सर्लाहीमा १५ लाख नदिँदा बालकको हत्या गर्ने सात जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा १५ लाख नदिँदा बालकको हत्या गर्ने सात जना पक्राउ


२५ चैत्र २०७८, शुक्रबार


पक्राउ

जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्याङ्कीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ ।

मलगंवा नगरपालिका–१२ गम्हरिया बस्ने दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्याङ्कीमा भेटिएको थियो ।

आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

आकाश बेपत्ता भएको सन्दर्भमा प्रहरीले अनुसन्धान गर्दै जाँदा बालकको परिवारसँग फेसबुक म्यासेन्जरमार्फत् १५ लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीको दाबी छ ।

आकाश बेपत्ता भएपछि साउदी अरबमा रहेका उनका मामा पर्नेको म्यासेन्जरमा फिरौती मागेर सन्देश पठाएको पाइएको छ । उनले आकाश चाहिन्छ भने तुरुन्त १५ लाख पठाइदेऊ भनेका रहेछन् । उनीहरूले मागेको रकम तत्कालै नपाउँदा सात जना मिलेर बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ । उनीहरूले बालकको हत्या गरी प्लास्टिकको बोरा भित्र शव राखेर सेप्टिक टंयाकी भित्र हालेको देखिएको छ ।

पक्राउ पर्नेमा मलंगवा १२ गम्हरिया बस्ने ६० वर्षीय जगदीशसहित, उनका छोरा २१ वर्षीय कृष्ण ठाकुर, कृष्णकी १८ वर्षीया पत्नी निरुता शर्मा तथा २५ वर्षीय संगिता बडही, ५० वर्षीय नेवा ठाकुर, करियकबा भनिने सुनिल बडही र वडा नं. ११ बस्ने २१ वर्षीय राकेश ठाकुर रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका विरुद्ध अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार: सर्लाहीमा छिमेकीको सेप्टिक ट्याङ्कीमा भेटियो बालकको शव

Tags :
प्रतिक्रिया दिनुहोस