कडाइ पछि लखेटिए सचिव बुर्लाकोटी, तेस्रो पोष्टिङ पनि कार्यालय तिरै ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कडाइ पछि लखेटिए सचिव बुर्लाकोटी, तेस्रो पोष्टिङ पनि कार्यालय तिरै !


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । निजामतीमा ‘सारै कडा’ सचिवका रूपमा चित्रित मधुसूदन बुर्लाकोटी कार्यालयबाट पुनः कार्यालयतिर धकेलिएका छन् । २०७८ असार २१ सचिवमा बढुवा भएसँगै २८ गते सुदूर पश्चिम प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवमा हाजिर भएका बुर्लाकोटी २०७८ पुष तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारस्थित अतिरिक्त(बरन्डा)मा तानिएसँगै फागुन २ गते सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) मा हाजिर भएका थिए । र, २०८० साउन पहिलो साता भएको दर्जन बढी सचिवको सरुवाका क्रममा उनलाई उपराष्ट्रपति कार्यालय पुर्‍याइएको छ । 

प्रदेश कार्यालयबाट आएपछि मन्त्रालय दिइन्छ कि भनिरहँदा उनलाई दोस्रो पटक पनि कार्यालय नै पठाइयो, जबकि उनी भन्दा जुनियर दुई सचिवले त्यति बेलै मन्त्रालय पाए । 

कामै त गर्ने हो भन्दै कस्सिएर ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका बुर्लाकोटी गएसँगै ठेक्कापट्टा गर्ने अड्डा र ठेकेदारका बिच मात्रै रहेको परिचय व्यापक बन्यो । चर्चित भनिएको ठेकेदार तथा निर्माण कम्पनीहरूलाई कालो सूचीमा राख्नेदेखि ठुला ठेक्कामा हुने गरेको मिलेमतो बुर्लाकोटीले छताछुल्ल पारिदिए । चर्चित पप्पु कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्ने काम पनि सचिव बुर्लाकोटीले नै गरे ।

सम्बन्धित समाचार : पप्पु कन्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा(सूचीसहित)

सीमित कर्मचारी र ठेकेदारहरूले स्पेशीफिकेसनमै सेटिङ गरेर करोडौँका ठेक्काहरू हत्याउने धन्दा बन्द गर्ने मात्रै होइन, कानुन विपरीत कुनै ठेकेदार कम्पनीका लागि बनाइएको शंकामात्रै लागे पत्र नै काटेर सच्याउन निर्देशनसँगै कैयन्का निदहराम बनाए उनले । ५ अर्बको अस्पताल निर्माणमा मिलेमतो भएको भन्दै पत्र काटेसँगै ठेक्का मात्रै रद्द भएन पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा नै दिनु परेको थियो । पटक पटकको प्रयासलाई पनि यसरी थल्याए कि जुन अहिले पनि उठ्न सकेको छैन । उनको सरुवा पछि मात्रै केही ठेकेदार कम्पनी र प्राधिकरणका व्यक्तिहरू पीपीएमओतिर आउन थालेको बताइन्छ । 

सम्बन्धित समाचार : ५ अर्बको ठेक्कामा मिलेमतो भएको भन्दै खरिद अनुगमनको पत्र 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आव्हान गरेको बोलपत्रमा मिलेमतोको आशङ्का गर्दै कागजात संशोधन गर्न पत्राचारदेखि सेटिङको आशङ्कापछि बोलपत्रमा उल्लेखित बुँदाहरूमा टिप्पणीसहित लेखि पठाएसँगै नेपाल राष्ट्रिय पुस्तकालयले भवन निर्माणको बोलपत्र खरिद सम्बन्धी प्रक्रिया नै रद्द गरेको थियो 

सम्बन्धित समाचार : क्यानको ठेक्कामा मिलेमतोको आशङ्का, सार्वजनिक खरिदले भन्यो संशोधन गर्नु

सम्बन्धित समाचार : पीपीएमओको निगरानी पछि ठेक्का रद्द

बुर्लाकोटीले असार पहिलो साता मात्रै नेपाली सेनालाई समेत पत्र पठाएका थिए । सेनाले निर्माण गरिरहेको फाष्ट ट्रयाक सडक परियोजनाको बोलपत्र प्रावधानहरू सच्याउन पत्र काटेका थिए । 

सम्बन्धित समाचार : फाष्ट ट्र्याकको बोलपत्र सच्याउन सेनालाई सार्वजनिक खरिदको पत्र

बोली मात्रै होइन, कलम घुमाउनसमेत नहच्किने सचिव बुर्लाकोटीले मुख्यसचिव नै अध्यक्ष रहको निजामती कर्मचारी अस्पताललाईसमेत बाँकी राखेनन् । 

सम्बन्धित समाचार : मुख्यसचिव नै अध्यक्ष रहेको संस्थालाई पीपीएमओको डन्डा ! गलत सिफारिस भन्दै कालो सूचीमा नराख्ने निर्णय

त्यति मात्रै होइन, तत्कालीन मुख्यसचिव शंकरदाश वैरागीको ‘विशेष इन्ट्रेस्ट’का कतिपय कामहरू उनले ठाडै अस्वीकार गरेको उनका निकटस्थहरू बताउँछन् । बुर्लाकोटीले हालकै मुख्य सचिवलाई पनि १५ बुँदे सुझाव सामाजिक सञ्जाल फेसबुकमै राखेका थिए । ‘अवकाश पश्चात् कुन पद पाउँछु भनेर योजना सहितको चाकडीमा लिप्न हुने संस्कारको अन्त्य गरियोस्’ भन्दै ‘मुख्यसचिव सबै कर्मचारीको अभिभावक’ हुनुपर्ने सुझाएका थिए । 

सम्बन्धित समाचार : मुख्य सचिव सबै कर्मचारीको अभिभावक हुनुपर्दछ नकि अवकाशपछिको पदका लागि चाकडीमा लिप्त (सचिव बुर्लाकोटी

त्यतिमै नरोकिएका बुर्लाकोटी दोस्रो सचिव बैठकमै मुख्य सचिव डा. बैकुष्ठ अर्याललाई ‘सबै सचिवलाई अख्तियार लग्ने काम नगरौँ’ भन्दै सचेत गराएका थिए । अहिले चर्चामा रहेको डिजिटल सिग्नेचरमा शुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका बुर्लाकोटीले खरिद पारदर्शी नभएको र एउटै कम्पनीलाई करोडौँको ठेक्का सुम्पिँदा कुनै हिसाबले सान्दर्भिक नदेखिने बताउँदै आएका छन् । ‘सरकारका सबै अधिकारीहरूको सही निजी कम्पनीलाई सुम्पिँदा आउन सक्ने जोखिमबारे को जिम्मेवार हुन्छ ?, डटपेन किने जस्तो नगरौँ’ भन्दै बुर्लाकोटी विमती राखेर हिँडेका थिए । 

२०७९ भदौ २२ गते तत्कालीन मुख्य सचिव वैरागी उद्घाटन गर्न ठिक्क परेको साइत पनि उनले नै खलबल्याएका थिए । 

सरुवाबारे बुझ्न खोज्दा बुर्लाकोटीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहँदा केही ठेक्कामा विभिन्न दबाब र प्रलोभन आएका कारण रक्तचाप उच्च देखिएकोमा अहिले आराम गर्ने तथा सार्वजनिक खरिदका बारे थप अध्ययन गर्ने अवसर पाएको बताए 

जे कुरा पनि प्याच्च बोलिहाल्ने स्वभावका कारण कतिपयलाई मन नपर्ने सचिव बुर्लाकोटी अनैतिकै काम गरिहाल्ने र जसरी पनि कुम्ल्याउनु पर्छ भन्ने प्रशासक नभएको उनकै समकक्षीहरू बताउँछन् । केही दिनको अघिको सरुवामा पनि प्रदेश बसेर आइसकेको व्यक्ति पहिलो पटक कार्यकालसम्म ठिकै थियो, पुनः कार्यालयमै पठाउँदा अन्याय नै भएको बताउँछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस