भारतीय विदेश सचिवको नेपाल भ्रमणले देखाएको नयाँ बाटो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय विदेश सचिवको नेपाल भ्रमणले देखाएको नयाँ बाटो


१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मङ्सिर ११ र १२ गते दुई दिने औपचारिक नेपाल भ्रमण गरेका छन् । उनको भ्रमण सुरु भएदेखि नेपालमा विभिन्न खाले बहस र टीकाटिप्पणी पनि भए । यस कोरोना महामारीको विषम घडीमा पनि भारतीय उच्चस्तरीय पाहुनाहरूको एकपछि अर्को कूटनीतिक भ्रमणले धेरै प्रश्नहरू जन्माएको छ ।

यसअघि भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल नेपालको भ्रमणमा आएका थिए । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत प्रत्यक्ष भेटघाट गरेका थिए । प्रधानमन्त्रीसँग भारतीय गुप्तचर विभागका कर्मचारीको यस किसिमको भेटलाई असामान्य मानिएको थियो । यो विषय निकै विवादित पनि बनेको थियो । त्यसैगरी भारतीय स्थल सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा कात्तिक १९ मा तीन दिने नेपाल भ्रमणमा आएका थिए । नेपाली सेनाबाट मानार्थ महारथीको सम्मान लिन आएका नरावणेले स्वदेश फर्किदा सकारात्मक सन्देश लिएर गएका कारण पछिल्लो समयमा नेपाल भारतबिच दुई पक्षीय वार्ताको वातावरण तयार हुन लागेको सङ्केत मिलेको थियो । नेपाल र भारतको पछिल्लो समयमा चिसिएको सम्बन्धबारे यसअघिका कैयन प्रश्नहरूको जवाफ पनि यी छिमेकी पाहुनाहरूको भ्रमणपश्चात् मिलेको देखिन्छ ।

पछिल्लो समयमा नेपाल र भारतको कूटनीतिक सम्बन्ध खस्कँदै गएको अवस्था छ । वि.सं. २०७२ सालको भूकम्पपछि नेपाल शिथिल भएर व्याकुल भएको बेला भारतले नाकाबन्दी गरेर दिएको पीडा नेपालीले सजिलै बिर्सन सकेका छैनन् । त्यसपछि नेपाली भूमि मिचेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेर नेपालको सार्वभौमसत्तामाथि धावा बालेर निम्त्याएको विवादले नेपालले भारतसँग सुमधुर सबन्ध कायम राख्न सकेको छैन । नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित कालापानी, लिपुलेक र लिम्पियाधुराका भूभागहरू अतिक्रमण गरी भारतले आफ्नो नक्सामा समेटी नयाँ नक्सा जारी गरेपश्चात् देखिएको विवाद समाधान गर्न नेपाल र भारतबिच उच्चस्तरीय कूटनीतिक वार्ता हुन सकेको छैन ।

यसैसाता परराष्ट्र सचिव भरतराज पौडेलको निम्तोमा भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गरेको भ्रमणले भने नेपाल र भारतबिच बिग्रिएको सम्बन्ध सुधार्न वार्ताको वातावरण बनाएको देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायत उच्च तहका नेतासँग भारतीय विदेश सचिव श्रृंगलाले भेटघाट गरेका छन् । सीमामा देखिएको विवाद मिलाउन द्विपक्षीय वार्ताको वातावरण बनाउनका लागि र विभिन्न विकास निर्माणका कार्यमा सहकार्य गरी अगाडी बढ्नका लागि यो भ्रमणकाबिच भएका उच्चस्तरीय भेटवार्ताले केही आशा पलाएको देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय विदेश सचिव श्रृंगलाले दुई देशको बिचमा विगत एक वर्षमा केही समस्या देखिएकोबारे आफूलाई जानकारी भएको र त्यसलाई वार्ताबाट नै समाधान गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबिच देखिएको सीमा विवाद वार्ताद्वारा समाधान गरेर नेपालले भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चाहेको सन्देश दिएका छन् ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले दुई देशको बिचमा रहेको सीमा विवाद र प्रबुद्ध समूहको प्रतिवेदनको विषयमा भारतीय विदेश सचिवसँग स्पष्ट कुरा राखेका छन् । उनले ऐतिहासिक दस्ताबेज र प्रमाणका आधारमा नेपालले सीमा विवादको समाधान गर्न चाहेको सन्देश दिएका छन् । कोभिड-१९ का महामारी रोकथाम र नियन्त्रणका लागि दुई मुलुकको बिचमा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएको छ । कोभिडको खोप बनेपछि नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन भारतले दिएको छ ।

भारतीय पक्षले पछिल्लो समयमा दुई देशबिच देखिएको नक्सा विवादका सम्बन्धमा वार्ता मार्फत राजनीतिक तहमा समाधान गर्ने जवाफ दिएका छन् । भारतले नयाँ दिल्लीमा आयोजना हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको लागि नेपाललाई निम्तो दिएको छ । परराष्ट्र मन्त्री ज्ञवाली डिसेम्बर दोस्रो साता बैठकमा सहभागी हुन दिल्ली जाने छन् । दुवै देशका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने संयुक्त कमिसनको बैठकले सबै द्विपक्षीय विषयमा छलफल गर्नेछ । परराष्ट्र मन्त्रीस्तरीय बैठकमा नक्सा विवादका सम्बन्धमा ठोस कुराकानी हुने अपेक्षा गरिएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलसँगको भेटका क्रममा समग्र दुई पक्षीय सम्बन्धबारे पुनरावलोकन भएको छ । नेपाल र भारतबिच लामो समयदेखि रहेको सांस्कृतिक र सभ्यताको सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भएको छ । विदेश सचिव श्रंगलाले भारतको बजार र अर्थतन्त्रबाट सकेसम्म बढी फाइदा लिन नेपाललाई आग्रह गरेका छन् । साथै व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, इनर्जी, संस्कृति, कृषि, लगानी लगायतका विषयमा कुराकानी भएको छ । दुई मुलुकले कनेक्टिभिटी र भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा अहिलेसम्म भएका प्रगतिहरूको समीक्षा गरेका छन् ।

भारतीय विदेश सचिवले भ्रमणका क्रममा नेपाल र भारतबिचको चिसिएको सम्बन्ध सुधार गर्ने, दुई पक्षीय हित र सहयोगको विषयमा मिलेर अगाडी बढ्ने कुरामा दिएको चासो र छलफलले दुई देशबिचको बिग्रिएको सम्बन्ध सुधार्न बाटो खुला गरेको छ । दुई देशका बिचमा हुने आगामी उच्चस्तरीय वार्तामा नेपालले देखाउने परिपक्व कूटनीतिक प्रस्तुतिले पछिल्लो समयमा देखिएको समस्या समाधानको बाटो पहिल्याउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस