दुई वर्षभित्र ललितपुरलाई उज्यालो सहर बनाउने अभियानमा छौं : चिरिबाबु महर्जन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई वर्षभित्र ललितपुरलाई उज्यालो सहर बनाउने अभियानमा छौं : चिरिबाबु महर्जन


१६ श्रावण २०८०, मंगलबार


ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले विकासप्रेमी मेयरको छवि बनाएका छन् । पूर्वाधार विकास गरेकै कारण उनलाई महानगरवासीले दोस्रो पटक ललितपुर महानगरको दोस्रो पटक नेतृत्व सुम्पेका छन् । महानगरमा बाइसाइकल लेन, स्मार्ट स्ट्रिट लाइट, सिसिटिभी जडान, हाइमास्ड लाइटलगायत पूर्वाधार विकास गर्न लागिरहेका उनी सम्पदा संरक्षणमा पनि उत्तिकै क्रियाशील छन् । यिनै विषयमा उनीसँग प्रशासन डट कमले गरेको कुराकानी । 

ललितपुर महानगरका चर्चित मेयर सा’बको दोस्रो कार्यकाल के–कसरी बित्दै छ ? 

दोस्रो कार्यकालको पहिलो वर्ष सिद्धियो । यो अवधिमा लगभग चार ओटा कुरामा राम्रो उपलब्धि प्राप्त गर्याैं । पहिलो, मुलुकका ७५३ पालिकाहरूमध्ये ललितपुर महानगरपालिकाले सामाजिक क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको हातबाट मैले पुरस्कृत हुने मौका पाएँ । दोस्रो, बागमती प्रदेशको ११९ ओटा स्थानीय पालिकाहरूमध्ये सम्पदा क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको(सम्पदा क्षेत्र भन्नासाथ मूर्त र अमूर्त सम्पदा रहन्छ) भनेर । यी दुवै क्षेत्रमा सबैभन्दा राम्रो काम ललितपुर महानगरपालिकाले गरेको भनेर तक्मा प्रदान गरियो । 

तेस्रो, सिटी मेड भन्ने एउटा अन्तर्राष्ट्रिय संस्था छ, जसमा एसिया एण्ड प्यासिफिक क्षेत्रको १७४ जना मेयर सा’बहरू र इन्टरनेशनल दातृ निकायहरू, विश्व बैंक, एशियन डेभलपमेन्ट बैंक, इयुलगायतका सङ्घसंस्थाहरू जोडिएका छन् । त्यसको महाधिवेशन हुँदै गर्दा मैले पनि त्यहाँ उम्मेदवारी दिएँ । ललितपुर महानगरपालिका पनि यसको सदस्य भएको धेरै भएको थियो । र, ९ ओटा खाली पदको निमित्त २२ ओटा उम्मेदवार हुँदै गर्दा म तेस्रोमा चुनिएँ । 

चौथो, काठमाडौँ भ्याली मेड फोरम भन्ने संस्था छ । यसमा दुई ओटा महानगरपालिका र १६ ओटा नगरपालिका गरी १८ ओटा छन् । उक्त संस्थाको हालसालै भएको महाधिवेशनबाट म अध्यक्षमा सर्वसम्मत रूपमा चुनिएँ । तसर्थ यो चार ओटा कुरा गएको आर्थिक वर्षको उपलब्धि ठानेको छु । 

राष्ट्रियदेखि लिएर अन्तर्राष्ट्रिय महत्वका विषय सँगसँगै महानगर क्षेत्रको पूर्वाधार विकासमा के कति प्रगति गर्न सकेका छौँ ? 

पूर्वाधार विकासको सन्दर्भमा हामीले मनग्ये कामहरू गर्दै आइरहेका छौं । वडा नम्बर १ देखि २९ सम्मको पूर्वाधार विकासको एउटा पाटो छ भने नगर स्तरीय पूर्वाधारको अर्को पाटो छ । र, यो दुवै क्षेत्रमा हामीले राम्रैसँग काम गर्दै आइरहेका छौं ।

उदाहरणका लागि पाटन दरबार स्क्वायर, जसलाई युनेस्कोले १९८७ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । त्यो क्षेत्रमा पहिले धेरै पानी पर्दा स्विमिङ पुल बन्थ्यो । र, त्यो त्यही दरबार स्क्वायरकै छेउमा रहेको मंगहिटी, जो सातौँ शताब्दीमा बनेको हो, त्यहाँ पनि धेरै पानी पर्दा स्विमिङ पुल बन्थ्यो । त्यसको समाधानका लागि हामीले एसियन डेभलपमेन्ट बैंकको सहयोग लिएर लगनखेलदेखि पाटन दरबार स्क्वायर हुँदै शंखपुलसम्मको २.९ किमी लम्बाइको क्षेत्रमा ट्रंकलाइन प्रोजेक्ट सञ्चालन गरेका छौं, अहिलेसम्म ८० प्रतिशत काम भइसकेको छ । यो वर्ष ठूलो पानी पर्दा पनि त्यहाँ स्विमिङ पुल बनेन । यो उत्कृष्ट नमुना हो । यद्यपि, यो काम अहिलेसम्म पूरा भएको छैन । महाकाल क्षेत्रमा त्यो ट्रंकलाइनसँग जोडिने गरी त्यहाँ अर्को सानो ट्रंकलाइन प्रोजेक्ट अहिले निर्माण हुन गइरहेको छ । यो ज्वलन्त उदाहरण हो । यस्ता थुप्रै काम महानगरले गरेको छ । 

सम्पदामा धनी महानगरको व्यवस्थापन र संरक्षणमा भई रहेका प्रयासहरूबारे केही बताइदिनुस् न । 

मैले भन्ने गरेको थिएँ, सम्पदा क्षेत्र यदि बनाउने हो भने सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ प्रयोग नगर्नुहोस् । यो गरे सम्पदा बिग्रिन्छ । उदाहरणको लागि ः २०७२ सालको भूकम्पले बिग्रिएको जगतनारायण मन्दिर । त्यो मन्दिर वडा नम्बर १३ को सबैभन्दा राम्रो मन्दिर हो । तर, त्यो अहिले ग्राउन्ड जिरोमा छ । तसर्थ मैले सम्पदा बनाउँदा टेन्डर गर्नुहुन्न भन्ने कुराको व्याख्या गर्दै आइरहेको थिएँ । र, नेपाल सरकारले पनि त्यो कुरालाई मान्यो । र, १० करोडसम्मको टेन्डर गर्नुपर्दैन भन्ने कार्यविधि बन्यो । त्यो कार्यविधि बनेपछि ललितपुर महानगरपालिकामा हामीले धेरै ओटा मन्दिर बनायौँ, कतिपय बन्दै छन्, कतिपयको निर्माण सकियो । 

उदाहरणको रूपमा बालकुमारी मन्दिर, पाटन र भीमसेन मन्दिर । त्यसमा नेपाल सरकारको दुई रुपैयाँ पनि परेन । हामीले आफै चन्दा उठाएर गर्याैं । यस्तै, मछिन्द्रनाथको बुङमति मन्दिरको लगभग ८० प्रतिशत काम सिद्धियो । त्यस्तै, खोकनाको रुद्रायनी मन्दिरको प्रगति पनि राम्रो छ । यावत मन्दिरहरू पनि व्यवस्थित तरिकाले बनाउँदै आइरहेका छौं । 

तर, दुःखको कुरा ! राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोल्याप्स भइसकेपछि यो कार्यविधि पनि सँगसँगै कोल्याप्स भयो । तसर्थ अब उपरान्त कुनै पनि मन्दिर बनाउँदा टेन्डर गर्नुको विकल्प छैन । तर, मैले भन्ने गरेको छु । टेन्डर गरेर मन्दिर बनाउनु भनेको मन्दिर बिगार्नु हो, बनाउनु होइन । यसमा धेरै मेयर सा’बहरूको साथ छ । तसर्थ यसमा फेरि हामीले अर्को लबिङ गरिरहेका छौं । हामी सफल हुन्छौँ होला ।

साइकल लेन, स्मार्ट स्ट्रिट लाइट, इन्टेलिजेन्स सिटी लाइट, सिसिटिभी जडानलगायतलाई व्यवस्थित बनाउनेदेखि महानगरलाई प्रविधिमय बनाउन पनि भगीरथ प्रयास गरेको देखिन्छ, यसको परिकल्पनाबारे केही बताइदिनुस् न ?

ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने हाम्रो परिकल्पना छ । अब स्मार्ट सिटी भन्नासाथ त्यहाँ धेरै अवयवहरूले सगोल रूपमा काम गर्छ । त्योमध्ये एउटा बाइसाइकल लेन पनि हो । तसर्थ हामीले ललितपुर महानगर क्षेत्रमा बाइसाइकल लेन बनाउनुपर्छ भनेर योभन्दा अघिको मेरो कार्यकालमा साढे ३२ किलोमिटर सडकमा बाइसाइकल लेन बनायौँ । अहिले गएको वर्षमा हामीले साढे ७.९ किलोमिटर बाइसाइकल लेन बनायौँ । 

चक्रपथको दुवैतिर ७.९ किलोमिटर गरेर १५.८ किलोमिटरमा हामी डेडिकेटड बाइसाइकल लेन बनाउने सम्बन्धमा टेन्डर पनि भइसकेको तर नेपाल सरकारले त्यहाँ फेरि ओभर–ले गर्ने काम सुरु गरेकाले हाम्रो काम पेन्डिङ भइरहेको छ । तसर्थ बाइसाइकल लेन बनाउने सम्बन्धमा हामी काम गरिरहेका छौं । तर, हामीसँग बाइसाइकल लेन बनाउने ऐन छैन । ऐन नहुँदा काम गर्न गाह्रो भइरहेको छ । संविधानमा पनि बाइसाइकल लेनको कुरा छैन । 

नेपालको कुनै पनि ऐनमा बाइसाइकल ऐन उल्लेख गरेको छैन । अनि स्थानीय सरकारले ऐन बनाउँदाखेरि कतै न कतै टेक्नुपर्ने एउटा आधार लिनुपर्ने रैछ । त्यसले गर्दा हामी ऐन बनाउन सकिरहेका छैनौँ । तर, हाम्रो ड्राफ्ट तयार छ । तसर्थ हामी यसमा पनि छलाङ मार्छौँ होला ।

स्मार्ट स्ट्रिट लाइटको कुरा गर्दा, यसको परिकल्पना ललितपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरण कुलमान घिसिङ सरसँग सहकार्य गरेर निस्किएको उपज हो यो । तसर्थ सोही अनुसार पहिलो फेजको काम सिद्धियो । पहिलो फेजमा ६६९ ओटा बत्ती जडान गर्याैं । अब दोस्रो फेजमा १४ सय ओटा स्मार्ट स्ट्रिट लाइट राख्ने काम पनि सिद्धियो । बल्न पनि थाल्यो । एक–दुई ठाउँमा प्राविधिक समस्याले बल्न सकेको छैन । होइन भने सबै ठाउँमा बलिसकेको छ । दोस्रो प्याकेजअन्तर्गत हामीले १२ ओटा ठाउँमा हाईमास्ड बत्ती पनि जडान गरिसकेका छौं । यहाँले देख्न पनि सक्नुहुन्छ, अहिले चार–पाँच ठाउँमा बत्ती बलिसक्यो । हाम्रै महानगरपालिकाको प्राङ्गणदेखि लिएर जाउलाखेल–लगनखेलमा बत्ती बलिसकेको छ । यो हाम्रो दोस्रो प्रोजेक्ट हो ।

तेस्रोमा हामीले चक्रपथको ७.९ किलोमिटर क्षेत्रमा त्यसको लाइटको डिस्ट्रिब्युसन बराबर हुनुपर्छ, कतै उज्यालो कतै अँध्यारो नहुने गरी काम गरिरहेका छौं । चक्रपथको चौडाइ ६० मिटर छ । तसर्थ डिजाइन विथ अपरेट एण्ड ह्यान्डओभर कन्सेप्टमा हामीले काम अघि बढाइरहेका छौं । निकट भविष्यमा यसको टेन्डर पर्छ । यो ठेक्का जुन ठेकेदार सा’बले पाउनुहुन्छ, उहाँले बनिसके पछिको पाँच वर्षसम्म मर्मत पनि गर्नुहुनेछ । कतै चिम बिग्रियो वा बलेन भने उहाँहरूले नै बनाउनुहुनेछ । 

र, अहिले यति मात्रै पनि होइन, गएको आर्थिक वर्षमा हामीले अन्यत्र पनि थुप्रै ठाउँमा नेपाल विद्युत् प्राधिकरणले काम अगाडि बढाइसकेको छ । र, हाम्रो टार्गेट दुई वर्षभित्रमा ललितपुर महानगरको प्रायः जसो सबै ठाउँमा हामी स्मार्ट लाइट बाल्छौँ । र, कथमकदाचित कोही प्लेनबाट आउँदाखेरि भ्यालीभित्र यसो हेर्दाखेरि सबैभन्दा उज्यालो सहर ललितपुर हुनेछ भन्ने हाम्रो उद्देश्य हुनेछ ।

सम्बन्धित समाचार : पूर्वाधार विकास र सम्पदा संरक्षणमा अग्रसर ललितपुर महानगर 

सिसिटिभीको सन्दर्भमा हामीले जुन जुन ठाउँमा स्मार्ट स्ट्रिटलाई राख्यौँ, तत्तत् क्षेत्रमा हामीले सिसिटिभी जडान गर्दै आइरहेका छौं । उदाहरणको लागि हामीले पहिलो फेजमा ६६९ ओटा स्मार्ट सिटी लाइट जडान गरेका ठाउँमा हामीले त्यो ठाउँमा सिसिटिभी जडान गरिसक्यौँ । अब दोस्रो फेजमा १४ सय स्मार्ट सिटी लाइट जडान भएको ठाउँमा सिसिटिभी राख्नका लागि नेपाल प्रहरीसँग सहकार्य गरेर त्यसको काम पनि अघि बढेको छ । त्यसको काम पनि सकिन्छ ।

इन्टिेलिजेन्स ट्राफिक लाइटको सन्दर्भमा चाहिँ हामीले बाग्मती पुल क्रस गरिसकेपछि हामीले तत्तत् ठाउँमा हामीले इन्टिेलिजेन्स ट्राफिक लाइट राख्छौँ, जुन ठाउँमा मछिन्द्रनाथको रथयात्रा हुँदैछ । तसर्थ हामीले बाग्मती पुलदेखि जाउलाखेलसम्मको इन्टिेलिजेन्स ट्राफिक लाइटको, अहिले त्यसको डिजाइन पनि भइसकेको छ । टेन्डर पनि भइसकेको छ । त्योचाहिँ म्यानफ्याक्चरर पनि भइसकेको छ । अब ल्याएर इन्स्ट्रल मात्रै गर्न बाँकी छ । र, यो २१ औँ शताब्दीको लेटेस्ट टेक्नोलोजी हो इन्टिेलिजेन्स ट्राफिक लाइट । र, यसले एक ठाउँको ट्राफिक लाइटले अर्को ठाउँको ट्राफिक लाइटसँग एक आपसमा कुरा गर्ने, जसले गर्दाखेरि एक ठाउँमा निकै जाम भयो भने अर्कोतिर होलो भयो भने जुन भेगमा अलि बढी जाम छ, त्यहाँ अलि बढी समय गाडी जान पाउने आदि इन्टरनल व्यवस्थापन त्यो सिस्टमभित्र छ । 

विपद् व्यवस्थापनका लागि पार्टनरसिपको अवधारणामा पनि यहाँहरू जानुभएको रहेछ, यसको बारेमा पनि थोरै बताइदिनुस् न ?

यो हाम्रो नयाँ कन्सेप्ट हो । तर, लागू भइसकेको छैन । विपद् भन्नासाथ कसैलाई थाहा हुँदैन, कहिले विपद् आउँछ । कोभिड कहिले आउँछ, कसलाई थाहा थियो र ! 

विपद्को सन्दर्भमा हामीले ललितपुर महानगर क्षेत्रमा कुनै पनि ठाउँमा कुनै पनि किसिमको विपद् आई पर्नासाथ त्यसको खबर पाएको ४ मिनेटमा सेवा प्रवाह गर्ने हाम्रो टार्गेट हो । तर, यो भन्न जति सजिलो छ गर्नको निमित्त त्यति नै गाह्रो छ । यस कारण गाह्रो कि अहिले यहाँ ट्राफिक जाम यत्रतत्र छ । 

मोटरसाइकलको संख्या यति बिघ्न बढिरहेको छ कि यो कुनै न कुनै किसिमले कन्ट्रोल गर्नैपर्छ, बाइ हुक ओर बाइ क्रुक । यो गर्नैपर्छ, नगरीकन सुखै छैन । यसको विकल्पहरू ल्याउनुपर्छ । र, यो भन्दै गर्दा हामीले ४ मिनेटभित्रमा सेवा प्रवाह गर्ने हाम्रो टार्गेट हो । तर, अहिलेसम्म लागू गरेका छैनौँ । यो लागू गर्नको निमित्त एउटा प्रोजेक्ट ल्याएका छौं, एउटा स्किम ल्याएका छौं । त्यो भनेको विपद्को जति पनि अवयवहरू छन्, त्यो सबैलाई हामीले एउटै छानामुनिबाट प्रवाह गर्ने भनेर हाम्रो पुल्चोकमा रहेको जुद्ध वारुण यन्त्रलाई केन्द्र बनाएर यो विपद्को व्यवस्थापन गर्न गइरहेका छौं । र, अहिले पुलचोकको जुद्ध वारुणयन्त्रमा विपद्का अवयवहरू राखेका छौं । त्यहाँ दमकल छ, एम्बुलेन्स छ, शव वाहन छ र नगर प्रहरी छ । र, अन्य अवयवहरू पनि त्यही हामीले राखेका छौं । तर, अघि भन्याजस्तै कुनै ठाउँमा कुनै विपद् घट्यो र, पुल्चोकमा दमकल जाँदै गर्दा ट्राफिक जाममा पर्‍यो  भने त खत्तम भयो नि त । 

तसर्थ अहिलेको सन्दर्भमा हामीले यही आर्थिक वर्षमा ललितपुरमा महानगरपालिकाको तीन क्षेत्रमा बुङमती, बालकुमारी र धापाखेलमा विपद्को सबस्टेसन खोल्न गइरहेका छौं । त्यो सब स्टेसनमा घटीमा पनि एउटा दमकल हुन्छ, एउटा एम्बुलेन्स हुन्छ, एउटा शव वाहन हुन्छ र नगर प्रहरी हुन्छन् । र, कुनै पनि क्षेत्रमा विपद् पर्नासाथ त्यो नजिकैको सवस्टेसनबाट चार मिनेटभित्र सेवा पुर्‍याउने हाम्रो टार्गेट हो । अहिलेचाहिँ हामीले यो आर्थिक वर्षमा यसको टार्गेट गरेका छौं । र, यो लागू भइसकेपछि घोषणा गर्छाैं । 

अर्को कुरा हामीले पाटन सिटी डजनट स्लिप भन्ने कन्सेप्ट दुई किसिमले लिएका छौं । एउटा हामीले बिजनेस सेक्टरबाट लिएका छौं भने अर्को विपद् सेक्टरबाट पनि लिएका छौं । अब विपद्को कुरा मैले भने । बिजनेसको कुरा गर्दा अहिले भन्नु न । यहाँ धोबिघाट, कुपन्डोल, सानेपा, बखुन्डोल यो एरियामा एकदमै राम्रा राम्रा रेष्टुरेन्ट खोलिसकेका छन् । उहाँको मकहाँ समयसमयमा डेलिगेसनमा आइरहनुहुन्छ । र, उहाँहरू के भन्नुहुन्छ भने मेयर सा’ब हामीलाई बिजनेस आवर पुगेन । हामीलाई त घटीमा पनि रातिको १२–१ बजेसम्म काम गर्न दिनुपर्छ । तसर्थ पाटन सिटी डज नट स्लिप भन्ने कन्सेप्ट मैले त्यस अर्थमा पनि लगाउन खोजेको छु कि कुनै पनि किसिमको हामीले यो कन्सेप्ट लागू गरिसकेपछिको अवस्थामा बिजनेस गर्न व्यवसायीलाई उनीहरूको बिजनेस सेन्टरमा केही दायाँबायाँ भयो, कुनै झैझगडा भयो, कुनै किसिमको विपद् पर्नासाथ ११३१ मा फोन गर्नासाथ हामीले चार मिनेटभित्रमा सेवा प्रवाह गर्ने हाम्रो टार्गेट छ । मलाई जहाँसम्म लाग्छ, यो पनि हामी मिट गर्छौँ । त्यो अवस्थामा पाटन डजनट स्लिप लागू हुन्छ । 

सरसफाइ तथा सार्वजनिक शौचालय निर्माण कार्यलाई पनि महानगरले राम्रै प्राथमिकतामा राखेको देखिन्छ, एक वडा एक शौचालयदेखि लिएर सार्वजनिक स्थानहरूको सरसफाइ तथा सौन्दर्यीकरण निरन्तरता र थप निर्माणमा महानगरले के गर्दै छ ?

ललितपुर महानगरपालिकाले नगरेको केही पनि छैन । तर, हाम्रो आफ्नै फोहोर मैला व्यवस्थापन केन्द्र छैन । हामी बञ्चरेडाँडा ओखर पौबामा आश्रित छौं । त्यहाँ जब जब समस्या निस्कन्छ । हाम्रोमा पनि समस्या निस्कन्छ । तर, यहाँ समस्या निस्कँदाखेरि क्राइसिस म्यानेजमेन्ट भनेर जब जब त्यहाँ समस्या निस्कन्छ त्यो अवस्थामा हामीले मार्जिनली व्यवस्थापन गर्ने गरेका छौं । तसर्थ पनि हामीकहाँ त्यति फोहोर नदेखिएको हो । अर्को कुरा हामीले ललितपुर महानगर क्षेत्रमा इन्टरनेशनल्ली पब्लिक ट्वाइलेट भनेको प्रत्येक एक किलोमिटरमा हुनुपर्ने मान्यता छ । यो भन्दै गर्दा हामीले प्रत्येक वडालाई ट्वाइलेट बनाउनुस्, त्यसको निमित्त प्रस्ताव लिनुस् । यसमा वडाको पैसा लाग्दैन, केन्द्रबाट पैसा लगानी गर्छौँ भनेर उहाँहरूलाई ट्वाइलेट बनाउनको निमित्त सूचना जारी गर्याैं । तर, हाम्रो एउटै सिद्धान्त के त भन्दा महानगरपालिकाले बनाएको तथा सञ्चालन गरेको ट्वाइलेट जतिसुकै परबाट हेर्दा पनि एउटै किसिमको हुनुपर्छ । त्यसको आर्किटेक्चर एउटै हुनुपर्छ । डिजाइन एउटै हुनुपर्छ, कलर एउटै हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । र, त्यहीबमोजिमले डिजाइन गरेर सबै वडालाई दिइसक्यौँ । 

र, उहाँहरूसँग प्रस्ताव पनि मागिसकेका छौं । अहिलेसम्ममा हामीले ९ ओटाको टेन्डर गरिसक्यौँ । केही समय मित्र हामीले ठेकेदारसँग सम्झौता गर्छौँ । अर्को ७ ओटाको ढिला आएकाले टेन्डर गर्न सकेका छैनौँ । र, बाँकीलाई अझ हामीले एकदमै ताकेता गरिरहेका छौं । उहाँहरूको पनि आएपछि यो पनि टेन्डर गर्छौँ । 

सम्भवतः हामीले यो आर्थिक वर्ष ०८०÷८१ सम्ममा घटीमा पनि एउटा वडामा एउटा सार्वजनिक शौचालय बनाउँछौँ । यसको एउटा विशेषता के त भन्दाखेरि महानगरले शौचालय बनाउँछ भन्नासाथ ट्वाइलेट फोहोर हुन्छ, गनाउँछ भन्ने छ । तर, हामीले फोहोर हुन दिन्नौँ । ट्वाइलेट भित्र जाँदा खेरी पनि नगन्हाउने खालको शौचालय बनाउँछौँ । यसको उदाहरणको निमित्त पाटन ढोकामा र मंगलबजारको शौचालय यहाँहरूले हेर्न सक्नुहुनेछ । त्योचाहिँ पटक्कै गन्हाउँदैन । त्यस्तै किसिमको सोकेस प्रोजेक्ट हामीले गर्न खोजेका छौं । 

तेस्रो कुरा लगनखेल र जाउलाखेलमा पाटन ढोकाकै हाराहारीको राम्रो किसिमको ट्वाइलेट हामी दुई ओटा निकट भविष्यमै बनाउँदैछौं । र, पाटन दरबार क्षेत्रभित्र पर्यटकहरूको निमित्त एकदमै राम्रो किसिमको ट्वाइलेटको एक महिनाअगाडि शिलान्यास गरेर आएँ । त्यसको बनाउने काम शुरु भइसकेको छ । तसर्थ मलाई जहाँसम्म लाग्छ । अर्को एक–दुई वर्षमा ललितपुर महानगर क्षेत्रमा एकदमै व्यवस्थित किसिमको हाइजेनिक ट्वाइलेटको पर्याप्त व्यवस्थापन गर्न सक्षम हुनेछौँ । 

चक्रपथ बाहिरका वडालाई बजेट तथा कार्यक्रममा विशेष जोड दिएको देखिन्छ । के कसरी विकास गर्ने योजना छ ?

यो निकै महत्त्वपूर्ण प्रश्न हो । यो यस कारण पनि महत्त्वपूर्ण प्रश्न हो कि ललितपुर उपमहानगरपालिका हुँदै गर्दा ती क्षेत्र गाउँपालिका थिए । ती महानगरपालिकामा स्तरोन्नति हुँदै गर्दा हिजोका गाउँपालिका मर्ज गर्न ल्याए । तसर्थ उहाँहरूकोमा कसै कसैको कार्य विनायक नगरपालिकाको अनुभव छ । होइन, भने उहाँहरूले नगरपालिकामा पनि नगई कन उपमहानगरपालिकामा नगई कन एकैचोटी महानगरमा छलाङ मार्न सफल भए । ललितपुर उपमहानगरपालिका हुँदाखेरि तिनीहरू गाउँपालिका थिए । अब यहाँ उपमहानगरपालिकाको वडाहरू भनेपछि पुल्चोक भनौँ, जावलाखेल भनौँ, मंगलबजार भनौँ वास्तवमा यहाँ यसो हेर्दाखेरि खासै गर्नुपर्ने काम नै छैन । तर, ती हिजोको गाउँपालिका क्षेत्रहरूमा जहाँ हेरे पनि काम गर्न थुप्रै बाँकी छ । 

तसर्थ यो कुरालाई मध्यनजर गरेर हामीले हिजो नीति बनाएका छौं । त्यो नीति हिजोको गाउँपालिका वा चक्रपथ बाहिरको वडाहरूमा छिटोभन्दा छिटो विकास गर्नको निमित्त हामीले हिजोको उपमहानगरपालिकाको वडाहरूलाई कम बजेट विनियोजन गरेका छौं । उदाहरणको निमित्त यहाँको वडाहरूलाई जनही २ करोड ७४ लाख बजेट दिएका छौं भने त्यहाँको वडाहरूलाई ४–४ करोड दिएका छौं । 

अर्को संघीय सरकारबाट आउने, प्रदेश सरकारबाट आउने योजनाहरू पनि बढीभन्दा बढी ती वडाहरूमा दिने गरेका छौं । तेस्रो कुरा, अन्तर्राष्ट्रिय दातृ निकायसँग पनि राम्रो सम्बन्ध छ । ती निकायहरूबाट प्राप्त योजना पनि सकेसम्म त्यतै दिने गरेका छौं । यसले गर्दा एकै चोटि गाउँपालिकाबाट महानगरपालिका प्रवेश गर्दा त्यसलाई महानगरपालिकाको क्यारेक्टरिस्टिक्ससँग मिल्ने गरी त्यसलाई अघि बढाउँछौँ । 

ललितपुर महानगरको सरसफाइबारे धेरै चर्चा सुनिन्छ, सुविधा सम्पन्न दमकलदेखि वाटर स्प्रिंकल, टिपरबाट हुने फोहोर सफा गर्न प्रविधि जडानबारे यहाँको अनुभव पनि सेयर गरिदिनुहुन्छ कि ? 

हामीसँग तीन ओटा ब्रुमरहरू छन् । ती ब्रुमरहरूको उच्चतम सदुपयोग गर्दै आइरहेका छौं । तसर्थ यहाँको सडक चिल्लो र सफा छ । त्यति मात्रै होइन, यहाँ एउटा टिपरको समस्या छ । हुन त यो काठमाडौँ भ्यालीभित्र सबै ठाउँमा समस्या छ । तर, ललितपुर महानगरपालिकाले दक्षिण भेगमा टिपरले सामान ढुवानी गर्दाखेरि नख्खु खोलाको कोरिडोरबाट एकै चोटि मुख्य सडकका आउँदा त्यहाँ निकै फोहोर गर्ने रहेछ । तसर्थ हामीले यो आर्थिक वर्षमा यही बजेटमा एउटा व्यवस्थापन गरेका छौं । ती टिपरहरू सडकमा प्रवेश गर्नुअगाडि टिपरहरूका पाङ्ग्रा धोइपखाली गरेर अथवा त्यसमा गन लगाएर मात्रै मुख्य सडकमा छिर्न पाउने व्यवस्थापन गर्न गइरहेका छौं । हुन त यो आजभन्दा ५ वर्षअगाडि नै गरिसकेको थिएँ । मेरो पहिलो कार्यकालमा त्यो बेला मलाई उच्चस्तरीय बागमती प्रोजेक्टले यो हाम्रो कार्यक्षेत्रमा पर्छ, हामीले ९४ करोडको प्रोजेक्ट पनि दिइसकेका छौं । तसर्थ तपाईँले गर्नुपर्दैन भनेपछि म ब्याक भएको थिएँ । तर, त्यति बेला ब्याक नहुनुपर्ने रहेछ । पछि उहाँहरूको प्रोजेक्ट के–कति कारणले हो, चलेन । अहिले हामीले उहाँहरूको भर नपरी यो व्यवस्थापन गर्न गइरहेका छौं । 

अर्कोचाहिँ वाटर क्यानन स्प्रिंकलको कुरा छ, हामीले अहिले दुई ओटा स्प्रिंकल किन्नका लागि सबै काम गरिसकेका छौं । त्यो स्प्रिंकल आइसकेपछि ललितपुर महानगर क्षेत्रभित्रको सडकहरू पानीले पखाल्छौँ । त्यसको सिस्टममा के छ त भन्दाखेरि एक त उसले पानी छर्किन्छ । त्यसपछि सफा पनि गर्छ । र, त्यो सुकाउनको निमित्त ड्रायर पनि त्यसैमा छ । तसर्थ यो मल्टी फंसनल इक्यिुपमेन्ट भएको कारणले ललितपुर महानगरको सडकलाई धेरै राम्रो हुन्छ । र, विपद्को सन्दर्भमा हामीले उच्चस्तरको राम्रो दुई ओटा दमकल खरिद गर्दैछौं । र, अबको ७०–७५ दिनमा त्यो डेलिभरी हुँदैछ । 

महानगरले सार्वजनिक जग्गा संरक्षणमा पनि अभियान नै चलाएको छ, ती स्थानहरूमा पार्क निर्माण गरेर सौन्दर्यीकरण सँगसँगै संरक्षण पनि गर्न खोजेको छ । सञ्चालन र दिगोपनाका लागि महानगरले के कस्तो योजना बनाइरहेको छ ? 

हामीले अहिले ललितपुर महानगर क्षेत्रभित्रको सरकारी जग्गा, ऐलानी जग्गा र प्रति जग्गामा कुनै पनि कन्स्ट्रक्सनको काम हुन नदिने नीति लिएका छौं । त्यसमा कुनै किसिमको कन्स्ट्रक्सनको काम गर्ने बाध्यता भएको अवस्थामा पालिकाको बैठकबाट निर्णय गराएर मात्रै दिने नीति बनाएका छौं । सोही नीतिअन्तर्गत अहिलेसम्ममा स्थानीय खुला जग्गा, प्रति जग्गा र अ‍ैलानी जग्गामा त्यस्तो किसिमको कन्स्ट्रक्सन बनाउन दिएका छैनौँ । 

पर्ती जग्गामा धेरैजसो मान्छेको आँखा लाग्दो रहेछ । त्यसलाई रोक्नको निमित्त त्यहाँ व्यापक रूपमा पार्कहरू बनाएका छौं । अहिलेसम्म २५÷२६ ओटा पार्क बनाइसकेका छौं । ठूलो साइजको जग्गा छ भने ठुलै पार्क बनाएका छौं । सानो साइजको जग्गा छ भने पकेट साइजको पार्क बनाएका छौं । ती पार्क बनाइसकेपछि हामीले यथोचित तवरले सस्टेनेबल गराउनको निमित्त व्यवस्थापन गर्दै आइरहेका छौं । यसको ज्वलन्त उदाहरण यहाँहरूले ललितपुर महानगर क्षेत्रमा यत्रतत्र देख्नुहुने नै छ । 

महानगरले आफ्नै पाठ्यक्रम लागू गरेको छ, पठनपाठनबारे के भइरहेको छ ? 

यसमा हाम्रो ध्यानाकृष्ट भएको छ । र, अहिले स्थानीय तहले स्थानीय तहको क्षेत्रगत प्रतिनिधित्व हुने गरी त्यहाँको रहनसहन, सम्पदा आदिको त्यसको प्रतिनिधित्व हुने गरी पाठ्यक्रम बनाउन पाउने भएकाले ललितपुर महानगरपालिकाले पनि हालसालै मात्रै इसिडी (अर्ली चाइल्ड डेभलपमेन्ट)देखि कक्षा ३ सम्ममा नेपाल भाषाको पाठ्यक्रमको व्यवस्थापन गरिसकेका छौं । र, यही आर्थिक वर्षदेखि त्यसको पठनपाठन पनि शुभारम्भ भइसकेको छ । त्यसको निमित्त चाहिने म्यानपावर अर्थात् शिक्षकको व्यवस्थापन पनि हामी गर्दैछौं । र, यसमा चाहिँ हामी राम्रो फड्को मारिरहेका छौं । अन्य कुराको सन्दर्भमा, जस्तै ः हामीले यहाँ ट्राफिक शिक्षा भने ललितपुर महानगरपालिकाले ट्राफिक ज्ञानसम्बन्धी एउटा पुस्तक प्रकाशन गरेका छौं । त्यो पुस्तक प्रत्येक स्कुलहरूमा वितरण गरेका छौं । र, सोबमोजिमको ट्राफिक ज्ञान हाम्रो स्कुलको बालबालिकाहरूले ग्रहण गरेको खण्डमा त्यसबाट ती बालबालिकाहरूले सिक्न त सिक्ने नै भयो । र, बाल्यकालमा सिकेको कुराले पछिसम्म दूरगामी प्रभाव पर्ने गरी सिक्ने भएको कारणले यो पनि हामीले हालसालै लागू गरिसकेका छौं ।

ललितपुर महानगर पर्यटकीय गन्तव्य पनि हो । यहाँका पुरातात्त्विक, धार्मिक र सांस्कृतिक सम्पदा विश्वविख्यात छन् । तर, अझै पनि व्यवस्थित रूपमा पर्यटन प्रवर्द्धनका कामहरू सोच्नुपर्ने देखिन्छ । यसका लागि महानगरले के–कसरी योजना बनाइरहेको छ ? 

महानगरले सबै कुरा राम्रै गरिरहेको परिप्रेक्ष्यमा कोभिड आएर अलि गन्जागोल भएकै हो । तर, कोभिडले गरेर अलि गन्जागोल भयो । अहिले फेरि पुनः उत्थान हुँदै आइरहेको छ । यो भन्दै गर्दा हामीले ललितपुर महानगर क्षेत्रभित्रको विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रलाई हेर्न लायक अथवा त्यहाँ कुनै पनि किसिमको डिस्टर्वेसन हुनुहुन्न भन्ने हिसाबले त्यो क्षेत्रमा हामीले निकट भविष्यमै हामीले दुई पाङ्ग्रे अथवा मोटरसाइकल पनि छिर्न नदिने भनेर अध्ययन गराइसकेका छौं । र, त्यो क्षेत्रलाई हामीले साइक्लिङ र पेरेसेलाइजेशनको क्षेत्र भनेर त्यसको चौहद्दी घोषणा गरेको छ । त्यो चौहद्दीभित्र यो व्यवस्थापन गर्ने तवरले लागिपरेका छौं । हुन त यो सजिलो काम त होइन, धेरै गाह्रो छ । तर, नगरीकन त सुखै छैन, गर्नैपर्छ । 

किनभने ललितपुर महानगरपालिकाले एक चोटि सिटीमेडको बैठक आयोजना गर्दै गर्दा त्यसमा १४ जना मेयर सा’बको उपस्थिति थियो । उहाँहरूलाई पाटन दरबार घुमाउँदै गर्दाको अवस्थामा उहाँहरूले मलाई सुझाव दिनुभयो, ‘तपाईँहरूको यो सम्पदा एकदमै राम्रो छ । तर, मोटरसाइकलहरू दायाँबायाँबाट गइरहेको हुने, अगाडिबाट गइरहेकै हुन्छ । यसलाई व्यवस्थित गर्नुपर्छ ।’ तसर्थ सोही सुझावअन्तर्गत हामी यसलाई पनि व्यवस्थापन गर्नेतर्फ लाग्छौँ । 

अर्को कुरा, यो पाटन दरबार क्षेत्र र अन्य सम्पदा क्षेत्रलाई रात्रिकालीन अवस्थामा पनि हेर्नलायकको हुने गरीकन बत्तीको व्यवस्थापन गर्न गइरहेका छौं । 

तेस्रो कुरा, साउन्ड एण्ड लाइट कन्सेप्ट पनि हामीले ल्याएका छौं । हुन त नेपालमा अहिलेसम्म यो छैन । चौथो कुरा, वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीजीको परिकल्पना थियो कि पाटन दरवार स्क्वायरभित्र रहेको भण्डारखाल क्षेत्र छ, त्यहाँ आर्किलोजिकल गार्डेन बनाउनुपर्छ । यस विषयमा उहाँले मलाई सुझाव पनि दिनुभएको थियो । हुन त उहाँको सुझाव मैले प्राप्त गर्नासाथै त्यसलाई कार्यान्वयन गर्नको निमित्त नेपाल सरकारसँग अनुमति मागेको थिए । पछि सरकारले अनुमति पनि दियो । तसर्थ अब हामी त्यसलाई कार्यान्वयन गर्न गइरहेका छौं । अर्को कुरा, पाटन मात्रै होइन, बुङमति, खोकना, हरिसिद्धी, धापाखेललगायत क्षेत्रलाई सम्पदा बस्तीमा परिणत गर्नको निमित्त हाम्रो होमवर्क भइरहेको छ । 

हालैको नगर सभाको नीतिमा पनि हामीले बुङमति, खोकना र हरिसिद्धिलाई सांस्कृतिक नगरी घोषणा गर्ने नीति पास गरिसकेका छौं । अनि यो क्षेत्रहरूमा हामीले इभी (इलेक्ट्रिक बस) चलाउनको निमित्त साझासँग सहकार्य गरिसकेका छौं । र, साझाले बढीमा १८ सिटसम्मको सटल बसको व्यवस्थापन गर्न गइरहेका छौं । ताकि त्यो सटल बसमा पुल्चोक, पाटनढोका अथवा जाउला खेलबाट टुरिष्टहरू त्यो सटल बसमा चढेर भित्री सहरहरूको दृश्यावलोकन गर्न सक्नुहुनेछ । त्योचाहिँ हामी फ्रीमा दिँदैछौं । र, हाम्रो प्लानचाहिँ त्यही सटल बसलाई बुङमति, खोकना, हरिसिद्धी र धापाखेलसम्म पनि लैजाने योजना छ । अब यसको निमित्त साझासँग हाम्रो सहकार्य भइरहेको छ । अलिकति समय लाग्छ । तर, यो हामी गर्छौँ । अनि यसमा अर्को एउटा कुरा पनि छ । हामीले यो पर्यटन हेरिटेज वाक भनेर चार ओटा ठाउँलाई हामीले व्यवस्थापन गरेका छौं । त्यसलाई अहिले हामीले त्यो हेरिटेड वाक अन्तर्गत पर्यटकहरूलाई पाटन ढोकामा जम्मा गर्छौँ । त्यहाँबाट घुमाएर ल्याएर पाटन ढोकामै छोडिदिन्छौ । र, पाटन ढोकामा त्यसपछि यलः कोसेली घर नामक गिफ्ट हाउस पनि खोलिसकेका छौं । ताकि उहाँहरू निस्कँदाखेरि गिफ्ट पनि किनेर लैजान सजिलो होस् । यस्ता काम प्रचुर मात्रामा भइरहेका छन् । 

हुन त ललितपुर महानगरपालिका सहरी क्षेत्र हो । यसरी हेर्दा यहाँ कृषि उत्पादन एवं पशुपालन कम छ भन्ने अनुमान गर्न सकिन्छ । तर, महानगरपालिकाको भेट एम्बुलेन्स सर्भिस कार्यक्रम कार्यान्वयनमा आएको छ । यो भनेको के हो, किन आवश्यक पर्याे, यसले पशुपालन व्यवसायलाई कतिको सहयोग पुर्‍याउँछ ? 

