काठमाडौँका मेयर उम्मेदवार स्थापितद्धार आयोगमा स्पष्टीकरण पेस, यस्तो छ जवाफ ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँका मेयर उम्मेदवार स्थापितद्धार आयोगमा स्पष्टीकरण पेस, यस्तो छ जवाफ !


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेका केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्।

एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घण्टाभित्र स्पष्ट पार्न भनेको थियो।

स्थापितले वैशाख १५ गते भएको कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

त्यही कार्यक्रममा उनले ती प्रश्नकर्तातर्फ लक्षित गर्दै यो पनि भनेका थिए, ‘के आधारमा प्रश्न गर्नुभयो यी बहिनीले ? म पनि यी बहिनीले वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ ?’

महिलालाई दुरुत्साहन हुने अभिव्यक्ति दिएपछि आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको थियो।

यस्तै स्थापितले मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति दिएको अभिव्यक्तिमा पनि आयोगले प्रस्ट पार्न भनेको थियो।

स्थापितले बालेनप्रति टिप्पणी गर्दै परिचय नखोल्ने अन्तर्राष्ट्रिय ठग भनेका थिए। वैशाख १८ मा स्थापितले बालेनमाथि दिएको अभिव्यक्तिपछि आयोगले उनलाई स्पष्टीकरण दिन भनेको थियो।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौँ है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेसतिरको साह रहेछ हेर्नुस् न। सुरुवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’ स्थापितले भनेका थिए।

यी दुई उजुरीमाथि स्थापितले आयोगमा स्पष्टीकरण पठाएका छन्। आयोग स्रोतले दिएको जानकारी अनुसार स्थापितले आफ्ना कुरा प्रस्टसँग राख्ने क्रममा आफूका कुराले कसैमाथि मानहानि भएको भन्न नमिल्ने जवाफ पठाएका छन्।

‘आफ्ना कुरा प्रस्ट राख्ने क्रममा मैले बोलेका कुराले कसैको चरित्र हत्या र मानहानि हुने भन्न मिल्दैन’ स्थापितले स्पष्टीकरणमा लेखेका कुरा उद्धृत गर्दै स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस