पूर्वाधार विकास र सम्पदा संरक्षणमा अग्रसर ललितपुर महानगर  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वाधार विकास र सम्पदा संरक्षणमा अग्रसर ललितपुर महानगर 


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । ललितपुर महानगरको मेयरमा पहिलो पटक निर्वाचित भएपछि चिरिबाबु महर्जनले ल्याएको बजेटमा मुख्य प्राथमिकतामा थिए– पूर्वाधार विकास र सम्पदा संरक्षण । उक्त बजेटमा सांस्कृतिक सम्पदाको पुनः निर्माण, पर्यटनको माध्यमबाट आर्थिक विकास, वडालाई विकासको केन्द्रबिन्दु बनाउनेलगायत विषय प्राथमिकतामा राखिएका थिए । 

उनको चासो पूर्वाधार विकास र सम्पदा संरक्षणमा केन्द्रित छ भन्ने यसबाट स्पष्ट हुन्छ । त्यसो त त्यसपछिका आर्थिक वर्षको बजेटमा पनि यिनै विषय प्राथमिकतामा देखिए । आर्थिक वर्ष ०७६/७७ को बजेटमा पनि महानगरले तिनै विषयलाई प्राथमिकतामा राखेको थियो । सो आर्थिक वर्षमा ५ अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएकोमा पूर्वाधार विकासमा मात्रै कूल बजेटको ३८.७५ प्रतिशत छुट्याइएको थियो । अर्थात् सो आर्थिक वर्षमा २ अर्ब ७ करोड ३६ लाख रुपैयाँ पूर्वाधार विकासका लागि छुट्याइएको थियो । 

बजेट भाषणका क्रममा उनले कला नगरीका रूपमा चिनिएको ललितपुरलाई सांस्कृतिक सहर बनाउने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक विकास गर्ने उद्घोष गरेका थिए । 

त्यही अनुसार उनले काम पनि गरे । उनले भूकम्पले क्षतिग्रस्त भएका सम्पदा पुनः निर्माण गरे । महानगरको पूर्वाधार विकासमा पनि अहम् भूमिका निभाए । महानगरको विभिन्न ठाउँमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइट होस् वा इन्टेलिजेन्स सिटी लाइट होस् अथवा सिसिटिभी जडान नै किन नहोस्, उनले महानगरको पूर्वाधार विकासमा अहम् योगदान दिए । 

उनको यही कामलाई देखेर महानगरवासीलाई उनलाई दोस्रो पटक महानगरको मेयरमा जिताए । 

दोस्रो पटक मेयरमा जिताएकोमा उनी महानगरवासीप्रति कृतज्ञ छन् । त्यसैले महानगरवासीलाई पछुतो नहुने गरी काम गर्ने मनस्थितिमा छन् उनी । ‘चिरिबाबुले गल्ती गर्दैन । महानगरवासीको शीर ठाडो पार्न सदासर्वदा काम गर्नेछु । काम गरेर डेलिभरी गर्दै जानेछु,’ उनले प्रतिबद्धता जनाए । 

सायद उनको यही अठोटका कारण महानगरवासीले उनलाई दोस्रो कार्यकाल पनि जिताएको हुन सक्छ ! उनी पनि मतदाताको विश्वास गुम्ने काम गर्न चाहँदैनन् । 

त्यसैले उनले दोस्रो कार्यकालमा पनि आफ्नो प्राथमिकता फेरेनन् । दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षको बजेटमा यो कुरा देखिन्छ । महानगरले आर्थिक वर्ष ०८०/८१ को बजेटमा सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यसो त चालू आर्थिक वर्षसम्म महानगरले पूर्वाधार विकास र सम्पदा संरक्षणमा थुप्रै काम गरिसकेको छ । तीमध्ये केही काम उदाहरणीय छन् । 

२.९ किमीको ट्रंकलाइन प्रोजेक्ट

महानगरले एसियन डेभलपमेन्ट बैंकको सहयोगमा लगनखेलदेखि पाटन दरबार स्क्वायर हुँदै शंखपुलसम्मको २.९ किमी क्षेत्रमा टं«कलाइन प्रोजेक्ट सञ्चालन गरेको छ । अहिलेसम्म यसको ८० प्रतिशत काम भइसकेको महानगरले जनाएको छ । ‘यो वर्ष जतिसुकै ठूलो पानी परे पनि त्यहाँ स्विमिङ पुल बन्दैन,’ उनले भने ।

महाकाल क्षेत्रमा त्यो ट्रंकलाइनसँग जोडिने गरी अर्को सानो ट्रंकलाइन प्रोजेक्ट चलिरहेको उनको भनाइ छ । 

स्मार्ट सिटीको परिकल्पना, साढे ३२ किमीको बाई साइकल लेन

ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने मेयर महर्जनको परिकल्पना छ । यही परिकल्पनालाई मूर्तरूप दिन महानगरले विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ । त्यसमध्येको एक हो– बाई साइकल लेन निर्माण । 

‘ललितपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउने हाम्रो परिकल्पना छ । स्मार्ट सिटी बन्न धेरै अवयवहरूले सगोल रूपमा काम गर्छ । त्योमध्ये एउटा बाई साइकल लेन पनि हो । तसर्थ यसअघिको कार्यकालमा साढे ३२ किलोमिटर सडकमा बाई साइकल लेन बनाएका छौँ,’ उनले प्रशासनसँग भने । गएको वर्षमा ७.९ किलोमिटर बाई साइकल लेन बनाएको उनले बताए । 

चक्रपथको दुवैतिर बाई साइकल लेन बनाउने महानगरको योजना छ । यसका लागि टेन्डर पनि भइसकेको मेयर महर्जनले जानकारी दिए । ‘चक्रपथको दुवैतिर ७.९ किलोमिटर गरेर १५.८ किलोमिटरमा डेडिकेटड बाई साइकल लेन बनाउने सम्बन्धमा टेन्डर पनि भइसकेको छ । तर, नेपाल सरकारले त्यहाँ फेरि ओभर–ले गर्ने काम सुरु गरेकाले हाम्रो काम पेन्डिङ भइरहेको छ,’ उनले भने । 

२ हजारभन्दा बढी स्ट्रिट लाइट जडान

महानगरले दुई हजारभन्दा बढी स्ट्रिट लाइट जडान गरेको छ । महानगरका अनुसार पहिलो फेजमा ६६९ ओटा र दोस्रो फेजमा १४ सय ओटा स्ट्रिट लाइट जडान गरिएको छ । 

‘यो स्ट्रिट लाइट बल्न पनि थालेको छ । एक–दुई ठाउँमा प्राविधिक समस्याले बल्न सकेको छैन, नत्र सबै ठाउँमा बलिसकेको छ,’ उनले भने । 

उनी महानगरमा स्ट्रिट लाइट जडानको योजनालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहकार्यको उपज मान्छन् । 

महानगरले स्मार्ट स्ट्रिट लाइट राखेका ठाउँमा सिसिटिभी पनि जडान गरेको जनाएको छ । ‘जुन ठाउँमा स्मार्ट स्ट्रिट लाइट जडान गर्याैं । त्यो क्षेत्रमा सिसिटिभी जडान गर्दै आइरहेका छौँ । पहिलो फेजमा ६६९ ओटा स्मार्ट सिटी लाइट जडान गरेका ठाउँमा सिसिटिभी जडान गरिसक्यौँ,’ उनले भने । 

१४ सय स्मार्ट सिटी लाइट जडान भएको ठाउँमा भने सिसिटिभी जडान गर्न बाँकी रहेको उनले बताए । ‘यसका लागि नेपाल प्रहरीसँग सहकार्य भएको छ । त्यसको काम पनि अघि बढेको छ,’ उनले भने । 

महानगरले स्ट्रिट लाइट मात्रै होइन, हाईमास्ड लाइट पनि जडान गरेको छ । ‘दोस्रो प्याकेजअन्तर्गत १२ ओटा ठाउँमा हाईमास्ड बत्ती पनि जडान गरिसकेका छौँ । यीमध्ये चार–पाँच ठाउँमा बत्ती बलिसकेको छ । महानगरपालिकाको प्राङ्गणदेखि लिएर जाउलाखेल–लगनखेलमा बत्ती बलेको छ,’ उनले भने । 

पर्ती जग्गामा पार्क 

महानगरले पर्ती जग्गामा पार्क बनाएको छ । मेयर महर्जनका अनुसार महानगरले अहिलेसम्म २५/२६ ओटा पार्क बनाइसकेको छ । 

‘स्थानीय पर्ती जग्गामा धेरैजसोको आँखा लाग्दो रहेछ । त्यसलाई रोक्नको निमित्त पार्क बनाएका हौँ । अहिलेसम्म २५/२६ पार्क बनाइसकेका छौँ । ठूलो साइजको जग्गा छ भने ठुलै पार्क बनाएका छौँ, सानो साइजको जग्गा छ भने सानै पार्क बनाएका छौँ,’ उनले भने । 

उनले ती पार्कलाई सस्टेनेबल बनाउन पनि काम भइरहेको बताए । ‘पार्कलाई यथोचित तवरले सस्टेनेवल बनाउनको निमित्त काम गर्दै आइरहेका छौँ । यसको ज्वलन्त उदाहरण ललितपुर महानगर क्षेत्रमा देख्न सकिन्छ,’ उनले भने । 

सम्पदा पुनः निर्माण सन्तोषजनक

महानगरले विकास निर्माण त छँदै छ, सम्पदा पुनः निर्माणमा पनि चासो दिइरहेको छ । भूकम्पपछि क्षतिग्रस्त बनेका कतिपय मन्दिरको पुनः निर्माण सम्पन्न भइसकेको छ । ‘नेपाल सरकारले १० करोडसम्मको टेन्डर गर्नुपर्दैन भन्ने कार्यविधि बनाएपछि ललितपुर महानगरपालिकामा धेरै ओटा मन्दिर बनाउँदाबनाउँदै । कतिपय सिद्धियो । उदाहरणको रूपमा : बालकुमारी मन्दिर पाटन र भीमसेन मन्दिर सम्पन्न भयो । त्यसमा नेपाल सरकारको दुई रुपैयाँ पनि परेन । हामीले आफै चन्दा उठाएर गर्याैं,’ महर्जनले भने । 

त्यस्तै, मछिन्द्रनाथको बुङमति मन्दिरको काम लगभग ८० प्रतिशत काम सकिएको उनले बताए । त्यस्तै, खोकनाको रुद्रायनी मन्दिरको प्रगति पनि सन्तोषजनक भएको उनको भनाइ छ ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य महानगरको विकासमा स्थानीयलाई जोड्न सके यसमा अपनत्व हुने र संरक्षण पनि हुने बताउँछिन् । ‘महानगरभित्रका सम्पदा हाम्रो पुर्खाले बनाएका हुन् । उहाँहरूको सीप र सृजनशीलताले बनेका हुन् । त्यसैले महानगरको विकासमा स्थानीयलाई जोड्न सके यसमा उहाँहरूको अपनत्व हुन्छ । त्यससँगै यसको संरक्षण पनि हुन्छ,’ उनी भन्छिन् । 

‘पाटन दरबार स्क्वायर क्षेत्र हेर्न लायक बनाइने’

मेयर महर्जनको चाहना छ– पाटन दरबार स्क्वायर क्षेत्र हेर्न लायक बनाउने । यसका लागि पाटन दरवार क्षेत्रमा मोटरसाइकल छिर्न नदिइने र चौहद्दी व्यवस्थापन गरिने महानगरको योजना छ । ‘यस क्षेत्रमा मोटरसाइकल छिर्न नदिने गरी अध्ययन भइसकेको छ । चौहद्दी व्यवस्थापनका लागि पनि काम भइरहेको छ,’ उनी भन्छन् । तर, यो काम सहज नभएको उनको बुझाइ छ । 

सिटीमेडको बैठकमा सहभागी १४ मेयरमध्ये एकले पाटन दरवार क्षेत्रमा मोटरसाइकल व्यवस्थित गर्नुपर्ने सुझाव दिएपछि उनलाई यो सुझाव घत लाग्यो । त्यसपछि उनी यसको कार्यान्वयनमा लागे । 

पाटन दरवार क्षेत्र र अन्य सम्पदा क्षेत्रलाई रात्रिकालीन समयमा पनि हेर्न मिल्ने खालको बनाउन महानगरले बत्तीको व्यवस्थापनको योजना बनाएको छ । 

बुङमती, खोकना र हरिसिद्धिलाई सांस्कृतिक नगरी घोषणा ! 

महानगरले बुङमती, खोकना र हरिसिद्धिलाई सांस्कृतिक नगरी घोषणा गर्ने भएको छ । हालैको नगर सभा बैठकले पनि यसलाई पास गरिसकेको छ । 

पर्यटकलाई बसमा निःशुल्क भित्री सहर घुमाइने !

यो क्षेत्रमा विद्युतीय गाडी चलाउन साझा यातायातसँग सहकार्य भइरहेको उनले बताए । ‘साझाले बढीमा १८ सिटको बसको व्यवस्थापन गर्ने सहकार्य भएको छ । यो बसमा टुरिष्ट चढेर भित्री सहरको दृश्यावलोकन गर्न सक्नेछन् । त्यो निःशुल्क गर्न लागेका छौँ,’ उनले सुनाए । उनले उक्त बस बुङमती, खोकना, हरिसिद्धी र धापाखेलसम्म लैजाने योजना रहेको र यसका लागि साझासँग सहकार्य भइरहेको बताए । ‘अलिकति समय लाग्न सक्छ । तर, यो हुन्छ,’ उनले भने । साथै उनले पर्यटन हेरिटेड वाकका लागि पनि काम भइरहेको सुनाए । 

पूर्वाधारको गुणस्तरमा पनि चासो

त्यसो त महानगरले पूर्वाधार विकास मात्रै गरेको छैन, त्यस्ता योजनामा गुणस्तरमा पनि चासो दिइरहेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य विकास निर्माणका योजनामा क्वालिटी मेन्टेन गरिरहेको दाबी गर्छिन् । ‘गुणस्तर कायम गर्नका लागि इन्जिनियर छन् । उहाँहरूले योजनाको राम्रोसँग चेकजाँच गर्नुभएको छ,’ उनी भन्छिन्, ‘गुणस्तर कायम नभएका योजनामा दुई–तीनपल्ट पनि चेकजाँच गराएका छौँ ।’ 

महानगरले अनुगमनलाई पनि प्राथमिकता दिएको छ । ‘महानगरले गर्ने विभिन्न अनुगमनमध्ये योजनाको अनुगमनलाई विशेष प्राथमिकतामा राखेका छौँ । हामीले अनुगमनका लागि कार्यविधि पनि बनाएका छौँ । त्यसकै मापदण्डभित्र रहेर अनुगमन गरिरहेका छौँ,’ उनी भन्छिन् ।

अपाङ्गमैत्री सहर बनाउने अभियान 

त्यसो त ललितपुरलाई अपाङ्गमैत्री सहर बनाउने महानगरको अभियान छ । ‘यहाँका फुटपाथलाई अपाङ्गमैत्री बनाइरहेका छौँ । ललितपुर महानगरलाई अपाङ्गमैत्री सहर बनाउने अभियान छ,’ उनले सुनाइन्, ‘कतिपय ठेकेदारले फुटपाथ बनाउँदा अपाङ्गमैत्री नबनाएको पनि पाइएको छ । ती ठाउँमा फुटपाथलाई पुनः सुधार गरेर अपाङ्गमैत्री पनि बनाइएको छ ।’ 

उपप्रमुख बज्राचार्य गुणस्तर कायम नगर्ने ठेकेदारलाई क्षतिपूर्ति पनि तिराएको बताउँछिन् । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल पनि महानगरका योजनामा काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याएको बताउँछन् । ‘ठेकेदारलाई जरिवाना गराउँदा योजना अलपत्र भएका छैनन्,’ उनी भन्छन्, ‘जरिवाना गराएर ५० लाख राज्यको असुल उपर गरेका छौँ ।’

सेवा प्रवाह छिटो र सहज !

त्यससँगै सेवाग्राहीलाई छिटो र सहजरूपमा सेवा प्रवाह गरिएको उनको दाबी छ । ‘वडा स्तरीय कामको लागि महानगरपालिकाको कार्यालयसँग आउनुपर्ने अवस्थाको अन्त्य गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत अर्याल भन्छन् । 

योजनाको काममा पारदर्शितासमेत अपनाएको उनको भनाइ छ । ‘महानगरका वडा कार्यालयहरूमध्ये रिङरोड भित्रकालाई एक समयमा र बाहिरकालाई अर्को समयमा सार्वजनिक सुनुवाइ गर्ने गरेका छन्,’ उनी भन्छन्,‘सार्वजनिक सुनुवाइमा राजनीतिक दलको सभाभन्दा बढी सहभागिता हुने गरेको छ ।’ उनले महानगरले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति पनि कार्यान्वयन गरिरहेको दाबी गर्छन् । कर्मचारीले बदमासी गरेको थाहा पाएमा तत्काल सूचना दिन महानगरवासीलाई अनुरोध गरेका छौँ । 

सेवा प्रवाहमा नयाँपन दिँदै

प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरले सेवा प्रवाहमा नयाँपन दिन काम गरिरहेको बताए । ‘सेवा प्रवाहको ओभरअल सिस्टमलाई ट्रान्सफर गर्ने हिसाबले हिजो हामीले जे–जे कामहरू गरिरहेका थियौँ । ती कुराहरूमा नयाँपन ल्याउनलाई केही नयाँ आयामहरू सुरुआत गरेका छौँ, जस्तो : ललितपुर महानगरपालिकामा हिजोको दिनसम्म वडा स्तरीय योजनाको स्वीकृति, लागत अनुमान तयारी, कार्यक्रम सञ्चालन, सम्झौता, अनुगमनजस्ता कुराहरू महानगरपालिकाबाटै हुन्थ्यो । यो वर्षदेखि हामीले त्यो सबै अधिकार विकेन्द्रीकरणको मूल मर्मलाई आत्मसात् गरेर वडा तहसम्मै विस्तार गरेका छौँ,’ उनले भने, ‘अहिले वडा स्तरीय योजनासँग सम्बन्धित कुनै पनि कामको लागि चाहे वडाका कर्मचारी भनौँ अथवा सेवाग्राही ललितपुर महानगरपालिकाको कार्यालयसम्म आइपर्ने अवस्थाको अन्त्य गरेका छौँ ।’ 

ईपीपीएस प्रणालीबाट नक्सा पास 

महानगरले घरको नक्सा बनाउन, राजस्व तिर्न र सिफारिस लिन आउने सेवाग्राहीलाई छिटोछरितो र शीघ्र सेवा प्रवाह गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल पनि यसका लागि महानगरले कदम चालेको बताउँछन् । ‘स्थानीय तहमा सबैभन्दा बढी नक्सा, राजस्व र सिफारिस ती नओटा पक्षमा अलि बढी सेवाग्राहीको भिडभाड लाग्ने गर्छ । त्यो कुरालाई मध्यनजर गरेर हामीले नक्सा पास प्रक्रियालाई इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस प्रणाली)मा लिएर गएका छौँ । त्यसैसँग सम्बन्धित विषयको डिजिटल सिग्नेचर प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउँदै,’ उनी भन्छन् । 

