बाँके र बर्दियाको सिमानाका ७२ घण्टा बन्द हुने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बाँके र बर्दियाको सिमानाका ७२ घण्टा बन्द हुने


१८ बैशाख २०७९, आइतबार


नेपालगन्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सिमानाका ७२ घण्टा बन्द हुने भएको छ ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सम्म सिमानाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनले सिमाको दशगजा क्षेत्रमा कडाइ गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्ने र ४८ घण्टा अघि दुई देशका सिमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाउने निर्णय गरेको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र भारततर्फ बहराइच र सेराबस्तीका सिमासुरक्षा बलसहित सुरक्षा अधिकारीलगायत दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जङ्गली जनावरको अवैध पैठारी, काठ तस्करी, लागुऔषध कारोबार, मानव बेचबिखनलगायत विषयमा छलफल गरेको थियो ।

‘हाम्रो अनुरोधमा भारतीय सुरक्षा अधिकारीले सिमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न सहमत हुनुभएको छ’, बर्दियाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले भने ।

अहिले जमुनाहा र रुपैडिया नाकामा दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र संयुक्त सुरक्षा गस्तीसमेत गरेका छन् ।

बाँके जिल्लासँग भारतको सिमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ । बर्दियाको भारतसँग जोडिएको नाका धेरै रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस