सामाजिक विवाद र द्वन्द्व  तथा द्वन्द्व व्यवस्थापन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक विवाद र द्वन्द्व  तथा द्वन्द्व व्यवस्थापन


खगेन्द्र साउद

४ असार २०७६, बुधबार


पृष्ठभूमिः
समाज विविध विचार, सोच, दृष्ट्रिकोण, मूल्य मान्यता, सँस्कृति, व्यवहार तथा फरक-फरक मत भएका मानिसहरूको साझा थलो हो । हरेक मानिस स्वभावतः फरक हुन्छ र उसको अर्को व्यक्ति, समाज, परिस्थिति र संसारलाई हेर्ने नजर नै भिन्न हुन्छ । यसैले समाजमा मानिसहरुबीच विचार, काम, तथा व्यवहारमा फरकपन पाइन्छ । यस्तो भिन्नता सामाजिक परिवेश, सिकाई, संस्कृति, प्राकृतिक मानवीय गुण तथा चरित्र आदिको कारणले गर्दा देखा पर्छ । अनेक जातजाति, भाषाभाषी, धर्म, संस्कृति, वर्ग, लिङ्ग, क्षेत्र, तथा परम्परा भएको बहुल समाजमा बहुल विचारधाराका मानिसहरूको उपस्थितिका कारण विविध स्वार्थ, आवश्यकता, माग, अपेक्षा, शक्ति, अवसर तथा पहुँच रहने भएका कारण सामाजिक विवाद तथा द्वन्द्वको सिर्जना हुन जान्छ ।

विषय प्रवेशः
विभिन्न समाजमा रहेका मानिसहरूबिच सामाजिक, आर्थिक, राजनैतिक, वातावरणीय, वैचारिक, स्रोतसाधनगत तथा विकास आवश्यकता लगायतका विविध विषयका कारणले सिर्जना हुने विग्रह, मतभिन्नता, मनमुटाब, असन्तुष्टि, असहयोग, कलह, आक्रोश, रिस, द्धेष जस्ता गतिविधिहरूलाई सामाजिक द्वन्द्व भनिन्छ । द्वन्द्व विवादको विकसित रूप हो । विवाद अल्पकालीन प्रकृतिको हुन्छ तर द्वन्द्व लामो अवधिसम्म रहन सक्छ । यसरी समाजमा विद्यमान मानिसहरूमा रहने शक्ति, पहुँच, उपलब्ध स्रोतको दोहन, विभिन्न स्वरूपका विभेद, तथा अवसहरुमा असमानता र अन्यायको महसुस हुँदा पैदा हुने असन्तुष्टि, वादविवाद, चर्का चर्की, कलह, र मानवीय तथा भौतिक क्षति भएको अवस्था सामाजिक द्वन्द्व हो । मानिसको गुण, स्वभाव, चरित्रमा रहने फरकपनका कारण द्वन्द्वको किसिम र गाम्भीरयतामा फरक पर्दछ ।

द्वन्द्वका विशेषता
– दुई वा दुई भन्दा बढी व्यक्ति र पक्षहरूको संलग्नता रहन्छ ।
– व्यक्ति वा समूहहरूबिचको वैचारिक मतभेद, असन्तुष्टि, मनमुटाब, निहित स्वार्थ र व्यवहारको कारण सिर्जना हुन्छ ।
– समाजमा Power, Authority, Resources, and Opportunities को समन्यायिक वितरण नहुँदा उत्पन्न हुन्छ।
– यो सङ्घर्षको अवस्था हो ।
– सामाजिक मेलमिलाप, सहिष्णुता, र समझदारी, आवश्यक समन्वय र अन्तरसम्बन्ध कायम नहुँदा प्रकट हुन्छ।
– समाजको अभिन्न पक्ष हो ।
– यो निरन्तर प्रक्रिया हो ।
– द्वन्द्वरहित समाज सम्भव हुँदैन ।
– द्वन्द्व सधैँ नकारात्मक हुँदैन । यसको समयमै व्यवस्थापन गर्न सके यसबाट विभिन्न लाभ हासिल गर्न सकिन्छ ।

द्वन्द्वका किसिमः
द्वन्द्व विभिन्न कारणले हुने भएकोले यो बहुआयामिक र जटील प्रकृतिको हुन्छ । यसका किसिम अन्तर्गत देहायका द्वन्द्वहरु पर्दछन् ।
– व्यक्तिभित्रको र अन्तरवैयक्तिक द्वन्द्व (Intra-personal Conflict ):   व्यक्तिको लक्ष्य र भूमिकामा उचित सन्तुलन नमिल्दा स्वयम्‌भित्र सिर्जना हुने द्वन्द्व ।
– अन्तरव्यक्ति द्वन्द्व (Inter-personal Conflict) : दुई वा दुई भन्दा बढी व्यक्तिहरूबिचमा हुने द्वन्द्व ।
– अन्तरसमूह द्वन्द्व (Inter-Group Conflict) : व्यक्तिका विभिन्न समूहहरुबीच सिर्जना हुने द्वन्द्व ।
– अन्तरसंगठन द्वन्द्व (Intra-organizational Conflict) :  सङ्गठनका विभिन्न विभाग, शाखा, तथा एकाइबीच प्रकट हुने द्वन्द्व ।

सामाजिक विवाद तथा द्वन्द्वका कारणहरुः
सामाजिक द्धन्द्धका विभिन्न कारणहरू हुन्छन् । यो कुनै एक खास कारण मात्र हुँदैन । समाज, परिवेश, स्वार्थ, असन्तुष्टि, मतभेद लगायतका विविध कुराले गर्दा सामाजिक द्धन्द्ध देखा पर्छ । जसका कारणहरू देहायबमोजिम समूहीकृत गर्न सकिन्छ ।
मनोवैज्ञानिक कारणहरुः
-फरक सोच, मत तथा विचारधारा ।
– कुण्ठा, निराशा, डर, त्रास तथा असुरक्षाको अनुभूति ।
– विभेद भएको महसुस ।
– नकारात्मक सोच र शङ्का ।
– असफलता ।
– पारिवारिक वातावरण, अधिक नियन्त्रण, निर्णयमा एकाधिकार र स्वतन्त्रताको कमी ।
सामाजिक-सांस्कृतिक तथा धार्मिक कारणहरुः
– समाजमा विद्यमान मूल्य मान्यता, परम्परा, सोच र जात, भाषा, धर्म आदिका आधारमा हुने विभेद।
– धार्मिक कट्टरता, अतिवाद, धर्मको राजनीतिकरण ।
– जातीय, क्षेत्रीय र वर्गीय विभेद ।
– स्रोत साधन विनियोजनमा असमानता र सीमान्तीकरण ।
– सामाजिक कार्यमा सबैको समान सहभागिताको अवसरको कमी ।
– स्थानीय योजना तर्जुमा, कार्यान्वयन, तथा विकासका लाभको असमान वितरण ।
-स्रोत साधनको उपभोग, वितरण तथा लाभको बाँडफाँडमा समन्यायिकता र पहुँच नहुँदा ।
– वातावरणीय अन्याय भएमा ।
-सामाजिक हिंसा, शोषण, रुढीवादी सोच र कुप्रथा ।
आर्थिक कारणहरुः
– विद्यमान गरिबी, न्यून आयस्तर र पछौटेपन ।
– उत्पादनमा कमी, भोकमरी ।
– न्यून रोजगारीका अवसरहरू ।
– आर्थिक अनियमितता, घुसखोरी तथा भ्रष्‍टाचार ।
राजनीतिक कारणहरुः
– फरक राजनीतिक आस्था ।
– राजनीतिक स्वार्थ र हस्तक्षेप ।
– शक्तिको दम्भ ।
– खुला राजनीतिक संस्कृतिको कमी ।
– नागरिक चेतनाको अभाव ।
– स्रोतको दुरुपयोग ।

सामाजिक विवाद तथा द्वन्द्वका असर / प्रभाव
समाजमा देखा पर्ने द्वन्द्वले समाजको विकासमा सधैँ नकारात्मक नतिजा मात्र ल्याउँदैन । द्वन्द्वलाई समयमै सम्बोधन गर्न सके समाजमा गतिशीलता, सिर्जनशीलता र उत्पादकत्व अभिवृद्धि गरी सकारात्मक प्रभाव पनि पार्दछ ।
सकारात्मक प्रभाव
द्वन्द्वतर व्यक्ति र समूहहरूले एक(अर्काको माग, सोच, निहित स्वार्थ, व्यवहार तथा एक अर्कालाई नजिकबाट बुझ्ने मौका पाउँछन् ।
– नवीनतम सोच र चिन्तनको विकास गराउँछ ।
– सामाजिक परिवर्तन तथा सामाजिक रूपान्तरणमा सघाउ पुर्‍याउँछ ।

– द्धन्द्धतर व्यक्ति तथा समूहका मानिसहरूमा अन्तरनिहित कुण्ठा, भावना र आकांक्षाको खुलासा गर्छ ।
– सामाजिक समस्या तथा विकृतिको पहिचान र निकासको बाटो देखाउँछ ।
– आर्थिक, सामाजिक तथा विविध कारणले पिछडिएका, राज्यको मूलभावका समाहित हुन नसकेका, बहिष्करण र सीमान्तीकरणमा परेका वर्ग समुदायको आवाज तथा मागको सम्बोधन गर्छ ।
– विकासमा सहकार्यता, समझदारी र सार्थक जनसहभागिताको आधार तयार गर्छ ।
– आफ्नो हक अधिकारप्रति सजग बनाउँदै नागरिक चेतनाको अभिवृद्धि हुन जान्छ ।
– नेतृत्व गर्ने क्षमताको विकास गर्छ ।
– स्रोत साधनको वितरण तथा उपभोगमा समन्यायको सुनिश्चितताको माग गर्छ ।
– अधिकारवादी सोचको विकास गराउँछ ।
– सामाजिक विभेद, कुरीति, कुप्रथा लगायतका समाजको विकास र प्रगतिको बाधकहरुको अन्त्य गर्छ ।
– सामाजिक न्याय तथा समानता कायम गर्छ ।
– उन्नत, विकसित तथा आधुनिक सोच र कार्यशैली भएको समाजको स्थापना गर्छ ।
 नकारात्मक प्रभाव
– व्यक्ति र समूहहरुबीच मनमुटाब तथा मनोमानिल्य भई सम्बन्ध बिग्रन्छ ।
– सामाजिक समझदारी, सहिष्णुता, सहकार्य र एकता कमजोर हुन जान्छ ।
– मानिसहरूबिच अविश्वास, शङ्का र द्धैष पैदा हुन्छ।
– समाजमा शान्ति सुरक्षा र सद्भाव बिग्रन्छ । सुरक्षा चुनौती जटिल हुँदै जान्छ ।
– हत्या, हिंसा, बलात्कार जस्ता सामाजिक हिंसालाई प्रोत्साहन गर्छ।
– सामाजिक विकास, उन्नयन र प्रगतिमा बाधा पर्न जान्छ ।
– विकास गतिविधिहरूमा अवरोध सिर्जना हुन गई विकासको लागतलाई बढाइ दिन्छ ।
– मुलुकको अन्तर्राष्ट्रिय छवि बिग्रन्छ ।
– द्धन्द्धबाट भएको क्षति व्यहोर्न राज्यको आर्थिक भार बढ्छ।
– स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउने वातावरण बिथोलिन्छ।
– गरिब, असहाय तथा राज्यको मूलधारमा समाहित हुन नसकेका वर्ग, क्षेत्र झन्‌झन् सीमान्तीकृत हुँदै जान्छन्।
– मुलुकको जनसङ्ख्या विस्थापित हुन सक्छ ।
– बाह्य हस्तक्षेप बढ्न गई मुलुकको सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता र स्वाभिमानमा खतरा निम्तिन सक्छ।
– सार्वजनिक सेवा वितरणमा असहजता र कठिनाइ उत्पन्न हुन जान्छ ।

द्वन्द्वको व्यवस्थापनका शैली
– पन्छाउने शैली (Avoidence)
– समायोजन शैली (Accommodate)
– सहकार्य शैली (Colaborating)
– प्रतिस्पर्धी शैली (Competing)
– तालमेल शैली (Compromising)

द्वन्द्व व्यवस्थापनमा विभिन्न क्षेत्रको भूमिकाः
– नागरिक समाज तथा समाजका अगुवाहरु
– राजनैतिक नेतृत्व वर्ग
– निजी क्षेत्र
– अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकाय र विभिन्न मध्यस्थकर्ताहरू
– धार्मिक तथा जातीय समुदायहरू
– सार्वजनिक प्रशासन

टुङ्‌गो
शासन प्रणालीमा समावेशी ताको कमी, सार्वजनिक प्रशासनको कार्यक्षमता तथा कार्यशैली कमजोर भएमा, सेवा प्रवाहमा कमी कमजोरी र विभेद भएमा, विकास गतिविधिहरू तथा योजना उत्पादन र कार्यान्वयन तथा लाभको उपभोगमा सबैको समान पहुँच र हिस्सा नभएमा, पुरातन सोचलाई प्रतिस्थापन गर्न नसकेमा, मुलुकको शिक्षा प्रणाली अव्यावहारिक भएमा, नैतिक शिक्षामा ह्रास आएमा र राज्यले विभेदकारी नीतिहरू लागू गरेमा पनि सामाजिक द्वन्द्व प्रकट हुन जान्छ ।

राज्यको सामाजिक आर्थिक विकास लक्ष्य र जनताका विकास आकाङ्क्षाहरूबिच तालमेल नमिल्दा द्वन्द्वको सिर्जना हुन सक्छ । यस्तै सरकार, नीति निर्माता तथा सरोकारवाला पक्षहरूले मुलुकको विकास योजना कोर्दै गर्दा जनताका वास्तविक माग, मुलुकको विद्यमान आर्थिक हैसियत, स्रोतको उपलब्धता, तिनको उपयोग गर्ने क्षमता र कार्यान्वयन गर्ने संयन्त्रको मिहिन विश्लेषण, सघन अध्ययन तथा छलफलविना विकास र समृद्धिको छलाङ मार्ने कागजी खाकाले जनतामा वितृष्णा र निराशा उत्पन्न हुन जान्छ ।

त्यसैले सामाजिक विवाद तथा द्वन्द्वको न्यूनिकरण र व्यवस्थापनको लागि मुलुकको शासन प्रशासन तथा सरकारको कार्यशैली र व्यवहारलाई जनता केन्द्रित, लोकतान्त्रिक तथा विधि र पद्धतिसम्मत बनाउनु पर्छ । राज्यले निर्माण गर्ने योजना, सञ्चालन गर्ने विकास क्रियाकलापहरूमा सबै जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग तथा क्षेत्रका आमजनताको सार्थक र समन्यायिक सहभागिताको सुनिश्चितता कायम गर्ने खालको नीति निर्माण गरी शासन र प्रशासनबाट सिर्जित
लाभको समन्यायिक तवरले सम्पूर्ण वर्ग, समुदाय र क्षेत्रका आमजनतामा हिस्सा लगाउन सक्नु पर्छ । विकास निर्माण गर्दा जनताको वास्तविक विकास चाहना, राज्यको आर्थिक सक्षमता, खर्च क्षमता, वातावरणीय पक्ष लगायतका विषयलाई ध्यान दिई राज्यका विकास नीति, कानुन, कार्यक्रम तथा क्रियाकलापहरू दीगो र जनताको हितमा रहे नरहेको निर्क्योल गरी विकास गतिविधिहरू अघि बढाउनु पर्छ ।

साथै राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाई समाजमा व्याप्त सामाजिक अपराध, हिंसा, तथा अवैधानिक गतिविधिको नियन्त्रण, र असन्तुष्ट पक्षहरूको समयमै उचित सम्बोधन गरी मुलुकमा शान्ति सुव्यवस्थाको अनुभूति आमजनतामा गराउन सक्नु पर्छ । यसो गर्न सके द्वन्द्वको सम्भावना न्यून हुने र विद्यमान द्वन्द्वका विभिन्न स्वरूपहरूको व्यवस्थापन र समाधान हुन गई शान्ति सुव्यवस्था, विकास तथा मुलुकले लिएको “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई मूर्त रूप दिन सकिन्छ ।

र यो पनि , 

नेपालमा सार्वजनिक सेवा प्रवाह तथा नागरिक बडापत्र

नेपालमा व्यवस्थापन सूचना प्रणाली

अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व

Tags :
प्रतिक्रिया दिनुहोस