राजस्व तिर्न बस्नुपर्दैन लाइन 

ललितपुर महानगरका सेवाग्राहीलाई यसअघि राजस्व बुझाउन निकै झण्झट खेप्नुपथ्र्याे । ‘लामो लाइन लागेर राजस्वको मूल्याङ्कन गराऊ । बैंकमा जाऊ । भौचर भर । पैसा बुझाऊ । फेरि आएर रसिद लिएर आऊ । छाप लगाऊ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिले सेवाग्राहीले भोग्दै आएको सास्ती सुनाए । एक वर्षयता भने सेवाग्राहीलाई यस्तो सास्ती भोग्नुपर्ने अवस्था छैन । ‘अहिले कुनै पनि सेवाग्राही ललितपुर महानगरपालिकाको प्राङ्गणमा राजस्व तिर्नका लागि आउँदा उहाँले आफ्नो मोबाइल नम्बर अथवा करदाता संकेत नम्बर मात्रै भनिदिने हो भने उहाँहरूलाई भौचर भर्नेलगायतका कुनै पनि झन्झट रहँदैनन् । हामीले सिस्टमलाई ट्रान्सफर्म गरेका छौँ,’ उनले भने, ‘कुनै सेवाग्राही आएर मेरो करदाता सेवा नम्बर यति हो भनेर दिनुभयो भने सिस्टमले जेनेरेट गरेर दुई ओटा भौचर आउँछ । त्यो भौचर लिएर बैंकमा राजस्व दाखिला गर्न सकिन्छ ।’

महानगरले घरबाटै ई पेमेन्टको सिस्टमलाई लागू गरेको छ । यो सिस्टम लागू भएसँगै सेवाग्राहीलाई घरमै बसेर डिभाइसमार्फत राजस्व भुक्तानी गर्न सहज भएको छ । 

महानगरले यो वर्षदेखि जनताको कर जनतालाई खबर भन्ने कार्यक्रम सुरुआत गर्दैछ । ‘अब नागरिकले घरमै बसेर मैले कर तिरेको संस्था कता जाँदै छ ? उसले के गरिरहेको छ ? के–के कार्यक्रम सुरुआत भयो ? मेरो टोलमा के कार्यक्रम आउँदै छ ? यीलगायत विषयको जानकारी पाउने प्रणाली यो वर्षदेखि विकास गर्दैछौं,’ उनले भने । 

‘जनतालाई आवश्यक पूर्वाधार बनाइरहेका छौँ’

महानगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्ष गोपाल महर्जन वडामा पूर्वाधार निर्माणसँगै धर्म संस्कृतिका क्षेत्रमा काम गरिरहेको बताउँछन् । ‘पूर्वाधारको रूपमा ढल बनाउने, सडक बनाउने काम गरिरहेका छौँ,’ उनी भन्छन् । जनतालाई आवश्यक पूर्वाधार बनाइरहेको उनको भनाइ छ । 

उनले वडाले स्थानीयलाई रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको बताए । उनले वडामा स्वरोजगार सिर्जना गर्नका लागि वडाबाट केही पैसा छुट्याइएको बताए । ‘यसका लागि पोहोर साल हामीले १० लाख रुपैयाँ राखेका थियौँ । महानगरपालिकाले ५ लाख रुपैयाँ राखेको थियो,’ उनले भने । 

त्यहाँबाट ५ लाख रुपैयाँ स्वरोजगार कार्यक्रमका लागि छुट्याइएको उनले बताए । ‘त्यो रकम बिना ब्याजमा उपभोक्ता कमिटी बनाएर दिने गरेका छौँ,’ उनले भने, ‘यसबाट रोजगारी पनि सिर्जना भइरहेको छ ।’ 

सीप विकासमा जोड 

महानगरपालिकाको वडा नम्बर २८ का वडाअध्यक्ष वीरेन्द्र महर्जन स्थानीयको आवश्यकताका आधारमा काम गरिरहेको बताउँछन् । स्थानीयको सीप विकास र व्यक्तित्व विकासका लागि वडाले काम गरिरहेको उनको भनाइ छ । ‘स्थानीयको सीप विकासका लागि हस्तकला ट्रेनिङ सञ्चालन गरिरहेका छौँ । व्यक्तित्व विकासअन्तर्गत उद्घोषण तालिमलगायत चलाइरहेका छौँ,’ उनले भने । यस्ता तालिममा महिलालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । 

महानगरले प्रभावकारी काम गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालको दाबी छ । उनका अनुसार ललितपुर महानगरको बासिन्दा हुनुमा गर्व गर्ने ९० प्रतिशत छन् । यस्तै, काममा पूर्ण सन्तुष्ट हुनेको संख्या ८६ प्रतिशत छ । महानगरको काम कति प्रभावकारी छ भन्ने यही तथ्याङ्कबाटै स्पष्ट देखिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस