आजको यातायात प्रशासन : केही तिता अनुभव र सुधारका उपायहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको यातायात प्रशासन : केही तिता अनुभव र सुधारका उपायहरू


२० चैत्र २०७७, शुक्रबार


सयौँ मान्छेहरूको लाममा लामबद्ध हुनु थियो आज पनि। खुट्टा राख्ने ठाउँ थिएन। अस्तव्यस्त विवाहको घर जस्तै; को घरपटी, को बाहिरको ? सबै यताबाट उता र उताबाट यता दौडिरहेका, कसैलाई कसैसँग बोल्ने फुर्सद थिएन। चर्को घाममा मान्छेहरू घण्टौँ देखिको लाइनमा उभिएर थकित र क्लान्त देखिन्थे, कोही बसेका, कोही उभिएरै मोबाइलमा घोप्टिरहेका। यो आखिर कुनै बेरोजगारहरूको रोजगारीका लागि आवेदन खुलाएर लागेको मेला वा राज्यले उपलब्ध गराउने राहत प्राप्तिको लागि लागेको लाइन थिएन ।

यो केवल राज्यको नियम पालना गरेर सवारी चालक अनुमति लिन्छौँ भन्ने मानिसहरूको आवेदन दर्ताको लाइन थियो। सूचना प्रविधिको विकासको कुरा गर्दा संसार कहाँ पुगी सक्यो; हामी नै पनि आज घरै बसेर अधिकांश कामहरू गर्न सक्ने भई सक्यौँ । तर यातायात प्रशासनको कारण आज पनि सयौँ र हजारौँ सेवाग्राहीले दैनिक यस प्रकारको सास्ती, हैरानी र झन्झट खेप्नु परिरहेको छ भन्दा विश्वास नलाग्न पनि सक्छ। तर यथार्थ र सत्य यही हो; यातायात प्रशासनमा देखिएको भोगिएको र बुझिएको व्यवस्था र पिडा।

क) अनुभव

प्रकरण नं – १

मिति चैत्र, २०७७ यातायात कार्यालय, जगाती, भक्तपुर

सवारी साधनको ईजाजतपत्र (लाइसेन्स) लिन अनलाइन प्रणालीबाट आवेदन गरेपछि २३ मार्च, २०२१ मा सम्पर्क गर्न सूचित गरेकोले म सर्वप्रथम त्यहाँ पुगेको थिएँ। अवस्था यस्तै थियो माथि उल्लेख गरे जस्तै। बिहानको १०:३० बजेतिर नै पुग्दा पनि २०० जति मानिसहरू अगाडी नै लाइनमा लामबद्ध थिए। सरासर कार्यालय प्रमुखको कक्षमा पुगेँ, त्यहाँ कुर्सीमा उनी थिएनन् तर कार्यकक्ष कर्मचारीहरूको बिहानीको उपस्थितिले भरिभराऊ थियो । सरकारी पोसाक र परिचय पत्र तिर ख्याल गर्दै कुनै एक मित्रले मेरो काम सोधी हाले, मैलै मेरो आवेदनको विषय जनाएँ र प्रक्रिया बुझ्न चाहेँ ।

तल धेरै ठुलो लाइन छ, पहिले बायोमेट्रिक दिनुपर्छ अनि मेडिकल गरेर राजस्व दाखिला गरेपछि लिखित परीक्षाको मिति तोकिन्छ भन्ने उनले जानकारी गराए । सरलाई भित्रबाटै लगेर गरिदेऊ भनेर एक जना कार्यालय सहयोगीलाई अह्राए । मैले अप्ठ्यारो मान्दै सयौँ मान्छेहरू लाइनमा छन् म पनि लाइनबाटै आउँछु भन्दा हैन हैन पर्दैन भने। म सरासर सहयोगी कर्मचारीलाई पछ्याउँदै गए बायोमेट्रिक लिने कम्प्युटरको अगाडी । असहज भयो त्यतिका मानिसहरूको पालो मिचेर म कम्प्युटरको अगाडी बस्दा । मेरो अनलाइन फारामको पेजमा समस्या देखा पर्‍यो कसै गर्दा पनि भएन र म जस्तै अरू केही मानिसहरूको पनि यस्तै समस्या भयो ।

टाढा टाढाबाट आएर घण्टौँ लामबद्ध भएका ती मानिसहरू खिन्न थिए । केहीले तीव्र प्रतिक्रिया पनि व्यक्त गरे तर उनीहरूलाई अर्को दिन खबर गर्ने भनियो र फर्काइयो। म पनि फर्किनु पर्ने भयो। काम भएन। १२ बजी सकेको थियो। मैले त्यहीबाट यातायात व्यवस्थापन विभागका महानिर्देशकलाई त्यहाँको अस्तव्यस्तता र समस्या अनि मानिसहरूले बिनासित्तीमा पाएको दुखको विषय अवगत गराएँ। समस्याको समाधानका लागि पहल गरिदिन अनुरोध गरे। म आफै सरकारी कर्मचारी भएको कारण पालो मिचेर पनि मेरो काम त साथीहरूले गराइदिने थिए होला तर त्यो अनुचित हुन्थ्यो । यहाँ त दैनिक सयौँ र हजारौँ मानिसहरूले पाईरहेको दुखको कुरा कसरी समाधान गर्न सकिन्छ भन्ने थियो तर वहाँले यो प्रदेश अन्तर्गतको कार्यालय रहेको र आफूले कसैलाई भनिदिने कुरा भन्नुभयो, सायद मैले व्यक्तिगत सहयोगको लागि अनुनय गरेको बुझ्नुभयो वहाँले।

एक हप्तापछि २:३० बजे तिर फोन आयो तपाईँको छुटेको फर्मको बायोमेट्रिक आजलाई तोकिएको छ आजै आउनु होला। सो समयमा म प्रधानमन्त्री कार्यालयमा व्यवसाय वातावरण प्रवर्धनको बैठकमा सहभागी थिए मैले आज सम्भव नहुने हुँदा अर्को दिनलाई सारिदिन अनुनय गरे।

प्रकरण नं २

मिति चैत्र, २०७७ यातायात कार्यालय, जगाती, भक्तपुर

छोराले पनि लाइसेन्सको अनलाइन फर्म भरेको हुँदा जगाती भक्तपुरस्थित यातायात कार्यालयमा नै जानु पर्ने थियो । फर्म एकै दिन भरेको भएता पनि उसको सम्पर्क मिति केहीदिन पछि थियो। त्यहाँको अस्तव्यस्तता देखेपछि मैलै चाडै गएर लाइन लाग्न सल्लाह दिए । उ भने छिट्टै पालो आउँछ भनेर ९:०० बजे नै गएर लाइनमा बसेछ। भोकै दिनभरि लाइनमा बसेपछि २:३० बजे पालो आउने समयमा सर्भर बिग्रिएको भनेर फर्काइएछ। बिचरा दिनभरी घाममा न खाना न पानी भोकै तिर्खै राज्यको प्रणालीमा समाहित हुन उसले अर्थात् नवपुस्ताले समेत जीवनको एक दिन व्यर्थै खेर फालेको थाहा पाउँदा अत्यन्त ग्लानि महसुस भयो । म आफै सरकारी सेवामा २७ वर्ष देखि छु । मैले त भोगे तर त्यही प्रणाली दोस्रो पुस्ताले पनि भोग्नु पर्‍यो । साना मानिसहरूको कुरा सुनुवाइ हुँदैन ठुला भनिएकाहरूलाई कतिपय जानकारी हुँदैन र चासो र तत्परता छैन, आखिर सेवा प्रवाहको यो दुरूह अवस्था निरन्तर चलिरहेको छ र चलिरहला।

प्रकरण नं ३

मिति माघ, २०७७ यातायात कार्यालय, सतुङ्गल, काठमाडौँ

केही समय अगाडी आफ्नो नाममा रहेको स्कुटर बिक्री गरी सकेपनि नामसारी गरिदिन बाँकी रहेको हुँदा यातायात कार्यालय सतुंगल काठमाडौँ जानुपर्ने भयो। झन्डै ११: ०० बजे नै म त्यहाँ पुगेको थिएँ। सडकभरी सवारी साधनहरूको घुइँचो थियो, पार्किङ अस्तव्यस्त थियो, तलैदेखि घर र पसलैपिच्छे फ्लेक्स प्रिन्टका ब्यानरमा ठुला-ठुला अक्षरमा सडकको दाँयाबाँया सवारी दर्ता, नामसारी सम्बन्धी सम्पूर्ण काम गरिन्छ भनेर तुलहरू टाँगिएका थिए। ती ब्यानर र तुलहरू विवाह घरमा टाँगिएका तुल ब्यानरहरू जस्तै रङ्गीबिरङ्गी र आकर्षक देखिन्थे। बाटा बाटामा केही मानिसहरू सेवाग्राहीलाई तान्न तछाड-मछाड गरिरहेको प्रस्टै देखिन्थ्यो।

म मेरो सवारीबाट ओर्लिन नपाउँदै केही मानिसहरू म तिर आए र सर के काम थियो होला म गर्दिन्छु भन्न लागे। दायाँबायाँ कार्यालय भवन परिसर नियाँले, कार्यालयको बोर्ड लगाएको कतै देखिएन, छरपस्ट मानिसहरू, अस्तव्यस्त सडक र पार्किङ, मानिसहरूको घँईचो मात्र प्रस्ट देखिन्थ्यो। त्यसै उभिइरहँदा झन् बिचौलियाहरूको घेराबन्दीमा परिने भएर जो मेरो अगाडी कामको अनुनय गरिरहेका थिए उनीहरूलाई पनि केही नभनी सरासर मलाई भनिएको मध्यस्थकर्ताको कार्यालय तिर गएँ । मानौँ म उहाँको लागि नयाँ होइन, अभ्यस्त छु र म कतैबाट भागी रहेको छु, हो यसो गर्दा नै मैले सुरक्षित महसुस गरे ।

म सँग कुनै फाइल थिएन। स्वामित्व हस्तान्तरण गरिदिनु थियो। क्रेता पक्ष अगाडी नै पुगेको रहेछ। उनीहरूले बिचौलियासँग सायद अगाडी नै कुरा मिलाई सकेका रहेछन्। एक जनाले मलाई मेरो नागरिकता मागे, केही कागजमा सहिछाप गराए र छेवैका घरतर्फ जाऊ भने । म उनैलाई पछ्याउँदै गए । पछाडि पटीको भर्‍याङ चढेर तेस्रो तलामा पुगेपछि उनले सरासर भित्र पुर्‍याए । त्यहाँ कुर्सीमा आसीन एकजना व्यक्ति केही मानिसहरूको भिडमा घेरिएका थिए । आखिर यही नै कार्यालय रहेछ भन्ने मलाई भान भयो । मलाई लिएर गएका मानिसले कागजातहरू राखिएको दराजमा फटाफट छान मारे र एउटा फाइल निकाले अनि तिनै मानिसको अगाडी राखी दिए। कुर्सीका मानिसले म तिर आँखा सोझ्याए केही भनेनन्। मैले पनि केही बोलिन तर केही भावहरू सायद सञ्चार भयो । एऽऽ यो मेरो हो सर भन्यो उसले, केही फाइलहरू पन्छाएर मलाई हस्ताक्षर गर्न लगाइयो, मैले हस्ताक्षर गरिदिए पछि त्यो कुर्सीको मानिसले मलाई साथ लिएर गएको मानिसलाई हेर्‍यो अनि गर्दिए हुन्छ सर भने पछि उसले पनि सही गर्दियो अर्थात् हस्ताक्षर !

आफैले खोजेर उसले त्यो कागजमा ढ्याङ्ग ढ्याङ्ग कार्यालयको छाप ठोक्यो र मलाई जाऊ भन्यो। तल आएपछि मलाई एउटा कागज दियो र त्यसैको अर्को प्रति क्रेता पक्षलाई दियो । खरिदकर्ताले खल्तीबाट पर्स निकाले र हजार हजारका पाँच वटा नोट निकालेर त्यो मान्छेलाई दिए म चुपचाप हेरिरहे । सायद क्रेताले तिर्नुपर्ने नियम रहेछ मलाई कुनै वास्ता गरेन उसले र म सरासर कागज पट्याउँदै आफ्नो सवारी भएतिर लागे।

विचित्र के लाग्यो भने कुन सरकारी कार्यालय हो ? कुन निजी ? अनि को सरकारी कर्मचारी ? र कुन होइन ? छुटाउन मलाई निकै हम्मे हम्मे नै पर्‍यो आजसम्म एउटा तर्कना आई रहन्छ आखिर ऊ सरकारी कर्मचारी त थिएन ?

प्रकरण नं ४

मिति चैत्र, २०७७ यातायात कार्यालय, जगाती, भक्तपुर

अनलाइन आवेदनको टुङ्गो लागेको थिएन। फेरी जगातीस्थित यातायात कार्यालय जानु नै थियो बायोमेट्रिक दिन, जहाँ जान पटक्कै मन थिएन। त्यही अस्तव्यस्तता, त्यही लामो र दिग्दार लाग्दो भिड। दिनभरिको लाममा लामबद्ध मानिसहरूको क्लान्त, थकित र अफसोसपूर्ण मुहार, कार्यालय परिसर र तिनै मानिसहरू उफ्।

म लगभग दिनको ११: ०० बजे नै त्यहाँ पुगेँ। खासमा म हिजो जानु थियो, मलाई त्यही सूचित गरिएको थियो। तर त्यो सूचना मलाई लगभग दिनको २:३० बजे प्राप्त भएको र सो दिन मेरो जरुरी कामले नभ्याएको कारणले म आज त्यहाँ पुगेको थिए। मनमनै यो उनीहरूकै प्रणालीगत कमजोरीको कारण भएकोले मसँग क्षमा याचना गरिएला र आज त्यो काम समयमा नै होला भन्ने अनुमान गर्दै त्यहाँ पुगेको थिए तर मिति स्थानान्तरण गरेको दिन नआउनु भएकोले यो हुन नसक्ने जानकारी पाएपछि म झन् दिक्क भए।

ठुलो विषय त थिएन, तर क्षोभ भरियो म भित्र तत्क्षण। यसमा मेरो गल्ती नै के थियो र ? सिस्टम उनीहरूको बिग्रिएको थियो र त्यसबाट म पटक-पटक दुख पाई रहेको थिएँ। मेरो गल्ती भनेकै त्यही दिनमा उपस्थित नहुनु थियो तर मलाई त त्यो आउन जान पुग्ने समय पनि उपलब्ध गराइएको थिएन नि ! र, मैले अनुरोध पनि गरेको थिएँ कि मेरो अर्को दिनलाई मिति सारिदिनुहोस् भनेर।

मेरो धैर्यताको बाँध फुट्यो म कड्किए, किन यसरी दुख दिएको भनेर । कसैले विभागले सर्भर कन्ट्रोल गर्ने भएकोले त्यही सम्पर्क गर्न भने, कसैले फेरी नयाँ प्रक्रियाबाट आउन भने तर म आफूले भन्दा पनि अरू म जस्ता सयौँ मानिसहरूले पाई रहेको दुख र हैरानी प्रति सचेत थिए ।

आज पनि पहिले देखेको भन्दा भिन्न थिएन त्यो परिसर। त्यसैले कार्यालय प्रमुखसँग छलफल गर्ने निधो गरे। उनीले पनि निरीहता जनाए। विभागीय प्रमुखसँग कुरा गरे तर त्यसमा आफूले केही गर्न नसक्ने बताए। सिस्टम नै यस्तो भएको र कार्यालय प्रमुखलाई त्यो अधिकार दिँदा दुरुपयोग भएकोले यसो गर्न नमिल्ने जनाउँदै बरु त्यहीँ सम्पर्क गर्न भने ।

मेरो यति दिन देखिको प्रयास बेकार हुने भयो भन्ने चिन्ता लाग्यो र सँगसँगै हामी कर्मचारीको अकर्मण्यताको कारण नागरिकहरूले पाई रहेको दुख र त्यसप्रतिको अनुत्तरदायी व्यवहार निकै नै पेचिलो बनिरहेको थियो मेरो लागि। यतिकैमा एक जना प्राविधिकलाई केही उपाय गर्न प्रमुखले भनेपछि उनले मैले वहाँको अर्को दिनलाई सारेको छु, हेर्छु भने । आखिर मेरो काम ५ मिनेटमा नै सम्भव भयो र म त्यहाँबाट सबैलाई धन्यवाद दिँदै बाहिरिएँ ।अझै लाइन निकै लामो थियो र मानिसहरूले युद्ध जित्न बाँकी नै थियो तर कतिले प्राविधिक वा अन्य कारणले युद्ध हारेर फर्किनु पर्ने हो, अहिलै अनुमान गर्न भने गाह्रो थियो।

ख) सिकाई र प्राप्ति 

प्रस्तुत घटनाहरूबाट मलाई निम्नानुसारको सिकाई भएको छः-

१ सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रदान गर्न अझै पनि सरकारी सेवा प्रदायक निकायहरू सक्षम भएका रहेनछन्।

२ सेवाग्राही प्रतिको उत्तरदायित्व वहन गर्ने जिम्मेवार प्रणालीको स्थापना गर्न सकिएको रहेनछ।

३ कार्यालयको भौतिक विन्यास, जनशक्ति व्यवस्थापन अपर्याप्त र सेवामैत्री रहेनछ।

४ कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता (पोसाक, सूचना प्रवाह, अभिलेख प्रणाली व्यवस्थापन, व्यवहार आदि) पालना नगर्दा पनि हुने अवस्था विद्यमान रहेछ।

५ सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाह चुस्त दुरुस्त र प्रभावकारी बनाउने भनिएको भएता पनि यो प्रणाली अपूर्ण र विकल्परहित भएकोले यसबाट अझै सास्ती बढेको रहेछ।

६ दक्ष र योग्य जनशक्तिको व्यवस्थापन हुन अझै सकेको रहेनछ ।

७ कार्यालय प्रमुखलाई समस्याका बारेमा अवगत हुँदाहुँदै पनि केही गर्न प्रयास नगर्नु, मानिसहरूले पाई रहेको दुखप्रति सचेत नरहनु र सुधारको कुनै कार्य योजना नहुनु भनेको संवेदनहीनता हो र कर्मचारीशैली हो यो अझै कायम रहेछ ।

८ सेवाप्रवाहको यस्तो दुरूह अवस्थामा सयौँ/हजारौँ नागरिकले दैनिक पाई रहेको सास्ती र हैरानी प्रति उच्च व्यवस्थापन (मन्त्री, सचिव, विभागीय प्रमुख, कार्यालय प्रमुख) अनभिज्ञ एवं अनुत्तरदायी रहेछ; यस विषयको अनुगमन र मूल्याङ्कन हुने अझै भएको रहेनछ, देखिएका समस्याहरूलाई समस्याको रूपमा ग्रहण गरिएको रहेनछ वा यसलाई सामान्य मानिएको रहेछ र यस अवस्था उपर सुधारको प्रयास नगर्नु नागरिकलाई आश्वस्त नपार्नु र अझ आकाशका तारा झार्ने आदर्शका भाषण गर्दै हिडनु दुर्भाग्यपूर्ण निराशाजनक र खेदजनक अवस्था त अझै बलियो पो भइरहेको रहेछ ।

ग) सिकाइबाट प्राप्त अनुप्रेरणा

१. यस परिसरमा नागरिक आउनु पर्ने निम्न कारणहरू रहेछन्-

  • सवारी चालक अनुमति पत्र प्राप्त गर्न,
    • नयाँ वा पुरानो अनुमित पत्रका लागि अनलाइन आवेदन गरी सकेपछि बायोमेट्रिक- फोटो, हस्ताक्षर र औँठा छाप दिन, रक्त समूह परीक्षण गर्न, आँखाको क्षमता परीक्षण गर्न र अन्य कागजात रुजू गराउन साथै आवेदन शुल्क भुक्तानी गरी लिखित वा ट्रायल परीक्षाको मिति यकिन गर्न (सबै भन्दा ठुलो भिड र लाम यसैमा देखियो)
  • सवारी इजाजत पत्र वा सवारीजन्य प्रमाणपत्रहरूको अनुमति/म्याद नवीकरण गर्न,
  • झुत्रो भएको वा हराएको प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न,
  • विवरण फरक परेको भए सो को संशोधन गर्न,
  • कर वा अन्य तोकिएका शुल्क भुक्तानी गर्न,
  • स्वामित्व हस्तान्तरण गर्न (बिक्री नामसारी अभिलेख भिडान आदि),
  • दाखिल खारेज गर्न वा अभिलेखबाट हटाउन,
  • वर्ग परिवर्तन गर्न, सवारीको मार्ग अनुमति लिन,
  • सवारी दर्ता गर्न वा संशोधनको अनुमति प्राप्त गर्न वा प्रदूषण परीक्षण आदि।

२. सेवा लिन जाँदा देखिएका मुख्य समस्याहरु-

  • सेवाग्राहीहरूलाई घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको
  • सेवाग्राहीको चाप अनुसारका काउन्टरहरू, जनशक्ति र उपकरणहरूको व्यवस्था नरहेको
  • कुनै सेवाग्राहीलाई कति समयमा सेवा दिन सकिने हो भन्ने, प्रत्याभूति नभएको
  • कम्प्युटर, सफ्टवेयर र सर्भर प्रणालीमा बारम्बार समस्या आई रहने भएता पनि त्यसको समाधानको लागि उपयुक्त व्यवस्था र अधिकार प्रत्यायोजन नभएको,
  • टोकन प्रणालीबाट सेवा दिइने भएकोले कार्यालयकै व्यक्ति वा बिचौलियाहरूले एकै पटक टोकनहरू लिने र लाइन प्रणालीलाई प्रभाव पार्ने गरेको,
  • सेवा प्रवाह गर्ने उपयुक्त भवन, कार्यकक्षको विन्यास नभएको र सेवा प्रवाहको प्रक्रिया सबैले बुझिने गरी देखाउनु पर्नेमा सो नभएको
  • सेवा प्रवाह सम्बन्धमा अनेकौँ समस्या तथा जिज्ञासाहरू सेवाग्राहीको हुने भएता पनि जानकारी वा सहयोग कक्ष/ सूचना कक्ष एवं कर्मचारीको व्यवस्था नभएको
  • सेवा प्राप्त गर्न पुर्‍याउनु पर्ने प्रक्रिया सम्बन्धी कुनै एफएक्यू वा चित्र, सङ्केत वा ब्रोसर सेवाग्राहीलाई उपलब्ध नरहेको
  • अधिकांश कर्मचारीले पोसाक र परिचयपत्र नलगाएको हुँदा पहिचान गर्न नसकिने
  • कागजातको फोटोकपी गर्ने फाई लिङ्ग वा अन्य सुविधा नरहेको
  • लाइनमा लामबद्ध सेवाग्राहीहरूको लागि पिउने पानी, शौचालय, आकस्मिक उपचार र कागजातहरूको पूर्व परीक्षण गर्न स्वयंसेवीहरूको व्यवस्था पर्याप्त नरहेको।

३. सुधारका उपायहरू-

अ. सैद्धान्तिक पक्षः

उच्च व्यवस्थापनले चाहने हो भने यहाँ देखिएका समस्याहरू तत्कालै (एक महिना भित्र) समाधान हुने देखिन्छ। समस्याको प्रकृतिलाई प्रणालीगत, व्यवस्थापकीय र व्यवहारगतरुपमा वर्गीकरण गर्न सकिन्छ। प्रणालीगत समस्या उच्च व्यवस्थापनले; व्यवस्थापकीय समस्या; कार्यालयको व्यवस्थापकले र व्यवहारगत समस्या केन्द्र र स्थानीय व्यवस्थापनको संयुक्त पहलमा नियमित अनुगमन, मूल्याङ्कन, दण्ड र पुरस्कारको माध्यमबाट समाधान गर्न सकिने देखिन्छ।

आ. प्रणालीमा गर्नुपर्ने सुधारहरुः

१ सेवा प्रवाह सम्बन्धी कम्प्युटर, सफ्टवेयर, सर्भर, नेटवर्किङको स्तरोन्नति सम्बन्धी कार्य
२ आवश्यक नीतिगत, कानुनी, भौतिक, मानवीय र आर्थिक पूर्वाधारहरूको विकास र आपूर्ति
३ जनशक्तिको क्षमता अभिवृद्धि र उत्प्रेरणा सम्बन्धी कार्यहरू
४ सेवा प्रवाहको नियमित अनुगमन, मूल्याङ्कन प्रणालीको कार्यान्वयन/ गुनासो सम्बोधन संयन्त्र
५ सेवाग्राही शिक्षा र सूचनाको प्रसार

इ. व्यवस्थापकीय पक्षमा गर्नुपर्ने सुधार

१ सेवाग्राहीको चाप र स्रोतसाधनको बिचको अनुपात प्रक्षेपण र सो अनुसारको व्यवस्थापन
२ थप जनशक्ति काउन्टर र अन्य व्यवस्थापनको लागि माथिल्लो निकायसँग समन्वय
३ सेवा प्रवाहमा आउने समस्याहरूको पूर्वानुमान त्यसको विकल्पहरूको विकास र परिचालन
४ कार्यालय सञ्चालन(जनशक्तिको नियमितता अनुशासन आचारसंहिताको पालना सेवाग्राहीसँगको व्यवहार समय र कार्य तालिका निर्माण कार्य विभाजन प्राविधिक तथा अन्य पक्षहरू) मा चुस्तपना ल्याउने कार्यहरू
५ सिफ्ट प्रणालीमा कार्य गर्ने विषय
६ बिचौलियाहरू र अन्य तत्त्वहरूको निगरानी/ सुरक्षा
७ स्तरिकृत कार्यसम्पादन मापदण्ड, (स्ट्याडर्ड अपरेटिङ प्रोसिड्यूर) निर्देशिका, समय- क्रियाकलाप मापन, (टायम एक्टिभिटिज् सर्भिस् म्यापिङ) ब्रोसर, सूचना सामग्रीहरूको निर्माण आवधिक सुधारको योजना तर्जुमा, कार्यान्वयन सेवाग्राहीको पृष्ठपोषण र अन्तरक्रिया गुनासोको तत्काल सम्बोधन हुने संयन्त्र निर्माण आदि।
८ कार्यालय परिसरको विन्यास, सरसफाइ, सहयोगी कक्ष व्यवस्थापन

ई. व्यबहारगत पक्षमा गर्नुपर्ने सुधार

१ सेवाग्राहीका काम तथा समस्याहरूको अनुरोध गर्ने
२ तोकिएका आचारसंहिताको पालना गर्ने गराउने
३ समय पालना र सेवा प्रवाहमा एकरूपता एवं पूर्वानुमानयोग्यता कायम गर्ने
४ सेवाग्राहीहरूलाई सम्प्रेषण गरिने सूचना तथा जानकारीहरू आधिकारिकरुपमा भरपर्दो माध्यमबाट उपलब्ध गराउने सूचना प्रविधिको अधिकतम प्रयोग गरी अनलाइन माध्यमबाट नै सूचनाहरू उपलब्ध गराउने।
५ सबैलाई मर्यादित व्यवहार गर्ने सो अनुकूल काम नगर्नेहरूलाई ३ पटकको मौका पछि अन्यत्र स्थानान्तरण गर्ने
६ क्षमाशील, तत्पर सेवा प्रवाह प्रणालीको आदर्श स्थापना गर्ने ।

घ. तत्काल सुधारका कार्यान्वयन योग्य विषयहरुः

यसरी नै यातायात कार्यालयहरूबाट प्रवाह हुने अन्य सेवाहरू समेत अनलाइन प्रणालीबाट प्रदान गर्न सकिन्छ र यसबाट बिचौलियाहरूबाट सेवाग्राही ठगिने, सेवा लिन झन्झट व्यहोर्नु पर्ने अवस्थाको अन्त्य हुने देखिन्छ।

अनावश्यक रूपमा सेवाग्राहीलाई पर्ने आर्थिक भार र समयमा कटौती हुने सेवाग्राही र कार्यालयको प्रत्यक्ष सम्पर्क हुनुपर्ने अवस्थाको अन्त्य हुँदा सुशासन कायम भई कार्यालय र सिङ्गो सरकार प्रति कै नागरिक बुझाई र धारणामा सकारात्मक रूपमा परिवर्तन गर्न सकिने देखिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस