । मानसिकताको कमी भई सिद्धान्त र आदर्शबाट विद्यमान व्यवस्था सञ्चालन हुनुपर्ने हो त्यो हुन नसक्दा यदाकदा समस्या वा कमजोरी हुने गरेको उनको टिप्पणी छ ।

संसद्भित्र देखिने विकृति तथा कमीकमजोरीका सवालमा सांसद झाको बुझाइ छ, ‘सांसदले कानुन र नीतिका सबै विषयको अध्ययन गर्नुपर्छ । अध्ययन गरिरहेका पनि छन् । तर कामका सवालमा केही कमीकमजोरी त हुन्छ नै । भएका नियमको पालनाका सवालमा हामीले ध्यान दिनुपर्छ । सबै कुरा एकै पटक थाहा नहुन सक्छ । यसमा सम्बन्धित संसदीय दलले प्रशिक्षणलगायत माध्यमबाट सांसदलाई पोख्त बनाउन सक्नुपर्छ ।’

संसदीय पूर्वाधार विकास कोषको औचित्यबारेको प्रश्नमा उनले विगतमा अभ्यासमा आएको, बीचमा हटेको र अहिले किन ल्याइयो भन्ने आफू पनि अनभिज्ञ रहेको उल्लेख गर्दै भन्छिन् ‘बजेट निर्माणमा हाम्रो कुनै भूमिका नहुनाले यो फेरि किन आयो भन्ने थाहा हुने कुरा भएन । सरकारले ल्यायो । संसद्ले पास गर्‍यो । तर यसमा सर्वोच्च अदालतले रोक्न मिल्दैन । यो त संसद्को कार्यक्षेत्र र अधिकारको विषय हो । कार्यपालिकालाई न्यायपालिकाले हस्तक्षेप गर्न मिल्दैन ।’

यदि यो कार्यक्रम लागू गर्ने हो भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसदका लागि लागू हुने गरी ल्याउनुपर्ने तर्क गर्दै सांसद झा प्रतिप्रश्न गर्छिन्, ‘अधिकांश प्रत्यक्ष सांसद पुरुष छन्, उनीहरूले नै कोषको बजेटमा अगुवाइ गर्छन् । विगतमा पनि उनीहरूले जितेर त्यो कार्यक्रम चलाए, अहिले पनि चलाउँछन् । यहाँ महिला धेरै समानुपातिकमा छन् । जनताले बजेट लिएर र कार्यक्रम लिएर आउने नै नेता हो भन्ने बुझाइ राख्ने स्थितिमा उनीहरू कसरी राजनीतिमा स्थापित हुने ?’

मधेस प्रदेशमा समिति तथा उपभोक्ता समिति बनाउने र अनेक नाममा प्रतिशतका आधारमा बजेट खर्च गरिने स्थितिको अन्त्य भई सुशासन काम हुनुपर्ने र त्यसमा सांसदको भूमिका हुनुपर्ने उनको भनाइ छ । समाधानका लागि असारे विकास बन्द गरी सरकारको नीति तथा कार्यक्रम फागुन चैततिरै सांसदलाई थाहा हुने स्थिति हुने भएमा बजेट तर्जुमामा सहज हुने सांसद झा धारणा राख्छिन् ।

नेपालको संविधानको सफल कार्यान्वयनका लागि सांसद झाको सुझाव छ, ‘विद्यमान निर्वाचन प्रणालीअनुसार गठबन्धनमा जानुपर्ने बाध्यता देखिन्छ । यसमा जस्तो परिणाम आएको छ, त्यसका आधारमा दलीय हैसियतका आधारमा पालैपालो सरकारको नेतृत्व र सत्तामा हिस्सेदारी दिनुपर्छ । संसदीय व्यवस्थामा हामी कुर्सी मोहमा लागेर स्वार्थी भयौँ । राजनीतिमा उच्च इमानदारिता र नैतिकता प्रदर्शन हुन सकिरहेको छैन । यसका लागि नेताहरू गम्भीर र सदाचारी हुनुपर्छ । सबै नीतिको माउ नीति राजनीति भएकाले राजनीति हाँक्ने शीर्ष नेताले आफूलाई सुधार गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस