राष्ट्रपति चुनावका लागि प्रदेशमा को-को पदाधिकारी खटिए काँग्रेसका ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति चुनावका लागि प्रदेशमा को-को पदाधिकारी खटिए काँग्रेसका ?


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न नेपाली काँग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो।

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यसैबीच काँग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ।

काँग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा पौडेललाई जिताउनका लागि काँग्रेससहित ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्दै छन्।

यस्तै बिहीबार दिउँसो काठमाडौँमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम तय भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राष्ट्रपति चुनावमा संघीय संसद र प्रदेश सभा सदस्य मतदाता हुन्छन्। मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई मतदान केन्द्रमा हुनेछ।

राष्ट्रपतिमा काँग्रेससहित ८ दलको समर्थनमा पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस