सङ्घीयता खारेज गरौँ, चाहिएको हो भने संविधान बमोजिमको कार्यान्वयन गरौँ : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सङ्घीयता खारेज गरौँ, चाहिएको हो भने संविधान बमोजिमको कार्यान्वयन गरौँ : मुख्यमन्त्री पाण्डे


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । एकीकृत समाजवादीका उपाध्यक्ष एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले संविधान अनुसार सङ्घीयता कार्यान्वयन नभए गठबन्धनको सरकार पनि नटिक्ने बताएका छन् ।

अहिलेसम्म सङ्घीयताको सही कार्यान्वयन नभएको बताउँदै उनले सही ढङ्गले कार्यान्वयनका लागि छलफल गर्न शीर्ष नेताहरूलाई सुझावसमेत दिएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘गठबन्धनको सरकार जति दिन टिक्ला, टिक्ला । तर यो सङ्घीयता कार्यान्वयनको सवालमा ध्यान दिउँ । सङ्घीयतालाई राम्रो ढङ्गले लग्यौँ भने गठबन्धन सरकार पनि टिक्छ ।’

उनले अगाडि भने, ‘सङ्घीयतालाई राम्रोसँग ध्यान दिएर गएनौँ भने गठबन्धन सरकारको आयु पनि लामो हुँदैन र लामो नहुने मात्रै होइन । त्यो पछारिँदा नराम्रोसँग पछारिन्छ । त्यो उठ्नै नसक्नेगरी पछारिन्छ । त्यो पछारिने वातावरण बिस्तारै बन्दै गएको छ । बन्दै गएको त्यो वातावरणबाट शिक्षा लिनु जरुरी छ ।’

आफूले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा आफूले सङ्घीयता राम्रोसँग कार्यान्वयन नगर्ने भए त्यसलाई खारेज गरिदिन सुझाव दिएको जानकारीसमेत उनले दिए । ‘राष्ट्रिय समस्या समाधान समितिको बैठकमा म सहित प्रदेशका मुख्यमन्त्रीहरूले भन्यौँ, यदि चाहिँदैन भने यो सङ्घीयता खारेज गरौँ । चाहिएको हो भने संविधानमा उल्लेख भए बमोजिमको कार्यान्वयन गरौँ ।’

प्रदेशले पाउनुपर्ने अधिकारलाई केन्द्र सरकारले गुजुल्ट्याएर बसिरहेको उनको गुनासो छ । यतिन्जेलसम्म गठबन्धन कसरी बनाउने भनेर चिन्ता गरिएको बताउँदै उनले अब कामको चिन्ता गर्न सुझाव दिएका छन् ।

अबको पहिलो दुई वर्ष भित्र सङ्घीयता कार्यान्वयनका सम्बन्धनमा देखिएका सबै समस्या समाधान भइसक्नुपर्ने धारणा उनले राखे । 

अहिले पनि ७६ प्रतिशत बजेट केन्द्र सरकारले खर्च गर्ने तथा बाँकी २४ प्रतिशत प्रदेश र स्थानीय तहले खर्च गर्ने गरिएको बताउँदै उनले काम नभएको भनेर अपजस प्रदेश र स्थानीय सरकारलाई दिने गरिएको गुनासो गरे ।

बजेट धेरै भए पनि केन्द्रका योजनाको प्रगति दयनीय भएको उनले बताए ।

संघमा धेरै कर्मचारी थुपार्ने तर तल्ला तहमा नपठाउने गर्दा पनि काममा बाधा पुगेको उनले बताएका छन् । 

आफूले सङ्घीयता कार्यान्वयनका लागि केही महत्त्वपूर्ण कामहरू गरेको बताउँदै उनले अब आउने नयाँ टिमलाई काम गर्न सहज हुने दाबीसमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस