सन्दीपले गरेको पुनरावेदनको पेशी आज « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सन्दीपले गरेको पुनरावेदनको पेशी आज


७ पुस २०७९, बिहिबार


काठमाडौँ । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी आज बिहीबार रहेको छ।

सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले पुनरावेदनको सुनुवाइ बिहीबार रहेको जानकारी दिए। यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेका थिए। सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन्। सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।

सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन्। अर्कातर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ।

आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएकोको दाबी उनीहरूले गर्दै आएका थिए। यसैबिच पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको पत्र काठमाडौँ जिल्ला अदालतलाई पठाएको छ।

अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिती त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ। उक्त गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस