वातावरणीय दृष्टिकोणले संसारकै उत्कृष्ट र नमुनायोग्य महानगर बनाउने अभियानमा छौँ : प्रमुख प्रशासकीय अधिकृत अर्याल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वातावरणीय दृष्टिकोणले संसारकै उत्कृष्ट र नमुनायोग्य महानगर बनाउने अभियानमा छौँ : प्रमुख प्रशासकीय अधिकृत अर्याल


७ श्रावण २०८०, आइतबार


प्रभावकारी काम गराइका हिसाबले मुलुककै अग्रणी स्थानीय तहमा पर्छ, ललितपुर महानगरपालिका । देशभरका नगरमा उत्कृष्टको उपाधि पाउनु यसकै उदाहरण हो । संघीय राजधानीसँग जोडिएको यो महानगरमा जति अवसर छन्, त्यति नै विभिन्न चुनौती पनि छन् । ती चुनौतीबीच महानगरले कसरी काम अगाडि बढाइरहेको छ ? विकास निर्माणदेखि सेवा प्रवाहसम्मै के कसरी अघि बढी रहेको छ ? सेवाग्राहीलाई कसरी छिटो छरितो सेवा दिइरहेको छ ? यिनै विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालसँग प्रशासन विशेष ब्युरोले गरेको कुराकानी । 

सेवा प्रवाहमा नयाँपन दिन महानगरपालिकाले के–के गरिरहेको छ ? 

सेवा प्रवाहको कुन विन्दुबाट सुरु गर्ने भन्ने प्रश्न छ । सेवा प्रवाहको ओभरअल सिस्टमलाई ट्रान्सफर गर्ने हिसाबले हिजो हामीले जे–जे कामहरू गरिरहेका थियौँ । ती कुराहरूमा नयाँपन ल्याउनलाई केही नयाँ आयामहरू सुरुआत गरेका छौँ, जस्तो ः ललितपुर महानगरपालिकामा हिजोको दिनसम्म वडा स्तरीय योजनाको स्वीकृति, लागत अनुमान तयारी, कार्यक्रम सञ्चालन, सम्झौता, अनुगमनजस्ता कुराहरू महानगरपालिकाबाटै हुन्थ्यो । यो वर्षदेखि हामीले ती सबै अधिकार विकेन्द्रीकरणको मूल मर्मलाई आत्मसात् गरेर वडा तहसम्मै विस्तार गरेका छौँ । अब अहिले वडा स्तरीय योजनासँग सम्बन्धित कुनै पनि कामको लागि चाहे वडाका कर्मचारी भनौँ अथवा कुनै पनि सेवाग्राही ललितपुर महानगरपालिकाको कार्यालयसम्म आइपर्ने अवस्थाको अन्त्य गरेका छौँ । 

दोस्रो, हामीकहाँ राजस्व र नक्सासँग सम्बन्धित सेवाग्राही सबैभन्दा बढी हुन्छन् । हामीकहाँ मात्रै होइन, आम रूपमा स्थानीय तहको यो स्वभाविक गति हो । स्थानीय तहमा सबैभन्दा बढी नक्सा, राजस्व र सिफारिस तीन ओटा पक्षमा अलि बढी सेवाग्राहीको भिडभाड लाग्ने गर्छ । त्यो कुरालाई मध्यनजर गरेर हामीले नक्सा पास प्रक्रियालाई इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस प्रणाली)मा लिएर गएका छौँ । त्यसैसँग सम्बन्धित विषयको डिजिटल सिग्नेचर प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउँदाबढाउँदै । अर्को कुरा, अब महानगरपालिकाको सेवाग्राही राजस्व तिर्नलाई झन्झट भोग्नुपर्दैन । पहिले सेवाग्राहीले लामो लाइन लागेर राजस्वको मूल्याङ्कन गराउनुपर्ने अवस्था थियो । बैंकमा जानुपर्ने, भौचर भर्नुपर्ने, पैसा बुझाउनुपर्ने र फेरि रसिद लिएर आएर छाप लगाउनुपर्ने बाध्यता थियो । सेवाग्राहीले भोग्दै आएका ती झन्झटहरू यो वर्षदेखि अन्त्य गरेका छौँ । अहिले कुनै पनि सेवाग्राही ललितपुर महानगरपालिकाको प्राङ्गणमा राजस्व तिर्नका लागि आउँदा आफ्नो मोबाइल नम्बर अथवा करदाता संकेत नम्बर मात्रै भनिदिए पुग्छ । अहिले भौचर भर्नेलगायतका कुनै पनि झन्झट भोग्नुपर्दैन । हामीले सिस्टमलाई त्यसरी ट्रान्सफर्म गरेका छौँ ।

यसैगरी कर तिर्ने सेवाग्राहीले कार्यालयमा आएर आफ्नो करदाता सेवा नम्बर भने सिस्टमले दुई ओटा भौचर जेनेरेट गर्छ । त्यो भौचर लिएर बैंकमा राजस्व दाखिला गरे काम सकिन्छ । 

सँगसँगै हामीले घरबाटै इ–पेमेन्टको सिस्टमलाई लागू गरेका छौँ । अब सेवाग्राहीले घरमै बसेर आफ्नो डिभाइसमार्फत राजस्व भुक्तानी गर्न सक्नुहुनेछ । 

तेस्रो कुरा, फोन पेमार्फत कर भुक्तानी गर्न आउने सेवाग्राहीलाई हामीले क्युआर सिस्टम पनि सुरु गरेका छौँ । कर्मचारीले पनि कर भुक्तानी गर्न आउनुभएका सेवाग्राहीलाई नगदमा गर्ने कि फोन पेमार्फत गर्ने भनेर सोध्नुहुन्छ । 

अनि नक्सा पास प्रक्रियालाई विद्युतीय प्रणालीसँग आबद्ध गरेका छौँ । राजस्व बुझाउन आउन कुनै पनि सेवाग्राहीलाई झण्झटमुक्त र शीघ्र र सहज तरिकाको राजस्व भुक्तानी प्रणालीको व्यवस्थापन गरेका छौँ । अघिल्लो वर्षदेखि बैंक पनि हाम्रै प्राङ्गणभित्रै राखेका छौँ । त्यसले गर्दाखेरि सेवाग्राहीलाई सबै ठाउँमा दौडनुपर्ने स्थिति रहँदैन । 

सेवा प्रवाहमा ल्याएको नयाँपन त छँदै छ, यी सबै पक्षहरूले सुशासनमा के कतिको सपोर्ट भएको अनुभूत गर्न सकिन्छ ? 

अब सुशासनलाई प्रक्रिया र नतिजा गरी दुई किसिमले हेर्नुपर्ने हुन्छ । प्रक्रियाको कुरा मैले भनिसके, सेवाग्राहीलाई शीघ्र सेवा दिने कुरा । अनि यो वर्षदेखि ‘जनताको कर जनतालाई खबर’ भन्ने कार्यक्रम सुरुआत गर्दैछौं । अब नागरिकले घरमै बसेर आफूले कर तिरेको संस्था कता जाँदै छ, उसले के गरिरहेको छ, के–के कार्यक्रम सुरुआत भयो, आफ्नो टोलमा के कार्यक्रम आउँदैछलगायत विषयको जानकारी पाउने प्रणाली विकास गर्दैछौं । अनि अर्को कुरा, ललितपुर महानगरपालिकामा काम गर्ने कर्मचारीहरूलाई कार्यसम्पादन सम्झौताका माध्यमबाट जिम्मेवार बनाउने प्रयत्न गरेका छौँ । ललितपुर महानगरपालिकाले वडा तहमा विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण लगायतलाई हामीले अभियानको रूपमा सुरुआत गरेका छौँ वडा तहबाट र महानगरपालिकाबाट । 

हामीले विभिन्न समयमा रिङ रोडभित्रका वडाहरूलाई लक्षित गरेर एक पटक र रिङरोड बाहिरका वडाहरूलाई लक्षित गरेर एक पटक गरेर वर्षको दुई पटक न्यूनतम हिसाबमा पनि सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने गरेका छौँ । त्यो कार्यक्रममा जनताको उपस्थिति, जनताको जागरूकतालाई हेर्याैं भने सायदै नेपालका स्थानीय तहले त्यो लेबलको कार्यक्रम गरेका छन् । यस्तो लाग्छ– नेपालको कुनै एउटा ठूलो राजनीतिक दलले गरेको आमसभाजस्तो । जनताको उपस्थिति र जनताको अभिमत लिएर हामीले त्यसरी कार्यक्रम गर्ने गरेका छौंं । कुनै पनि निर्णय गर्दा हामी सार्वजनिक सुनुवाइमार्फत जनताको अभिमत लिन्छौँ । 

ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दल आबद्ध प्रदेश र सङ्घको माननीयज्यूको अभिमत लिएर हामीले नीति र निर्णयलाई अगाडि बढाउने गरेका छौँ । सबै सरोकारवालाहरूसँग बजेट र कार्यक्रमको सन्दर्भमा अब कसरी जाने भन्ने विषयमा उहाँहरूको अभिमत लिने गरेका छौँ । त्यसैगरी अन्य जातीय सङ्घ, संस्था सङ्गठनहरूका पदाधिकारी, सरोकारवालाहरूलाई पनि हामीले उत्तिकै महत्त्व दिएर उहाँहरूको अभिमत लिएर जाने गरेका छौँ । यो प्रक्रियाको कुरा रह्यो । 

अब नतिजाको कुरा गरौँ । भ्रष्टाचारलाई शून्यमा झार्न संसारभरको प्रयत्न छ । हामी भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर कामहरू गरिरहेका छौँ । कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कुरा, सुशासन र भ्रष्टाचारसँग सम्बन्धित विषयमा महानगरपालिकाले लिएको नीति त्यो जनतामा लिएर जाने कुरा हो । 

हामीले टोलटोल तथा चोक चोकमा महानगरपालिकाका कर्मचारीले कसैसँग पैसा मागेको बदमासी वा अनियमितता गरे वडा कार्यालय वा महानगरपालिकामा सम्पर्क गर्न भनेका छौँ । त्यसपछि हामी तत्काल सम्बोधन गर्छौँ पनि भनेका छौँ । 

महानगरपालिकाले अघि सारेको प्रोजेक्ट बैङ्कबारे केही बताइदिनुस् न ?

महानगरपालिकाले यो वर्षदेखि प्रोजेक्ट बैंकमा मध्यकालीन खर्च संरचनाको प्रारूपलाई अघि लिएर जाने भनेर होमवर्क गरेको छ । त्यसको लागि नीति पनि पारित गरेका छौँ । र, बजेटमा पनि त्यो नीति लिएर अगाडि जाँदैछौं । अब हामीले क्षेत्रगत महानगरका परियोजनालाई नगरस्तरीय आयोजनाहरू, प्राथमिकताप्राप्त आयोजनाहरू, वडास्तरका आयोजनाहरू र गौरवका आयोजनाहरू गरी चार किसिमका आयोजनामा विभक्त गरेर तदनुरूप परियोजना बैंक तयार गरेर लिएर जानलाई गृहकार्य अगाडि बढाइसकेको अवस्था छ ।  

वातावरणसम्बन्धी पनि महानगरले अन्तर्राष्ट्रियस्तरकै नयाँ अवधारणामा अघि सारेको रहेछ, यसबारे पनि थोरै बताइदिनुस् न ?

वातावरणसँग सम्बन्धित विषयमा त हामी गर्व गर्छौँ– हामी अगाडि छौँ । एउटा स्थानीय तहको जिम्मेवार पदाधिकारीको हिसाबले म यो दावा गर्छु । 

समस्या त छन् । समस्यारहित छौँ त भन्दैनौँ । तर, तुलनात्मक रूपमा हेर्दा तपाईँले ललितपुर महानगरको अवलोकन गरिसकेपछि छुट्टै अनुभूति गर्नुहुन्छ । सरसफाइलाई हामीले महत्त्व दिएका छौँ । हरियाली प्रवर्द्धनमा हामीले उत्तिकै अभियानका रूपमा अगाडि बढाएका छौँ । जनतालाई त्यसमा साथ र सहयोगका लागि सुसूचित गरेका छौँ । महानगरले नगरवासीको साथ र सहयोग उल्लेख्य रूपमा पाएको छ । त्यसैको कारण हामीले यो तहको सफलता पाउन सकेका हौँ । 

हिजोको दिनमा सिसडोलमा फोहोर नजाँदा, काठमाडौं आक्रान्त भयो । तर, म यो पदमा बसेर दावाका साथ भन्न सक्छु– हामी फोहोरका कारणले प्रताडित भएनौँ । त्यसमा हाम्रो रणनीति व्यक्त र अव्यक्त गरी दुई किसिमका थिए । ती रणनीतिका कारण हामीले सफलता पाएका हौँ । हिजो उपत्यकाका अन्य ठाउँ दुर्गन्धित हुँदा (म ठाउँ भन्दिनँ) ललितपुर महानगरपालिकामा फोहोर नदेखेर कतिपय आश्चर्यचकित भए । केही मिडियाले यो कसरी सम्भव भयो भनेर प्रश्न पनि गरे । नीति हामीले त्यसरी बनाएका छौँ । 

हामीले आफ्नो संयन्त्रलाई परिचालन गर्याैं । जनतालाई सुसूचित गर्याैं । सरोकारवालाहरूको सहयोग, साथ र समन्वयका लागि हामीले भरमग्दुर प्रयत्न गर्याैं । महानगरमा फोहोरको समस्या नदेखिनु त्यसकै कारण हो । यी काम अहिले पनि गरिरहेकै छौँ । 

वातावरण संरक्षणमा यो वर्षदेखि नयाँ अभ्यास सुरुआत गर्दैछौं । यो अरु स्थानीय तहहरूको लागि अनुकरणीय पनि हुन्छ होला, नयाँ पनि हुन सक्ला । हामीले यसका लागि एउटा पद्धतिको विकास गरेका छौँ । जस्तो ः ललितपुर महानगरपालिकाको साढे ३६ वर्ग किलोमिटरको दायराभित्र कुनै नागरिकले फोहोर वा असरल्ल निर्माण सामग्री वा मृत चौपाया वा अन्य कुनै समस्या देख्नुभयो भने उहाँले तत्काल फोटो खिच्नुहुन्छ । त्यो तस्बिरमा तत्काल केही गर्नुपर्ने समस्या देखिएको छ । जब उहाँ इन्टरनेटको एक्सेसमा पुग्नुहुन्छ, त्यसपछि त्यो तस्बिर वडा, नगर प्रहरी र महानगरपालिकामा पुग्ने पद्धति क्युआर कोड सिस्टमबाट विकास गरेका छौँ । त्यसपछि तस्बिर देखिन्छ । त्यसलाई सम्बोधन गर्नका लागि यो वर्षदेखि हामीले वातावरण प्रहरीको प्रारूप तयार गरेका छौँ । 

फोहोर देखियो, पब्लिकले फोटो खिच्नुहुन्छ । त्यसको अटोमेटिक हिसाबले हामीकहाँ डिस्प्ले हुन्छ । त्यो फोहोरलाई हटाउन वातावरण प्रहरी परिचालन गर्छौँ । र, वातावरण प्रहरी सफाइ एम्बुलेन्स लिएर सम्बन्धित ठाउँमा पुग्नुहुन्छ । यो तीन ओटा अवधारणा लिएर आएका छौँ । हाम्रो गृहकार्य त्यतातर्फ धेरै अघि बढिसकेको छ । हामी छिट्टै यसको नतिजा बाहिर ल्याउँछौँ । 

यसको दिगोपनाका लागि पनि केही योजना अगाडि बढाउनुभएको होला ? योजनाको सुरुआत गरिसकेपछि त्यसको निरन्तरता सम्बन्धमा के कसरी सोच्नु भएको छ, त्यसबारे पनि थोरै उल्लेख गरिदिनुस् न । 

यो नयाँ अवधारणा हो । नेपालभित्र यो अवधारणा छँदा पनि छैन । विदेशतिर विकसित मुलुकहरूले यो पद्धतिलाई आंशिक रूपले अवलम्बन गरेका छन् । हामीले यो प्रारूप तयार गरेर अब फिल्डमा जाँदैछौं । काम गर्दै जाँदा केही सिकाइ होला । 

महानगरपालिकामा मात्रै होइन, यो प्रणालीलाई हामीले वडा तहमै लिएर जाने हो कि त ! वडा तहमै यो प्रारूप बनाइयो भने त झन् दिगो भयो नि त । झन् तत्काल सम्बोधन गर्न सकिने भयो नि त । त्यो किसिमले जान सकिएला कि भन्ने छ । तर, अहिलेलाई यो अवधारणामा वातावरण प्रहरी, सफाइ एम्बुलेन्स, क्युआर सिस्टमबाट नागरिकलाई परिचालन गरेर समस्या लिने र तत्काल सम्बोधन गर्ने हिसाबले काम गरिरहेका छौँ । कमसेकम हामीकहाँ समस्या आएको १० मिनेटभित्र समाधान गर्ने गरी त्यो किसिमको प्रारूप तयार गरेका छौँ । यसका लागि जनशक्ति व्यवस्थापन, उनीहरूको क्षमता अभिवृद्धि गर्न, आवश्यक उपकरणको व्यवस्थापन, लिगल फ्रेम वर्क र नागरिक सचेतनालाई अभियानको रूपमा लिएर जाँदैछौं ।

महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच कस्तो सम्बन्ध छ ?

संसारभरि जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ भन्ने अन्तरसम्बन्धको कडी र कसीको बारेमा बहस छ । सायद यो निरपेक्ष हिसाबले यो सम्बोधन पनि हुन नसक्ला । तथापि ललितपुर महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको कुरा गर्दाखेरि अब मैले भन्नुपर्ने हुन्छ, दुवैतर्फबाट व्यवसायीकता निर्वाह गर्न सकेकै कारण विकासले गति लिएको हो । हिजो के थियो भन्नेमा नगएर अहिलेको बारेमा कुरा गरौँ । अहिले हामी योजना तथा नीति बनाउँदा, निर्णय, कार्यक्रम सञ्चालन र अनुगमन गर्दा, अन्य क्रियाकलापहरू अगाडि बढाउँदा छलफल, समन्वय र सहकार्य गरेका छौँ । मलाई लाग्छ, ललितपुर महानगरको सन्दर्भमा जनप्रतिनिधि र कर्मचारीको बीचको सम्बन्धको दायरा अथवा आयाम के हो भनेर प्रश्न नगर्दा नै उपयुक्त हुन्छ, किनभने हामी त्यति पर्फेक्ट्ली काम गरिरहेका छौँ । सिमेन्टिङ टाइपको हाम्रो सम्बन्ध छ, त्यसमा कुनै समस्या छैन । 

समय र अवस्थाले व्यक्तिलाई सधैँ अपडेट गराउनुपर्ने बाध्यता सिर्जना गरेको छ, त्यसमाथि स्थानीय तहमा सेवा सञ्चालन गर्ने कर्मचारीको क्षमता अभिवृद्धि त अति आवश्यक छ नै, कर्मचारीको सीप, क्षमता विकासका लागि आवश्यक पर्ने तालिम, सिकाइलगायतका कार्यलाई महानगरले कतिको प्राथमिकतामा राखेको छ ? र, यो कति खड्किएको विषय हो ? 

स्थानीय तहमा एउटा समस्या के रहेछ भने नलेजलाई अपडेट गर्ने सन्दर्भमा योजना बनाएर जाने कुरा कम छ । हामीले यो वर्ष सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्याैं । ललितपुर महानगरपालिका पहिलो स्थानीय तह हो, जसले सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरेर त्यसको नतिजा प्राप्त गरेको छ । अब हामी छिट्टै सार्वजनिक गर्दैछौं । त्यो नतिजाले ललितपुर महानगरपालिकाको बासिन्दा भएकोमा गर्व गर्छौँ भन्ने ९० प्रतिशत देखिए । महानगरपालिकाले यहाँको लाइभ लिभिङ हुड परिवर्तन गर्नका लागि जे जे कुरा गरेको छ, त्यो कुरामा हामी पूर्ण सन्तुष्ट छौँ भन्नेको संख्या ८६ प्रतिशत देखियो । तथापि त्यो बीचमा केही कुराहरू आए । कर्मचारीसँग र जनप्रतिनिधिसँग सम्बन्धित केही विषय पनि आएका छन् । हामीले त्यसलाई महत्त्वपूर्ण सुझावको रूपमा लिएर अगाडि बढिरहेका छौँ । कर्मचारीलाई विभिन्न बिदाको, जस्तो : अप्रिसिएटिभ इन्क्वाएरी । बजेट पुस्तिकामै यो तहको कार्यक्रम राखेर जाने त अरु पालिका छन् कि छैनन् मलाई थाहा छैन । मैले स्थानीय तहमा धेरै ठाउँ हेर्न पाएको छैन । तथापि हामी के कुरामा विश्वस्त छौँ भने अप्रिसिएटिभ इन्क्वायरी पोजेटिभ एट्टिच्युट विकास गर्नका लागि के गर्नुपर्छ भन्ने विषयको कर्मचारीलाई तालिम दिएका छौँ, कर्मचारीलाई सेवाकालीनका अनिवार्य दिनुपर्ने तालिम त ठूलो विषय रहेन । हामीले कर्मचारीलाई सेवकीय संस्कार तथा व्यक्तित्व विकास तालिम दिएका छौँ । आफ्नो व्यक्तित्व विकास राम्रोसँग नगर्ने कर्मचारीले सेवाग्राहीको माग, आकाङ्क्षा र चाहनालाई सम्बोधन गर्न सक्दैन भन्ने कुरालाई हामीले मध्यनजर गरेका छौँ । अरु सेक्टरका तालिम पनि हामीले दिएका छौँ । 

कर्मचारीलाई बहु आयामिक बनाउनुपर्छ भन्ने हाम्रो सोच छ । जस्तो ः एउटा प्राविधिक कर्मचारी प्राविधिक क्षेत्रमा दक्ष भएर मात्रै पुग्दैन, ऊ समग्र व्यवस्थापकीय पक्षको ज्ञाता हुनुपर्छ, उसले योजना जानेको हुनुपर्छ । प्राविधिक क्षेत्रको ज्ञान र सीप भएर मात्रै पुग्दैन । प्रशासकमा हुनुपर्ने ज्ञान पनि उसमा हुनुपर्याे । कानुनी विषयको ज्ञाता पनि हुनुपर्याे । उसले व्यक्तित्व विकासको बारेमा बुझ्नु पनि पर्याे । र, ऊ आफू पोजेटिभ हुनुपर्याे । अनि मात्रै उसले आफूमा पोजेटिभ भाइब क्रिएट गरेर त्यो कुरा बाहिर लिएर जान सक्छ । यही हिसाबले हामीले बहु आयामिक किसिमले कर्मचारीलाई प्रशिक्षित गरेका छौ । 

यहाँले हाम्रो गत आर्थिक वर्षको नीतिको किताबमा हेर्नुभयो भने मैले अघि भनेका तालिमहरू उल्लेख छन् । 

अहिलेको एकदम फास्ट चेन्जिङ सोसाइटी छ, हिजो सामान्य लाग्ने विषय, आज सामान्य लाग्ने विषय आजभन्दा १० वर्षअगाडि त आश्चर्यको विषय थियो नि । अबको १० वर्षपछि यहाँको कर्मचारी संयन्त्रलाई कसरी लिएर जानुपर्छ भन्ने किसिमले काम अगाडि बढाएका छौँ । तालिमका माध्यमबाट कर्मचारीहरूको ज्ञान, सीप र सोचको दायरा फराकिलो बनाउने किसिमले हामीले धेरै कार्यक्रम अगाडि बढाएका छौँ । 

जहाँसम्म प्रविधिको कुरा छ, प्रविधिको सन्दर्भमा हामीले च्याटबार्ड सिस्टम १ हप्ताभित्रै लागू गर्दैछौं । त्यो सिस्टमबाट ललितपुर महानगरले दिने सेवाको बारेमा जानकारी लिन सकिन्छ । अहिले पनि कतिपयलाई ललितपुर महानगरभित्र नागरिकलाई नक्सा पास गर्दा के–के गर्नुपर्छ, सिफारिस लिँदा के–के गर्नुपर्छ, मृत्यु दर्ता गर्दा के–के गर्नुपर्छ, नाता प्रमाणित गर्दा के–के गर्नुपर्छ लगायत कुरा थाहा छैन । यसको बारेमा जान्न नागरिक बडापत्र हेर्न आउनुपर्छ । 

यसको समाधान च्याटबर्ड सिस्टमले गर्नेछ । त्यसका लागि हामीले महानगरले प्रदान गर्ने सबै सेवासँग सम्बन्धित विषय १ हप्ताभित्र त्यो सिस्टममा राख्दैछौं । त्यसपछि त्यो सिस्टमले महानगरले गर्ने कामको जिज्ञासाको समाधान गरिदिनेछ । जस्तै ः वडा नम्बर ३ मा बसेको व्यक्तिले नाता प्रमाणपत्र लिन के गर्नुपर्छ भन्ने जिज्ञासा राख्यो । र, महानगरपालिकाको पोर्टलमा पठाइदियो भने सिस्टमले त्यसको जवाफ दिन्छ । सिस्टमले कुनै कामका लागि महानगरमा पेस गर्नुपर्ने आवश्यक कागजातबारे, कति दिनमा सेवा पाउनेलगायत जानकारी दिन्छ । यस्तो खालको च्याटबडको सिस्टम हामीले लागू गर्दैछौं । यसमा युएनडिपीले हामीलाई सपोर्ट गर्दै छ । 

अब यो सिस्टम कार्यान्वयन गर्न कर्मचारी पनि अभ्यस्त हुनुपर्याे, दक्ष हुनुपर्याे । त्यो दुइटै कुरालाई सँगसँगै लिएर जाँदैछौं । समग्रमा भन्दाखेरि एउटा स्मार्ट पालिकाको रूपमा जे–जे कुराहरू चाहिने हुन्, जे–जे कम्पोनेन्टहरू आवश्यक पर्छन्, चाहे प्रविधिको हिसाबले कुरा गरांैं, चाहे प्रक्रियाको हिसाबले कुरा गरौँ, चाहे कर्मचारीको दक्षताको हिसाबले कुरा गरौँ, चाहे समग्र वातावरणीय पक्षको हिसाबले कुरा गरौँ, काम गर्ने वातावरणको हिसाबले कुरा गरौँ, चाहे नेतृत्वको क्षमताको हिसाबले कुरा गरौँ ती सबै कुराहरूलाई हामीले सँगसँग लिएर जाने प्रयत्न गरिरहेका छौँ । 

वडालाई अधिकार प्रत्यायोजनदेखि लिएर ठेकेदारलाई कारबाहीसम्मका कुरामा पनि महानगरले एक्सन लिएको रहेछ, पछिल्लो समय यो कतिको आवश्यक थियो, कतिको प्रभावकारी देखिरहेको छ ?

वडालाई अधिकारको विषय नयाँ काम होइन, अरु पालिकाको तुलनामा नयाँ कुरा होइन, ललितपुर महानगरपालिकाले हिजो नै गरिसकेको कुरा हो । हिजोको अवस्थासँग तुलना गरेर हेर्दा एउटा सेवाग्राहीलाई जुन झन्झट र जुन प्रक्रियागत पक्षमा अलमलिनुपर्ने कुरा थियो, त्यो कुरालाई यो वर्षदेखि अन्त्य गर्याैं । त्यो साधारण कुरा हो । 

अब जहाँसम्म निर्माण व्यवसायीसँग सम्बन्धित विषयमा कुरा गरिरहँदा हामी निर्माण व्यवसायीसँग सम्बन्धित विषयमा र सहकारीको नियमनको विषयमा निर्मम छौँ । आजको दिनमा हेर्नुभयो भने कुनै पनि पालिका सायद झन्झटमुक्त अवस्थामा ढुक्कसँग बस्न सकेको छैन सहकारीका पीडितहरूको कारणले । तर, ललितपुर महानगरपालिकाभित्र ३१९ ओटा हाम्रो नियमन क्षेत्रभित्रका सहकारी सङ्घसंस्थाहरू हुन् । ती संस्थामा कुनै पनि समस्या छैन । हामीले सार्वजनिक रूपमा नै भनेका छौँ । सार्वजनिक सुनुवाइमा भनेका छौँ । कार्यक्रममा पनि हामीले त्यो कुरा बोलेका छौँ । हामीले काठमाडौँ उपत्यकाभित्रका सबै १८ ओटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू, सहकारीको प्रदेश रजिष्टार, सहकारीको संघीय रजिष्टारको कार्यालय सबैलाई राखेर कार्यक्रम गर्याैं । र, भन्यौँ– महानगरको नियमनको क्षेत्रको जिम्मा हामी लिन्छौँ । महानगर क्षेत्रका ३१९ सहकारी संस्थाको विषयमा हामी शत प्रतिशत ढुक्क छौँ । ती सहकारीमा समस्या आएको थिएन, समस्या आएको छैन र समस्या आउँदैन । 

अब निर्माण व्यवसायी तर्फ भन्नुपर्दा हामीले निर्माण व्यवसायीलाई ५० औं लाख रुपैयाँ जरिवाना गर्याैं । जरिवाना गरेको कारणले प्रोजेक्ट अलपत्र भएका छैनन् । हाम्रो परियोजना सम्पन्न गर्याैं । जरिवाना गरेर कारबाहीको दायरामा लिएर आएर निर्माण व्यवसायीलाई नियमन गरेर परियोजना सफल बनाएका छौँ । त्यो उदाहरण हो । सायद मैले देखेको छैन, अरु स्थानीय तहमा के छ । अब हामीले सार्वजनिक सूचना पनि गरेका छौँ, विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरूमा सूचना सार्वजनिक गरेका छौँ । कारबाहीको दायरामा पनि लिएर आएका छौँ । पूर्वनिर्धारित क्षतिपूर्ति अर्थात् ठेकेदारलाई हुने जरिवाना गरेर हामीले ५० औं लाख रुपैयाँ राज्यको असुलउपर गरेका छौँ । फेरि पनि भने सहकारीको नियमनको कुरामा र निर्माण व्यवसायीलाई नियमन गरेर परिचालन गर्ने सन्दर्भमा हामी एकदमै निर्मम हिसाबले काम गरेका छौँ । हामी विवेकको बन्धक भएका छैनौँ । 

खासगरि जनप्रतिनिहरूले दोस्रो कार्यकाल शुरु गरिरहनुभएको छ, महानगरको सेवा प्रवाहदेखि विकास निर्माण, अन्य जे जति जोडिन्छन्, समग्र अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

ललितपुर महानगरपालिकामा २ वर्षभन्दा बढीको बसाइ र त्यो समयले दिएको सिकाइलाई विश्लेषण र संश्लेषण गरेर हेर्दा यहाँका नागरिकहरू असाध्यै सौम्य, सहिष्णु नागरिकहरू हुनुहुन्छ, सहयोगी पनि हुनुहुन्छ । महानगरपालिकालाई नगरबासीको साथ छ । कतिपय समस्या पर्दाको समय, जस्तो : हिजोको कुरा गरौँ न, हिजो कोभिडको बेला समाज सबै ठाउँमा आक्रान्त भएको बेलामा पनि हामी घरघरमा पुग्यौँ । सबै नागरिकलाई महानगरपालिका छ है भनेर हामी भरोसा र ढाडस दिएर हामी अगाडि बढ्यौँ, त्यतिखेर उहाँहरूको हामीप्रतिको भरोसा, उहाँहरूले देखाउनुभएको विश्वास, उहाँहरूले व्यक्त गर्नुभएको सद्भाव र सहकार्य वास्तवमा उल्लेख्य छ नागरिकका तहबाट । त्यसैगरी, अरु सरोकारवालासँगको सम्बन्ध पनि एकदमै उत्कृष्ट छ । जनप्रतिनिधिहरू एकदमै शिष्ट, नैतिकवान् हुनुहुन्छ । कर्मचारीहरूमा केही वैयक्तिक क्षमताका सीमाहरू होलान्, त्यसका बाबजुद समग्रमा कर्मचारीको काम गर्ने शैली, तौरतरिका पनि कमसेकम सही नियतबाट काम गर्ने हिसाबबाट निर्देशित छ, त्यसैको कारण ललितपुर ‘ललितपुर’ भएको हो । 

महानगरका महत्त्वपूर्ण पक्षमध्ये नागरिक खराब भएर महानगर मात्रै ठिक हुन सक्थेन । कर्मचारी बदमास थिए भने जनप्रतिनिधिले मात्रै अगाडि लिएर जान सक्नुहुन्थेन । जनप्रतिनिधिको नियत खराब हुन्थ्यो भने कर्मचारीले मात्रै ड्राइभ गर्न सक्ने अवस्था थिएन । समग्रमा एउटा गज्जबको अनुपम र उत्कृष्ट संयोजन छ । जनता, नागरिक, सरोकारवाला सङ्घसंस्थाहरू, जनप्रतिनिधि र कर्मचारी, एउटा विशिष्ट र अनुपम किसिमको संस्कार, संस्कृति र सम्बन्ध छ । त्यही कारणले हामी उत्कृष्ट महानगरपालिका, स्मार्ट महानगरपालिका भनेर घोषणा गर्दै अगाडि बढ्ने क्रममा छौँ । र, हाम्रा नीति, हामीले गरेका काम र हामीले देखाएको नतिजाले त्योबाट एक हदसम्मको त्यो परिणामले पनि हामीले दावालाई समर्थन नै गरेको छ । हाम्रो दावा खण्डित हुने अवस्थामा छैनौँ भन्ने कुरामा हामी पुगेका छौँ । 

अन्तिममा मैले प्रश्न गर्न छुटाएको अर्थात् तपाईँलाई भन्न मन लागेको केही छ कि ? 

सरसर्ति सबै कुरा समेटिए जस्तो लाग्छ । एउटा कुरा अलि बढी नागरिकसम्म लिएर जान सकेनौँ कि भन्ने कुरामा हामीलाई एउटा बोध भएको छ । जस्तो : ललितपुर महानगरपालिकामा हामीले हिजो कोभिडको बेलामा बिरामी भएको यहाँको बासिन्दालाई ३० हजार रुपैयाँको दरले हामीले सहयोग गर्याैं । जो व्यक्ति आइसियुमा गएर उपचार गर्नुभयो, उहाँलाई प्रतिव्यक्ति ६० हजारको दरले महानगरपालिकाले राहत स्वरूप उपलब्ध गरायो । मृत्युवरण गर्ने व्यक्तिको परिवारलाई सहानुभूति स्वरूप १ लाख २० हजारको दरले राहत उपलब्ध गरायौँ । सुविधा सम्पन्न आइसुलेसनहरू खोलेर अन्तर्राष्ट्रिय तहको सेवा सुविधा उपलब्ध गरायौँ । त्यो क्राइसिसको बेलामा पनि हामीले डटेर अगाडि बढ्यौँ । त्यही कारणले अहिले नगरपालिका सङ्घले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको भनेर पुरस्कृत पनि गरेको छ । त्यतिखेर नागरिकले देखाउनुभएको भरोसा, सँगसँगै अहिले हामीले के भनेका छौँ भने हामीसँग शव वाहन निःशुल्क, हामीसँग सुविधा सम्पन्न एम्बुलेन्स निःशुल्क, हामीसँग फोहोरको ढल सफा गर्ने मेसिनलगायतका सुविधाहरू निःशुल्क उपलब्ध गराएका छौँ । हामी भन्दैछौं– लौन महानगरवासी हाम्रो सुविधा लिइदिनुस् । त्यो सूचना हामीले पुर्‍याउन सकेनौँ कि ! त्यसमा कमसेकम महानगरवासीको दबाब चाहियो । त्यो तहको दबाब नागरिकबाट नआएको महसुस हुन्छ एउटा । 

अर्को भनेको हामीले घरमै बसेर कर तिर्ने सिस्टम त राख्यौँ । तर, त्यसको उपभोग नागरिकको तहबाट भएको छैन हामीले अपेक्षा गरेबमोजिमको । हामीले सूचना व्यवस्थापन प्रणालीमा अलिकति हामीले रिभ्यु गर्नुपर्ने अवस्था छ कि भनेर यो वर्ष हामीले इन्फरमेसन म्यानेजमेन्ट टिम भनेर सूचना सञ्चार व्यवस्थापन समूह भनेर त्यसलाई म्यासिभलि पब्लिकको तहमा लिएर जान खोजिरहेका छौँ । 

महानगरवासीलाई हाम्रो अनुरोध के हो भने आउनुस् च्याटबड भन्ने सिस्टम हामीले लागू गर्दैछौं । तपाईँका जे–जे समस्या छन् तपाईँका जिज्ञासा प्रविधिका माध्यमबाट जानकारी लिनुस् । आधुनिक प्रविधिको माध्यमबाट हामीले नागरिकलाई सेवा सुविधा उपलब्ध गराएका छौँ । त्यसको उपभोग गरिदिनुस् । त्यसमा कमी छ भने दबाब दिनुस् । हामीलाई झस्काइदिनुस् । हामी सुध्रिएर अझै त्यसलाई परिस्कृत हिसाबले परिमार्जित हिसाबले अघि जान सक्छौँ । प्रशासकीय प्रमुखको हिसाबले नागरिकको तहबाट दबाब आएन है ! 

Tags :
प्रतिक्रिया दिनुहोस