ललितपुर मेयरसमक्ष बालेनका दुई प्रस्ताव « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ललितपुर मेयरसमक्ष बालेनका दुई प्रस्ताव


२ पुस २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्।

ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गरेका हुन्।

यी दुवै काम काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो।

मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौँ उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे।

उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राखे।

मेयर शाहले भने, ‘काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका आफैँमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाइ जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुराहरू छन्। देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्नो भूमिकाहरू देखाएको छ। त्यो एकदमै सराहनीय छ। र, आगामी दिनहरूमा हामीले पनि सिक्नुपर्ने धेरै कुराहरू छन् ललितपुर महानगरपालिकाबाट।’

‘सम्पदाको क्षेत्रमा जसरी अहिले ललितपुर महानगरपालिकाले ढुंगेधारा, पुरानो हिटीहरूको संरक्षणमा अग्रसर भएको छ। त्यो कुराहरूलाई हामीले पनि अब पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रो हिटीहरूको पुनः स्थापनाको काम गर्दैछौं। अर्को कुरा ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु। त्यसका लागि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्न सक्छ,’उनले अगाडि भने।

मेयर शाहले सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरू सिक्नुपर्ने बताए।

उनले प्राचीन ढुंगेधाराहरूको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरूले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको जानकारी समेत दिए।

उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटक पटक दोहोर्‍याए।

Tags :
प्रतिक्रिया दिनुहोस