मन्त्रिपरिषद् बैठक : मौद्रिक नीति र ब्याजदरबारे सरकारले हस्तक्षेप गर्नुपर्ने मन्त्रीहरूको प्रस्ताव  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक : मौद्रिक नीति र ब्याजदरबारे सरकारले हस्तक्षेप गर्नुपर्ने मन्त्रीहरूको प्रस्ताव 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । मौद्रिक नीति र बैङ्कहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीहरूले गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राखेको गृह मन्त्रालय सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकारले यस विषयमा निकास ननिकाले उद्योग, व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा ती मन्त्रीहरूले राखेको स्रोतको भनाई छ ।  ।

मौद्रिक नीति र बैङ्कको ब्याजदरका कारण उद्योग एवं व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो उद्योगी व्यवसायीहरूले राख्दै आएका छन् । 

गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध सङ्घ संस्थाहरूले मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए ।

तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए । 

अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस