प्रधानमन्त्रीलाई थाङ्नेको पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई थाङ्नेको पत्र


१६ मंसिर २०७६, सोमबार


सम्माननीय प्रधानमन्त्री ज्यू,
नमस्कार।
सर्वप्रथम हजुरकै नेतृत्वमा सरकार पुरै अवधि काम गर्छ भन्ने सन्देश दिनुभएकोमा आभारी छु। मन्त्रिपरिषद् हेरफेर गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुभएकोमा पनि हजुरलाई धन्यवाद दिन्छु।

हजुरले काम गरेर देखाउन चाहानुभएको कुरा मैले बुझेको छु। सरकारले काम गरेको देखिन स्थायी सरकार भनिने निजामती कर्मचारीहरुले इमान्दारपुर्वक खटेर काम गर्नुपर्छ। मन्त्री र राजनैतिक पदाधिकारीले त दिशानिर्देश र नेतृत्वकर्ताको भूमिका निर्वाह गर्ने मात्र हो। यति सानो कुरा हजुरले राम्रोसँग बुझनुभएको छ।

हजुरको उत्कृष्ट चाहाना एकातिर, कर्मचारीको व्यवहार र कार्यशैली अर्कोतिर भएको हुँदा दुःख लागेर यो पत्र कोरेको हुँ। सिंहदरबार र काठमाडौँ उपत्यकाका धरै उर्जाशिल कर्मचारी फुर्सदिला छन् । यो कुरा हजुरले हेक्का गर्नुभएको छैन जस्तो लागेको छ मलाई । किनभने हजुर त गाडीमा सुरक्षाकर्मीको स्कटिङ् हुइकिनुहुन्छ, बालुवाटार वा प्रधानमन्त्री कार्यालयमा आसेपासे कर्मचारीको घेराबन्दीमा पर्नुहुन्छ।

म त सामान्य निजामती कर्मचारी भएको कारणले सिंहदरबार भित्र धरै कुरा देख्छु र सुन्छु। सिंहदरबार भित्रका क्यान्टिनमा कार्यालय समयमा कर्मचारीहरु चिया र खाजा खाँदै मस्त गफिएको भेट्छु। सिंहदरबारको पश्चिम गेट, कार्यालय आउने र जाने समयमा खोलिन्छ भन्ने सुनेको छु तर अफिस छुट्टि हुने समय बेलुकाको ४ बजे भए पनि दिउँसो ३ बजे नै त्यो ढोका खोलेको, कर्मचारी ढोका खोलिएकै समय देखि बाहिरिएको देख्छु। जाडो सिजन भएकाले होला काठमाडौँ उपत्यकाका धरै कर्मचारी काम नगरी घाम तापेको देख्छु। कोही कर्मचारी हाजिर गरेर सेयर बजार तिर दौडेको देख्छु। कोही कर्मचारी बैंक भन्दै, कोही कर्मचारी संचयकोष भन्दै, कोही नागरिक लगानी कोष भन्दै, कोही हस्पिटल भन्दै यताउता दौडेको देख्छु । निजामतीको उच्च ओहोदामा र निर्णायक तहमा भएका कर्मचारी पनि बिहान लोक सेवा ट्युसन पढाउने, कार्यालय समयमा पढाउनको लागि तयारी गरिरहेको र बेलुका फेरी ट्युसननै पढाउन दौडेको देख्छु।

निजामती कर्मचारीको कहालीलाग्दो दृश्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा देखिन्छ। पहुँचवालाहरु फटाफट कमाउ वा आफूलाई पायक पर्ने अड्डामा सरुवा हुन्छन्। पहुँच नहुनेहरुले पटक–पटक धाउनुपर्छ, कर्मचारी प्रशासन शाखाका कर्मचारीको हप्काइ दप्काइ खानुपर्छ। हालै मात्रै एकजना शाखा अधिकृत साथी ६५ दिनसम्म सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर मात्र विताएछन्। भर्खरै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पोष्टिङ्ग भको छ रे। तहाँ पनि पोष्टिङ्ग हुन्थिएन् रे, यसपालि उपसचिव सहसचिवमा धरै सिट खुलेकाले बढुवाको नम्बर ल्याउन ७–८ जना बाहिरेकाले बल्लतल्ल सरुवा भएको रे।तहाँ गएको हप्ता दिन भन्दा बढी हुँदा पनि फेरी कहाँ पोष्टिङ्ग हुने भन्ने ठेगान छैन् रे। साथीले अझ सुनाउँदै थिए त्यहाँ त कसैले काम गरेको देख्दिन्, सबै गफ मात्र गर्छन्।

यो त एउटा प्रतिनिधि घटना र अभिव्यक्ति मात्र हो। सरुवाको चक्करमा मन्त्रालय धाउने र दुख झेल्ने कर्मचारी धरै छन्। यसले एकातिर कार्यालयमा बसी सेवा प्रवाह र विकास निर्माणमा संलग्न हुनपर्ने जनशक्ति व्यर्थको सरुवा चक्करमा समय व्यतित गरिरहेका छन् भने अर्को तिर तलबभत्ता सहित राज्यले पालेका ति कर्मचारीले काम नगर्दा राज्यको स्रोतसाधन नोक्सान भएको छ। धरै कर्मचारीले मानसिक रोगीको प्रमाणपत्र लिएर काठमाडौँ बस्ने बन्दोबस्त मिलाएका छन्। कर्मचारी प्रशासन शाखाकाले कर्मचारीमाथी शासन जमाइराखेका छन्।

प्रधानमन्त्री ज्यूले रेल र पानीजहाजका सपना देखिरहँदा सरकार सञ्चालनको मियोको रुपमा रहेको निजामती प्रशासनका पाटपुर्जाहरुमा खिया लागेको, स्थायी सरकारका हातहरु लल्याकलुलुक भएको देख्नुभएन कि जस्तो अनुभव मलाई भइरहेको छ। अधिकांश नवप्रवेशी निजामती कर्मचारीहरुमा काम प्रतिको उत्साह र उत्प्रेरणा मैले देख्दिँन। प्राय साथीहरु गुनासो गरेको भेट्छु।

मेरो विचारमा निजामती प्रशासन सुधारका मुख्य तीन आयाम छन्। ती हुन् तलब, सरुवा र बढुवा। सरुवा मात्रै व्यवस्थित गर्न सके निजामती प्रशासनको ८०प्रतिशत समस्या हल हुन्छ। महत्वपुर्ण कुरा त के छ भने यो काम गर्न आर्थिक स्रोत साधन चाहिँदैन, उल्टो सरुवाको चक्करमा धाउने व्यर्थ श्रम र समय कार्यालयको काममा संलग्न हुँदा राज्यको स्रोत साधनको सदुपयोग हुन्छ, निजामती प्रशासन सिस्टम अनुसार चल्न सके विकासले आफै गति लिन्छ। सुधारका अर्का दुई पाटा बढुवा र तलबलाई बरु विस्तारै हेर्दै जाउँला तर सरुवामा ढिलो नगरी एउटा पद्धतिको विकास गरौँ ।

प्रधानमन्त्री ज्यू।
अहिले उपयुक्त समय पनि छ। समायोजन सकिएको छ। नयाँ मन्त्रीज्यू नियुक्त गर्नुभएको छ। संघीय निजामती ऐन तर्जुमाको चरणमा छौँ। मौजुदा कानूनमा त सरुवा प्रणालीको बारेमा लेखिएको छ तर यहाँ कानूनमा लेखर केही हुँदो रहिन्छ। त्यसकारण मन्त्री ज्यूलाई पहिलो टास्क नै सरुवा प्रणालीलाई व्यवहारमै व्यवस्थित गर्न भन्नुस् र तपाईले पनि त्यसको प्रत्यक्ष अनुगमन गर्नुस् अनि मात्र तपाईको विकास र समृद्धिको पवित्र चाहाना पुरा हुनेछ।

तपाईको शुभचिन्तक
थाङ्ने कर्मचारी प्रेमचन्द्र अर्याल

Tags :
प्रतिक्रिया दिनुहोस