तपाईँले ठिकै भन्नुभयो । महानगर क्षेत्रभित्रमा पशुपालन गर्ने पेशा एकदमै न्यून छ । अघि मैले भनेअनुसार खोकना, हरिसिद्धी, बुङमति यी हिजोका गाउँपालिकाहरू यसमा समाहित हुन आइसकेपछि अहिले पनि त्यहाँ केही हदसम्म पशुपालनको काम भइरहेको छ । त्यसकारण पशुपालनका समस्या भेट एम्बुलेन्समार्फत सम्बोधन गर्न खोजेका छौं । 

अर्को कुरा, सहरी क्षेत्रभित्रमा सामुदायिक कुकुरको संख्या अधिक छ । सामुदायिक कुकुरलाई व्यवस्थापन गर्नुपर्छ । उदाहरणको लागि कोभिडको समयमा सामुदायिक कुकुरहरूलाई खाना खुवाउने कोही पनि थिएन । तसर्थ महानगरपालिकाले स्पोन्सर गरेर एउटा संस्थासँग सहयोग लिएर सामुदायिक कुकुरहरूलाई भात खुवाउने काम गर्याैं । अब यहाँ रहेका सामुदायिक कुकुरदेखि लिएर गाईबस्तुहरू यत्रतत्र देखिन्छ । त्यसलाई कन्ट्रोल गर्नको निमित्त कन्ट्रोलिल मेकानिज्मको रूपमा भेट एम्बुलेन्सको व्यवस्थापन गरेका छौं । यसका लागि हामीले स्नेहा केयर सेन्टरसँग हामीले एमओयू गर्याैं । उहाँहरूको एकदमै राम्रो व्यवस्थापन छ । हामी कुनै पानी ठाउँमा सामुदायिक कुकुरले टोक्यो भने हामी त्यसलाई टिपेर उहाँहरूको क्याम्पमा राख्छौँ । कुनै पनि सामुदायिक कुकुर अथवा गाईबस्तुलाई गाडीले हिर्काएर घाइते भएर सडकमा देखिए त्यसलाई उठाएर उहाँहरूको क्याम्पमा लगेर औषधि उपचार गराउँछौँ । उदाहरणको लागि ः चक्रपथको पाटनको ७.९ किलोमिटर सेक्सन त्यसको पिच रोड बनाउँदै गर्दा एक चोटि कन्ट्रयाक्टरको क्याम्पमा ६ ओटा बाच्छाबाच्छीहरू तातो अलक्रत्रामा खस्यो । त्यसपछि त्यसलाई निकालेर ल्याएर औषधी उपचार गर्नको निमित्त पनि भेट एम्बुलेन्सले सहयोग गरेको थियो । 

महानगरले केही गौरवका आयोजना अघि सारेको छ, तिनको पहिचान र छनोट कसरी गर्दै आएको छ । र, यी आयोजनाको कार्यान्वयनको अवस्था कस्तो छ ? 

महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई गौरवको आयोजनाको रूपमा राखेको छ । त्यस्तै, सिसिटिभीलाई पनि हामीले गौरवको आयोजनाको रूपमा राखेका छौं । र, मठमन्दिर बनाउने, जस्तै ः बालकुमारी मन्दिर बनायौँ । खोकनाको रुद्रायनी मन्दिर बनायौँ । यिनीहरूलाई पनि हामीले गौरवको आयोजनाको रूपमा राखेका छौं । यसैगरी हामीले कोभिडको महामारीको बेला गरेको कामलाई पनि गौरवको आयोजनाको रूपमा राखेका छौं । तसर्थ हामीले कोभिडको समयमा देशभरको ७५३ स्थानीय तहमध्ये सबैभन्दा राम्रो काम गर्ने ललितपुर महानगरपालिका हो भन्ने नेपाल सरकारको ठहर रह्यो । त्यो पार्नको निमित्त पनि हामीले यसलाई गौरवको आयोजनामा पारेर काम गरेका थियौँ । 

यसको सेलेक्सनको प्रक्रिया भने नगर सभाबाट अनुमोदन गरेको हुन्छ । त्यसलाई हामीले पछि नगर सभाबाट अनुमोदन हुने गरी काम गरेका थियौँ । हुन त यहाँ एक किसिमको कुनै पनि ठूलो किसिमको विपद् आई पर्दाखेरि नेपाल सरकारले विपद् भनेर घोषणा गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्न सक्छौँ । त्यही आधारमा हामीले कार्यान्वयन गर्दै अगाडि बढ्दै गइरहेका छौं । यसले गर्दाखेरि ललितपुर महानगरपालिकामा विपद्सम्बन्धी अथवा यो गौरवको आयोजना एकदमै राम्रोसँग चुस्त र दुरुस्त किसिमले अगाडि बढिरहेको छ । 

पछिल्लो समय स्थानीय तहहरूले विदेशी नगरहरूसँग भगिनी सम्बन्ध कायम गर्ने लहर चलेको छ । ललितपुर महानगरले रसियाको उलानउदय र अमेरिकाको ब्रोनफिलसँग भगिनी सम्बन्ध कायम गर्ने सैद्धान्तिक सहमति गरेको रहेछ, विदेशका सहरहरूसँग भगिनी सम्बन्ध कायम गर्दा महानगरलाई हुने फाइदा के–के हुन् ? 

तपाईँले ठिकै भन्नुभयो । हाम्रो भगिनी सम्बन्ध रहेका सहरहरू दुई ओटाबाहेक अन्य पनि छन् । यति मात्र पनि होइन, यो अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध एउटा भयो । अनि अर्को राष्ट्रिय भगिनी सम्बन्ध । अब अन्तर्राष्ट्रिय सम्बन्ध हुँदै गर्दा उहाँहरूको असल अभ्यास हामी सिक्छौँ । हाम्रो असल अभ्यास पनि उहाँहरू सिक्नुहुन्छ । जस्तै ः उदाहरणको लागि कोभिडको समयमा हामीले चित्त बुझ्ने गरी काम गर्याैं । तर, डेंगुको समयमा जतिसुकै काम गर्दा पनि सफलता हासिल गर्न सकेनौँ । तसर्थ यो विषयमा श्रीलङ्काको कोलम्बो सहरसँग सहकार्य गर्याैं । उहाँहरूकहाँ पनि डेंगु आएको रहेछ । र, उहाँले राम्रोसँग कन्ट्रोल गर्न सक्नुभएको रहेछ । तर, हामीले गर्न सकेका थिएनौँ । तसर्थ हामीले उहाँहरूको असल अभ्यास हामीले पनि सिक्यौँ । 

यस्तै, किसिमको असल अभ्यास सिक्ने, सिकाउने कामको निमित्त अन्तर्राष्ट्रिय भगिनी सम्बन्धको आवश्यकता पर्छ । र, यही सन्दर्भमा हाम्रो पछिल्लो कालखण्डमा रसियाको उलानउदय र अमेरिकाको ब्रोनफिलसँग भगिनी सम्बन्ध कायम गर्नको निमित्त हाम्रो पेपर वर्क द्रूत गतिले अगाडि बढिरहेको छ । र, यही सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा एक सहर नेपालकै एक सहरबाट अर्को सहर र एक गाउँबाट अर्को गाउँसँग पनि भगिनी सम्बन्ध कायम गर्न सकिनेछ भन्ने व्यवस्था गरेको छ । सोहीबमोजिम हामीले दोलखा नगरपालिका, चन्दनपुर नगरपालिका र अहिले पछिल्लो कालखण्डमा आएर गुल्मीको एउटा गाउँपालिकासँग पनि भगिनी सम्बन्ध कायम गरिसकेका छौं । 

र, उहाँहरूलाई केही हदसम्म आर्थिक सहायता पनि गर्छौँ र यहाँको असल अभ्यासहरू, उहाँहरूले प्रायः जसो ललितपुर एउटा सम्पदाको सहर हो, हामीकहाँ तपाईँहरूजस्तो सम्पदा प्रतिकात्मक रूपमा बनाउन पाए राम्रो हुन्छ भन्ने किसिमको कुरा उहाँहरूले ल्याउनुहुन्छ । त्यसलाई कार्यान्वयन गर्नको निमित्त हामीसँग भएको अभ्यास प्लस अलिकति आर्थिक रूपमा सहयोग गरेर त्यसलाई मूर्तरूप दिन खोजिरहेका छौं । 

संघीय राजधानीसँगको यो नगरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन महानगरसँग के कस्ता दीर्घकालीन योजनाहरू छन् ? 

यसलाई अन्तराष्ट्रिय स्तरको बनाउनको निमित्त मुख्यतया सफाइलाई ध्यान दिनुपर्छ । कोही पनि विदेशी पर्यटकहरू यहाँ आएर फोहोरमा खेल्न रुचाउँदैन । तसर्थ यहाँको सफाइ हुनुपर्छ । अनि ललितपुर महानगर सांस्कृतिक सहर हो । ललितपुर महानगरपालिका विश्व सम्पदा सूचीमा सूचीकृत भएको सहर । अनि हामीचाहिँ विश्व हस्तकला नगरी पनि हौँ । 

विश्व हस्तकला सङ्घले हामीले विश्वको ३५ औँ हस्तकला नगरी भनेर घोषणा गरेको छ । र, पहिला हामी सानो छँदा खेरि यहाँ घरभन्दा मन्दिर बढी, मान्छेभन्दा मूर्ति बढी भन्ने कथन थियो । तर, अहिले त्यो लागू भएको छैन । तर, यो पनि हाम्रो ठाउँलाई अन्तराष्ट्रिय जगतमा पर्यटकीय दृष्टिकोणले हेर्नुपर्ने ठाउँ हो भन्ने तथ्यलाई मध्यनजर राखेर यहाँको सम्पदालाई पनि हामीले एकदमै उच्चस्तरको व्यवस्थापन गर्नुपर्छ । यति कुरा गर्दै गर्दा एउटा ग्रिनरी (हरियाली) अभिवृद्धि गर्नुपर्ने जुन भावना छ, त्यसलाई आत्मसात् गर्दै आइरहेका छौं । र, अहिले आएर विश्वको तापक्रम बढ्दै गइरहेको छ । हुन त यसको निमित्त ललितपुर महानगरले मात्रै गरेर त सम्भव छैन । तर, घटीमा पनि काठमाडौं उपत्यकाको पालिकाले तापक्रम अभिवृद्धिलाई कन्ट्रोल गर्नको निमित्त पेट्रोल र डिजेलले चल्ने गाडीको संख्या कम गर्दै जाने र एसडीजी गोल छ, त्यो गोलमा पनि इ–भेहिकल्स चलाउने टार्गेट राखेको छ, त्यसलाई पनि हामीले आत्मसात् गर्नको निमित्त हामी लागिरहनुपर्छ । यसको सुरुआत हामीले गरिसकेका छौं । 

उदाहरणको रूपमा ः ललितपुर महानगरपालिकाले पेट्रोल, डिजेलले चल्ने गाडी किन्दैनौँ भनेका छौं । तर, फोरको सन्दर्भमा भनाइ र गराइ अलिकति गाह्रो पर्दाै रहेछ । इभीहरू फोरको सन्दर्भमा त्यति देखिएको छैन । माग भइदिएको भए राम्रो, हामी त्यतैतिर जान्छौँ । अहिलेसम्म भएको छैन । हामीले हुने हदसम्ममा कार्यान्वयन गरेका छौं । उदाहरणको लागि मेरै गाडी इलेक्ट्रिक भेहिकल छ । हाम्रो नगर प्रहरी चुस्त र दुरुस्त छन् । उहाँहरूलाई पनि हामीले इलेक्ट्रिक बाइक र इलेक्ट्रिक भेहिकलहरू किनेर दिएका छौं । यसलाई क्रमशः विस्तार गर्दै जाने हाम्रो नीति छ । 

जाँदाजाँदै मेयर सा’बलाई भन्न मन लागेका कुरा केही छन् कि ?

अब यसमा भन्ने कुरा त धेरै बाँकी छ । मेरो यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा भए गरेका कामको नगरवासीले राम्रो ठानेर पुनः धेरै भोट दिएर जिताउनुभयो । तसर्थ उहाँहरूलाई सदा सर्वदा म खुसी नै पार्छु । मैले उहाँहरूलाई विश्वास नै दिलाउनुपर्छ कि यो चिरिबाबुले कुनै किसिमको गल्ती गर्दैन । तपाईँहरूको शिर ठाडो पार्नको निमित्त सदा सर्वदा तयार भएर बसेको हुन्छ । र, काम गरेर डेलिभरी पनि दिँदै जानेछ भन्ने कुराको प्रत्याभूति म तपाईँहरूको यो प्रशासन डट कममार्फत पनि भन्न चाहेँ । यति मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद । 

र, यो पनि

वातावरणीय दृष्टिकोणले संसारकै उत्कृष्ट र नमुनायोग्य महानगर बनाउने अभियानमा छौँ : प्रमुख प्रशासकीय अधिकृत अर्याल

Tags :
प्रतिक्रिया दिनुहोस