पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । 

बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा-कुवलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताएका हुन् । 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरू कसैलाई दिन अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारे । यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उनले उल्लेख गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताए । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने र देश विदेशमा प्रचार प्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

बिहीबारदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान शुरु गरेको छ । पहिलो उडानमा १३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन् । हालका लागि भैरहवाबाट नियमित चार्टड उडान गरिने र आगामी दिनमा भने सेड्युल उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस