एक कर्मचारीको भिन्न सिकाइ : काममा निखार र नवीनता दिन काइदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एक कर्मचारीको भिन्न सिकाइ : काममा निखार र नवीनता दिन काइदा


१८ भाद्र २०८०, सोमबार


सार :एक कर्मचारीको सात दिनको पुराणमा संलग्नता अनुभव र अनुभूतिको प्रतिविम्बन यस आलेखको विषयवस्तु हो । राजा र ऋषिमुनि पुराणका प्रमुख पात्र हुन्छन् । यी दुई पात्रहरू विपरीतार्थ ध्रुवका पात्र हुन्छन् । एउटा शासक र अर्को ज्ञान दिने; छुट्टाछुट्टै कर्म गर्ने पात्र हुन् । राजासँग शक्ति, स्रोत  र अधिकार छ; राजदरबार छ; संरक्षक र प्रजा हुन्छ भन्नाले राज्य शक्ति छ । ऋषिसँग केही छैन-नदी किनारको जङ्गलको कुटिमा बास हुन्छ, त्यही दिनचर्या चल्छ । राजाको अन्तिम शरण लिने र ज्ञान दिने पात्र ती केही नभएका ऋषिहरू हुन्छन् । यिनै दुई बिचका हजारौँ रोमाञ्चक कथाको सात दिने पुराणको सिकाइ र बुझाई, लेखको सार हो ।  

उठान : जीवन र मृत्युको सम्बन्ध के हो ? जीवन कहाँबाट आउँछ र मरेपछि कहाँ जान्छ  ? पूर्वजन्म र पुनर्जन्म सत्य हो कि मिथ्या ? पाप र पुण्य, स्वर्ग र नर्कका कुरा के हुन् ? जीवनका यी जटिल प्रश्नहरू मेरा लागि पीडादायी रहस्य थिए र अलिले पनि उद भ्रममै छँदै छन् । सायद यी प्रश्नको उत्तर पाउने अधिकार हामी मनुष्य जातिलाई छैन । पइदैन् । अहिले पनि भौतिकवादी र आध्यात्मबादीहरुको आफ्नै बुझाइ र तर्क छन् । चार्ल्स डार्विनले अलि तर्क र प्रमाण जुटाएर मान्छेको उत्पत्ति सम्बन्धी विचार प्रतिपादन गरेका छन् त्यसले पनि सन्तुष्टि दिन सकेको छैन । सरल रेखीय जागिरे दैनिकी र जीवन शैलीबाट यी र यस्ता विषयमा गहिरिने अवसर सायदै हुन्छ । भनिन्छ, एकै प्रकारको जीवन शैली नवीनता पाउदैन्, एकोहोरो काम र त्यसमा पनि झन्झटिला कामहरू थपिदा विकृति आउन सक्छ, त्यो परिवेश सृष्टि र शान्ति प्रतिकुल हुन्छ ।

स्वाभाविक दैनिकीलाई बङ्ग्याएर कहिले पैदल यात्रा, कहिले धार्मिक यात्रा त कहिले उच्च पर्वतीय यात्रामा निस्कने जीवनशैलीले पछिल्लो समयमा अलि प्राथमिकता पाउन थालेको छ । त्यसै मेसोमा एक साताको कथा वाचनमा संलग्न हुने अवसर मिल्यो । हाम्रा धार्मिक तथा परम्परागत संस्कार र संस्कृतिमा कार्य संलग्न हुँदाको आत्मानुभूति र  त्यसको प्रतिविम्बन प्रस्तुत गर्नु यो आलेख को मूल उद्देश्य रहेको छ ।

विश्वास नलागेको : अल्प ज्ञान वा विषयवस्तुमा ज्ञानै नभएर होला संस्कृत भाषामा लेखिएका ग्रन्थहरूमा आधारित सनातन समुदायका धार्मिक कार्यहरू सामान्यतया औपचारिकता पुरा गर्ने विषयवस्तु हुन कि भन्ने लाग्थ्यो । सुन्न र बुझ्न रस थिएन । जाँगर पनि नलाग्ने । विक्रम सम्मत २०७९ सालको माघ १४ गते देखि २० गतेसम्मको एक साता अलि भिन्न रह्यो । घरमा सात दिनको पुराणको कार्यक्रमको निधो गरिएकोले सातै दिनको छुट्टी मिलाउन आग्रह थियो । सात दिन नै बिदा मिलाएर पूरै समय त्यसरी त्यहाँ बस्न सकिन्छ र पाइन्छ भन्ने विश्वास आफैलाई थिएन । तथापि समय जुराउन सफलता प्राप्त भयो । पुराण सुरु हुने अघिल्लो दिनमा नै पुगियो । पुगेको दोस्रो दिन अर्थात् पुराणको पहिलो दिनमा नै मन्दिरको पूर्व पट्टि स्थापना गरिएको गणेशको स्वरूपमा सातै दिन कर्ताको भूमिका निर्वाह गर्न पर्ने जिम्मेवारी प्राप्त भयो ।

पहिले नै घरबाट आग्रह थियो ×समय मिलाएर पूजामा सहभागी भए पुग्छ अरू केही गर्न पर्दैन” । एक छिन होइन, एक घण्टा पनि होइन, एक दिन पनि होइन, त्यत्रो सातसात दिन कसरी विताउने: आफूलाई रस नभएको र चासो पनि खासै नभएको विषयमा त्यसरी समय बिताउने कुरा कम सकसको कुरा थिएन । अरूले पनि त्यो एकाग्रताको भूमिका पूरा हुन्छ भन्ने कुरामा शङ्का गरेका रहेछन् । शङ्का स्वाभाविक थियो । बिहान देखि बेलुकीसम्म भोकै बसेर पण्डितहरूले जे जे भन्छन् अनुशासित बनी कर्म पूरा गर्ने कुरा ।

सुखद आरम्भ : बिहान चार बजेर तीस मिनेट जाँदा उठ्ने, मनतातो पानी खाने, केही समय पठनपाठन गर्ने, कसरत र योग गर्ने, अनि नुहाउनेजस्ता केही वर्ष देखिको बिहानको दैनिकीलाई पहिलो दिन कायमै भयो । सात बजेतिर एक गिलास दूध खाएपछि पहिलो दिनको पूजाको कर्म सुरु भयो । चित्त र ध्यान केन्द्रित भएको थिएन । तथापि अनुशासित कर्ता बन्ने निधोका साथ एकाग्रता कायम गर्ने प्रयास भई नै रह्यो  । पहिलो चरणमा, संस्कृतका श्लोकहरू भन्न अभ्यस्त पाँच जना पण्डितहरूले एकै स्वर, धुन र लयमा संस्कृतका विषयलाई नेपालीमा अनुवाद गर्दै निर्देश गरे । कर्ता सुद्धीको जल खाने, कुशको पवित्र लगाउने, पुस्तक पूजा गर्ने, बिहानीको आरती आदि; काम सकियो ।

बिहानीको आरती साह्रै रमाइलो भयो । पण्डितहरूको स्वर र लय नै सुनिरहौँ जस्तो । पहिलो दिनमा दोस्रो, तेस्रो, चौथो आदि चरण चरणमा धेरै पूजाआजा भए । घरी मन्दिरको वल्लो कुना, घरी पल्लो कुना । घरी एउटा देवताको नाममा फेरि अर्को कुनामा अर्को देवताको नाममा । केही समय पुराणको पुस्तक पढेपछि बेलुकीको आरती गरेर पहिलो दिन सकिए जस्तो लाग्छ, धेरै कुरा सम्झनामा आएन । पट्याइ लागेन, थकाइ लागेन, भोक लागेन, दिन बिताउन गाह्रो भएन । कष्टानुभूति पटक्कै भएन । दिन भर कहिकतै ध्यान गएन । अचम्मको एकाग्रता ।

एकाग्रतामा बढोत्तरी : दोस्रो दिन पहिलो दिन कै पहिलो चरण दोहोरियो सुनिरहौँ जस्ता पण्डितहरूका संयुक्त संस्कृतका श्लोक, शुद्ध जल, पवित्र, आरती आदि । दोस्रो चरणमा, सहायक बाचकबाट संस्कृतमा कथा वाचन सुरु भयो । सबैले ध्यान दिएर सुन्नु भनियो । जति ध्यान दिएर सुन्यो उति फल प्राप्ति हुन्छ भन्ने सुनेकोले ध्यान केन्द्रित गर्न निकै प्रयास भयो। हातमा फूल लिएर ध्यान मुद्रामा  विषयवस्तुमा केन्द्रित हुन निकै प्रयास गरियो । धनधनाकार संस्कृतमा पाठ भई रहेको थियो ।  कुरो बुझिने भए त ध्यान जाने थियो कि कुनै शब्द र वाक्यको अर्थ कहीँ कतै बुझिएन ।

तथापि करिब बिस मिनेटमा हुने अध्यायको विश्राममा गरिने पूजा, धुपबत्ती र घण्ट बजाउने जिम्मेवारीका कारणले त्यति गाह्रो भएन । एउटा अध्याय सकेपछि हातमा लिएको फूल चढाउने, धुपबत्ति गर्ने, शंखघण्ट बजाउने फेरि अर्को अध्यायको पाठ सुरु गरिहाल्ने । एवम् रितले करिब चार घण्टाको निरन्तर वाचन सकियो । वाचन गरिएको पुस्तकमा २५२ अध्यायमध्ये ५० अध्याय सकिए छ ।

मध्यान्ह पछिको चरणमा संस्कृतमा वाचन गरिएका विषयवस्तुको नेपालीमा सारांश बताइने कार्यक्रम रहेछ । मूल पण्डितबाट रोचक शैलीमा समसामयिक परिवेशका उदाहरणहरू दिँदै विषयवस्तु प्रस्तुत थियो । हिन्दुहरूको एउटा सम्प्रदायले पञ्च देवतालाई नित्य रूपमा पूजा गर्ने गरेका छन् । गणेश, देवी, विष्णु, शिव र सूर्य पाँच देवता हुन् । तिनका बारेमा राम्रै जानकारी मिल्यो । पञ्च देवता पछि पञ्च तत्त्वको बारेमा लामै चर्चा भयो । विद्यालय तह देखिनै त्यी पञ्चतत्वका बारेमा पढ्न पर्थ्यो ।  परिस्थिति पद्धति (इकोसिस्टम) र दिगो विकासका विषयवस्तु जागिरका पनि सम्बन्धित विषय हुन, ती पञ्चतत्व नै दिगो विकासका गुदो कुरा हुन भन्ने प्रसङ्ग आयो । विषयवस्तु चाख पूर्ण भयो । पञ्चतत्वको सन्तुलनले पृथ्वीमा प्राणीको अस्तित्व सम्भव भएको छ । तिनका बिचमा खलल ल्याउने काम गर्नु पाप हो भनी दिगो विकासको चुरो कुरो लाई अनिवार्य पालना गर्ने जुक्ति त्यहाँ रहेछ ।

संसारका हरेक घटना र परिघटनामा हाम्रो खासै केही लाग्दैन सबै थोक ईश्वरमा भर पर्छ भन्ने विषयलाई उदाहरण र सानातिना कथाका प्रसङ्गबाट बाचकले भन्दै गर्दा अचम्मसँग ध्यान केन्द्रित हुन्थ्यो । ईश्वर र पञ्चतत्व बिचको सम्बन्धका बारेमा निकै मिहेनत गरेर मूल पण्डितबाट धेरै कथा र उपकथा जोडेर प्रस्ट्याउन प्रयास भयो । त्यसमध्ये गोठालाको आँप चोरको कथा निकै रोचक थियो । स्मरणमा ताजै छ । आँप चोरले चोर्न जाँदा आखाले देख्यो, गोडाले हिँडेर गयो, हातले टिप्यो । आँप बगैँचाको मालिकले देख्यो । लट्ठीले चोरलाई बेसरी पिठ्यूँमा पिट्यो । पिठ्यूँले लट्ठी खायो, आँखाले आँसु झार्‍यो । आफ्नो कारणले अर्कोले पिटाइ खाएकोमा दुख लागेर आँखाले आँसु झार्‍यो । अर्काको दुःखसुखमा मान्छेले मानवीय व्यवहार र दया गर्न पर्छ भन्ने सन्देश त्यस्ता रोचक कथाबाट दिइँदो रहेछ । केही भन्नै नपर्ने कथाबाट नै अनुभूत हुने । यसो गर्न पर्छ उसो गर्न पर्छ भनेर उपदेश दिने होइन । कथा सुन्दै गर्दा नै आत्मानुभूति हुने ।

त्यो दिनमा उपासना र क्रीडाका बेरेमा पनि सङ्क्षिप्त जानकारी भयो ।  गणेश किन महत्त्व छ, पौराणिक कालमा विषयवस्तुका बारेमा स्पष्ट पार्ने विधि र प्रक्रिया निकै रोचक थियो । ऋषिहरूले कुनै महत्त्वपूर्ण विषयमा प्रवचन गर्दा ८८ हजार श्रोता हुन्थे रे । तिनीहरू मध्येबाट एक जना सक्षम सहभागीलाई प्रश्नकर्ताका रूपमा छनोट गरिने रहेछ । अनि एउटा बाचक र अर्को प्रश्नकर्ता । प्रश्नकर्ता हुन विषयवस्तुमा निकै निपुर्ण हुन पर्थ्यो रे । त्यो युगमा सिक्ने र सिकाउने काइदा विचित्रको रहेछ ।

राजा सोमकान्तको कथा साह्रै रोचक थियो । सोमकान्त राजा रोगले आक्रान्त भई जङ्गल जाँदाको कथा, रोचक मात्र थिएन हृदयस्पर्शी थियो । सोमकान्त राजाको प्रसङ्ग पुराण अवधिभर नै आउँदो रहेछ । उन् लाई कुष्ठ रोग लागेछ । अव यस्तो रोग लागेको मानिस राजकाजमा बस्न हुँदैन भनी सबै राजकाज त्याग गरी जङ्गल तिर लाग्ने विचार गरेछन् । राज्यमा साह्रै दुखको अवस्था आयो । उनी साह्रै प्रजा प्रेमी थिए । राज्य कोष र राजको सम्पत्ति राजाको होइन राज्यको हो र जनताको हो भनी उनी जङ्गल तिर लाग्छन् । आँफुसँग केही लगेनन् । कोही लगेनन् । समाधिको बाटोमा लागेको सङ्केत गर्दै उनी जङ्गलतिर हिँड्छन् । कैयौँ दिन भोकै । कहिले काहीँ कन्दमूल खाएर जीवन त्याग गर्ने प्रयास गरिरहेको हुन्छन् । एक जना ऋषिका छोराले उन् लाई देख्छन् । उनको उपचार हुन्छ । कथा लामो हुन्छ अत्यन्तै रोचक । सुख र दुखको कथा ।

अर्थ बुझ्ने र मूल्य लिन चाहना गर्नेका लागि बहुपक्षीय महत्त्व छ यस्ता कथाको भन्ने लाग्यो । चेमन ऋषि र भृगु ऋषिको कथा । बनियाको छोरो हुँदाको पूर्वजन्मको कथा र ब्राम्हाण मारेको पापको प्रायश्चित्त, पाप पुरुषको उत्पत्ति शरीरबाट भएको जस्ता विषयवस्तु प्रस्तुत भयो । समय बितेको पत्तै भएन ।  श्रीमान् श्रीमती बिचको सम्बन्धका कुरा हरेक कथामा कुनै न कुनै रूपमा प्रकट हुने गर्थ्यो । 

निरन्तरता र मुल्यथप : पहिलो प्रहरमा अघिल्ला दिनहरू जस्तै कण्ठस्थ भएका संस्कृतका श्लोक मिठोश्वरले प्रमुख बाचक र उपवाचकले भनिरहँदा पहिलो र दोस्रो दिनमा जस्तै आनन्द आयो, रमाइलो भयो । ती पण्डितहरूले त्यस्तो कसरी सम्भव बनाए होलान् ? घण्टौँसम्म भन्ने श्लोकहरू कसरी सम्झेको होला भन्ने लाग्थ्यो । आफूले केही हरफ मात्र संस्कृतका श्लोक कण्ठ गर्न प्रयास गर्दा परेको सकस सम्झना भई रह्यो । पहिलो प्रहर सकियो । दोस्रो प्रहर संस्कृत वाचन हुने नै भयो । संस्कृतका विषयवस्तु बुझ्ने तागत थिएन ।

जब तेस्रो प्रहर शुरु भयो । आफ्नै समय आयो जस्तो भयो । मूल पण्डितले भन्न थाल्नु भयो । जीवन भर पाम कर्म मात्र गरेको तर एक पटक मात्र धर्म गरेको (रामको नामा जपेको) मान्छे मरेपछि त्यसलाई नर्कमा पठाउने कुरामा चित्रगुप्त द्विविधामा परेछन्  । किनकि उसले एक पटक भए पनि ईश्वरको नाम लिएको छ भन्ने लागेछ । उनले इन्द्रलाई सोध्छन् । इन्द्रले पनि निर्णय दिन सक्दैनन् । इन्द्रले शिव भगवानलाई सोध्दछन् । एवम् रितले धेरै चरण पूरा भएपछि अन्त्यमा रामसँग नै सोध्न पुगिन्छ । यस प्रकार पिडकले पीडितबाट क्षमा पाएमा अरू बिचका बिचौलियाको खासै अर्थ हुँदैन भन्ने खालको व्यवहारिक सन्देश दिने रोचक कथा हुने रहेछन् । पछ्याएर गरिने (स्नो फल) तरिकाको अनुसन्धानको उत्तम नमुना जस्तो ।

पार्वतीले बकुवा लगाएर नुहाउन बालक छोरो जसको नाम गणेश थियो उसलाई बाहिर राखेर भित्र पसिन । नुहाउने काम सकेपछि उनी घरमा नै काममा व्यस्त भइन । छोरोलाई बाहिर राखेको कुरा भुलिन । धेरै समय पछि गणेशका बुवा घरमा आए । उसले बुबा शङ्कर भगवानलाई नै चिनेन । भित्र पस्न दिएन । आमाको आदेश छ दिन्न भन्यो । उनकै बाबु भएको कुरा सम्झाउँदा पनि पत्याएनन् । आमाको आज्ञालाई अटल बनेर पालना गरे । अग्रजको आज्ञा पालना गर्न पर्छ भन्ने सन्देश दिने यस्ता धेरै कथा सुन्न पाइने रहेछ।  

त्यस्ता कथा र उपकथाले शरीरमा सकारात्मक ऊर्जा र तरङ्गको आभास भई रहँदो रहेछ । लाग्छ त्यो पुराणको संस्कृत ग्रन्थमा निकै रोचक शैलीमा विषयवस्तु उल्लेख गरिएको हुनुपर्छ तर आफ्नो सामर्थ्यले संस्कृत पढ्न सकिदैन् । पण्डितजीहरूसँग प्रत्येक अध्यायगत रूपमा कथाको उल्था गर्न आग्रह गरिएको भएता पनि त्यो भएन । कथा बाचनको क्रममा सत्यभामाको कथा र दुबोको महिमा,  दुवोको महत्त्व सुनको भन्दा कयौँ गुन बढी भएको जस्ता अति रञ्जित लाग्ने प्रसङ्गहरू पनि आएका थिए, तिनलाई छिचल्ने गरी अन्तरभूत गर्न सकिएन ।

भीम नाम गरेका राजा बिरामी भएर ऋषि कुलतिर गए । सन्तान थिएन । दुई मन्त्रीलाई राज्यको जिम्मा लगाएर उनी वैराज्ञीएर विना राजकाजीय तयारी वनवास हिँडे । ती राजा दिव्या आश्रम पुगे जहाँ वशिष्ठ ऋषि थिए । सात पुस्ता पहिला उनले कूल पुजा नगरेको, मदिरा खाएर मातेका र ब्रम्हणको हत्या गरेका जस्ता कर्मले गर्दा उनले त्यो नियति व्यहोर्न परेको हो भनी ऋषिले त्यसलाई सहज र स्वाभाविक रूपमा लिन आग्रह गरे । राजालाई शान्त बनाए । त्यस्ता कथाले मान्छेको मनमस्तिष्कमा नयाँ पन दिने रहेछ । इच्छा र आकाङ्क्षा कहिले पनि पूरा हुँदैन, आफ्नो सफलता र असफलता अरूसँग तुलना गर्ने होइन जस्ता हजारौँ व्यवहारिक विषयवस्तु हुँदो रहेछ ।

पुराणको परिदृश्य चाखिला कुरा : आउने प्राय सबै मानिसहरूले पैसा यज्ञमा चढाए । धेरैले पाँचका र दशका नोटहरू चढाएका थिए, उनीहरूले पैसा मात्र होइन फूल, दुवो, बत्ती अरू के के थालीमा वा टपरीमा लिएर आएका हुन्थे । त्यस्ता भक्तजनहरू मन्दिरमै शिर राखेर ढोग गर्थे । अलि धेरै पैसा चढाउनेले देखाएरै चढाए । उनीहरूले फूल र अरू पूजाका सामग्री ल्याएको देखिएन । पूजामा आउने मानिसहरू पाँच किसिमका हुने रहेछन् । पहिलो प्रकारका ज्ञानी र विवेकी अर्थात् पूर्ण ईश्वर प्रतिको भक्ति भाव भएका । चोखा लुगा र खाना नखाएर बसेर बेलुकी बेलपत्र चढाउने अनि मात्र खाना खाने । उनीहरूमा ईश्वर प्रति पूर्ण समर्पित भाव देखिन्थ्यो ।

दोस्रो प्रकारमा भद्रगोले, म जस्तै, संवेदनशील कुनै काममा पनि नहुने । पूर्ण समय पूजामा संलग्न हुने तर पूर्ण समर्पित हुन नसक्ने । तेस्रो तरिका भक्तजनहरू भने गर्ने होइन कि गरिदिने खालका हुने रहेछन् । भनेकोले आइदिएको, घरका जा भनेर आइदिएको, फोटो खिचेर लगेर प्रमाण पेश गर्ने । चौथा तरिका मान्छे फोटो खिच्ने, टिकटकका पारखी तुरुन्तै फेसबुकमा आफू समेत भएको फोटो फेस बुकमा राख्ने । मन्दिरको फोटोमा आफूलाई राखेर भगवान् प्रति समाहित हुने । पाँचौँ तरिका मान्छेमा फेसन वाला (अनुहारवाला, गहना वाला लुगा वाला) भने हुने । प्राय दिनदिनै लुगा र गरगहना बदलेर दर्शन गर्न आउने । सारीको र मोबाइलको बाहिरी कभरको रङ समेत मिलाएर भगवानको आराधना गरेको छु भनी विश्वास गर्ने र गराउन खोज्ने । त्यसो गरे भगवान् खुसी हुनु हुन्छ भनी विश्वास गर्ने !  यी र यस्ता विषयले पनि रमाइलै गराएको थियो ।

मनोरञ्जन र शान्ति : पुराणको अन्त्यतिरबाह्र हजार पाँच सय पटक जप भयो । घर वास्तु (घर पैँचो)को काम पनि सकियो । रुद्री र पुराणको होमन भन्दै सात जना ब्राम्हणहरुले घण्टौँ सम्म ध्यूमा मुछिएको चरुको होमन गरे । धेरै घ्यू, चामल र जौ खर्च भएकोमा कुनै प्रवाह थिएन । राम्रोसँग होमन गर्न पर्छ भन्नेमा नै मानिसहरू केन्द्रित थिए ।  चकलेट र फलफूल आकाशमा फालेको रोचक र मनोरञ्जनात्मक कार्यले निकै मनोरञ्जन भएको थियो । रोटी र जल घर वास्तुको दिन घरको माथिल्लो भागबाट फालेको र त्यसलाई छोप्न केटाकेटी बुढाबुढी सबै उस्तै जोस र जाँगरमा गरेको हानथापमा अचम्म रमाइलो थियो । हाम्रो प्रचिनतम मनोरञ्जनको काइदालाई संस्कार र संस्कृतिले अचम्मैसँग अन्तर घुलन गरेको रहेछ ।

बिहानीको कसरतको सट्टा बेलुकी भजनमा नाचेर परिपूर्ति गरियो । प्रत्येक दिन बेलुका भजन कृतन र नाचगान हुन्थ्यो । प्रत्येक दिनमा करिब आधा घण्टा नाचेर रमाइलो गरियो । नाच्नाको खास कारण व्यायामको दैनिकीलाई निरन्तरता दिनु थियो । मैले निसंकोच नाचेको कुरा पनि स्मरणमा रहिरहेको छ । आफन्तजनमा यो निकै चर्चाको विषय बनेको रहेछ । नाचगान बजानमा मौलिकता थियो । पहाडको जस्ताको तस्तै रुपान्त्रित थियो । पण्डितहरू सरल थिए र सहज थिए । विषयवस्तुलाई व्यवहारिक बनाउने प्रयास निरन्तर गर्थे ।अर्को महत्त्वपूर्ण पक्ष आफन्तजनसँगको पुनर्मिलन अद्यावधिक हुने रहेछ । सयौँ आफन्त जनहरू सात दिनमध्ये कुनै एक दिन भए पनि टुप्लुक्क आइपुग्ने रहेछन् ।

राज्यलाई काम लाग्ने कुरा :हाम्रा पुराणहरू संस्कृत भाषामा लेखिएका कारण तिनमा वर्णित अनमोल ज्ञानबाट वञ्चित हुनुपर्ने अवस्था छ भन्ने अन्तरभूत भयो । नेपालीमा उल्था गरिएका पुस्तकहरू संस्कृतको अर्ध ज्ञानको भरमा गरिएका जस्तो लाग्छ र तिनबाट वास्तविक रसास्वादन गर्न सिकिँदैन कि भन्ने बुझाइ बन्यो । राजा, मन्त्री र गुरुले धन सङ्ग्रह गर्नु हुन्न । राजले धन सङ्ग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र नै गरिब हुन्छ । मन्त्रीले धन सङ्ग्रह गर्न लागेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ । गुरुले धन सङ्ग्रह गर्न लागेमा शिक्षाको मूल्य मान्यता ह्रास आउँछ र मूर्खहरूको साम्राज्य फैलिन्छ । यस्ता विषयवस्तु पनि त्यहाँ हुने रहेछ ।

चन्द्र नगरका राजाका छोरा थिएनन्, उनी असाध्य नै ज्ञानी थिए । प्रजा पालक थिए । उनको देहबासन हुन्छ । सार देशवासी दुखी भए । राजा खोज्न हत्तीलाई एउटा माला दिएर पठाइयो । त्यो हात्तीले धेरै मिहेनत गरेर गणेश पूजक बालकलाई माला गलाइ दियो र उसलाई ल्याएर राजाको सिंहासनमा राखिदियो । जसले सत्कर्म गर्छ उसको भाग्य कताबाट आउँछ कताबाट । भन्ने सन्देश दिलाउने कथा रहेछ त्यो । व्यक्तिले राज्य खोज्ने होइन, राज्य संयन्त्रले असल नेतृत्व खोज्न पर्छ भन्ने सन्देश त्यसरी पाइँदो रहेछ ।

अन्त्य, पुराण अथवा गणेश पुराणबाट भविष्यमा प्राप्त हुने फल के होला त्यो छुट्टै विषय हो । तत्कालै यसबाट बहुपक्षीय फाइदा भएको अनुभूति भएको छ । जसले धर्ममा पूर्ण विश्वास गर्‍यो उसले सर्वाधिक उपलब्धि प्राप्त गरेको हुनु पर्छ किनकि ती वर्गका व्यक्तिले आफ्नै दिनचर्या बदले । दैनिकी नै परिवर्तन भयो । बिहान प्रकृतिसँग साक्षात्कार गर्दै फूल, दुबो र पाती टिपे । फूल, अक्षता, दुबो, बत्ती आदि लिएर पुराण स्थल पुगे । प्रार्थना गरे । आफ्नो कर्म गरिरहे फेरि बलुकी बेलपत्र चढाए । अनि मात्र खाना खाए । अहिलेको १६ घण्टाको इन्टरमिडियट फास्टिङ्ग (उपासना) पूरा भयो । शारीरिक पक्षमा मात्र स्वास्थ्य भएनन् । धेरै किसिमका सूझ प्राप्त भएको हुनुपर्छ। दिमागमा सिर्जना र प्रवर्द्धन हुन्छ । आनन्द र शान्ति । नवीन तरिकाले सोच्ने र काम गर्ने असीम क्षमता वृद्धि ।  

असतोमा सद्गमय !

तमसोमा ज्यतिर्गमय !!

समाप्त

Tags :
प्रतिक्रिया दिनुहोस