विचारधारा, नेतृत्व र सपना « प्रशासन
prasaLogo
३१ श्रावण २०७५, बिहीबार

विचारधारा, नेतृत्व र सपना


प्रकाशित मिति : 16 August, 2018 7:00 am

विचार Bhagwat Khanal

कुनै समाजको एउटा समूहले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक मूल्य सम्बन्धमा जुन धारणा बनाउँछ, त्यही नै त्यस समाज वा समूहको साझा विचारधारा बन्दछ । विचारधाराको तात्पर्य वास्तवमा विचारहरूको अमूर्त अनुमान, अन्दाज वा कल्पना (स्पेक्यूलेसन ) र चिन्तन (थिंकिंग) को समष्टि रूप हो । पहिले पहिले यस शब्दको प्रयोग विचारहरूको सिद्धान्त (थ्यौरी अप आईडिया) लाई इंगित गर्न गरिन्थ्यो । विचारधारालाई जब राजनीतिक जामा पहिराउन थालियो यसले आफ्नो तटस्थता र निष्पक्षता गुमाउँदै गयो । आधुनिक समयमा विचारधारा धारणा वा दृष्टिकोणसँग मात्र सम्बन्धित नभएर विचारहरूको स्वार्थ वा हितवद्ध प्रणालीको रूपमा विकास हुँदै गएको छ ।

अहिलेको समाजको प्रत्येक व्यक्ति विचारधाराहरूको खण्ड खण्डमा विभाजित भएको हुँदा विचारधारा मानवको बौद्धिक विकासको बाधकको रूपमा रहेको छ । मानिस स्वतन्त्र रूपमा नभई स्थापित विचारधाराको कुनै धारलाई समातेर आफ्नो बुद्धिलाई त्यसैको परिधिमा सीमित गर्न बाध्य भएको छ । स्थापित विचारधारात्मक मूलप्रवाहभन्दा बाहिर जाने व्यक्तिको सङ्गठित स्वरूप नहुने हुँदा त्यस्तो व्यक्ति ठुलै विद्वान भए पनि ऊ बुद्धि विलासको विषय त बन्न सक्ला तर राजनीतिक प्रवाह बन्न सक्दैन ।

आज विचारधाराको बन्धन यस्तो भएको छ, मानिस कुनै कुरा अवास्तविक, असत्य, भ्रामक, कपोलकल्पित र पूर्वाग्रह प्रेरित भएको थाहा पाउँदा पाउँदै पनि त्यही विचारको पछि लाग्न बाध्य छ । राजनीतिक व्यक्ति त्यस्तै गरी सोच्न बाध्य छ, जस्तो गरी समाजको उसको नजिकको विचार राख्ने समूहले सोच्दछ । विचारधाराको बन्धनले गर्दा स्थापित धाराभन्दा बाहिर बग्न खोज्ने व्यक्ति राजनीतिक समूहमा अराजकतावादी कहलिन्छ र केही सिप नलागेपछि आफ्ना प्रबल र उग्र विचार साहित्यिक छन्दमा अभिव्यक्त गर्न बाध्य हुन्छ । साहित्यिक चेतनाको पहुँच समाजको सीमित र सुसुप्त बौद्धिक वर्गसम्म मात्र हुन्छ, यसले विचारधाराको रूप ग्रहण गर्न सम्भव छैन र

विचारको धाराले नजानिँदो गरी सारा समाजलाई यथास्थितिवादी बनाएको छ । वर्षौँदेखि जेजस्ता विचारधाराहरूको विकास भएको छ, आफ्नो आफ्नो निकटताको आधारमा मानिसहरू त्यसैमा सीमित हुँदै गएको पाइन्छ । नेपालको हालको राजनीतिक विचारधाराको प्रवाह हेर्दा उदार लोकतान्त्रिक समूह, वामपन्थी समूह र हाल पुरानो साख गुमाए पनि समाजमा बाँकी नै रहेको सानो तर प्रखर पुरातन पन्थी राजतन्त्रवादी समूह अस्तित्वमा रहेको देखिन्छ । भौगोलिक अवस्थित, जातीय एवं सामुदायिक अवस्था र अन्य जुनसुकै कारणले कतै कसैले आफ्नो छुट्टै समूह बनाएको भए तापनि ती साना विचार समूह मूल रूपमा माथि उल्लेख भएका तीन ओटा धारामध्ये एउटाको नजिक छन् ।

विचार समूहहरू अलग अलग धाराहरूमा विभाजित हुँदै आआफ्नो शैलीमा प्रवाहित हुन्छन् । यसरी प्रवाह हुने धारालाई एउटा नदीको रूपमा विकास गर्न र त्यसलाई सङ्गठित, स्थिर, दृढ, मजबुत, गतिशील र अचन्चल बनाउन अगुवाहरू अगाडि आउँछन् । जब विचार समूह उन्नत, प्रबल र विस्तारित हुँदै जान्छ, त्यसलाई आफ्नो आस्था बनाउने र आबद्ध हुने व्यक्तिहरूको सङ्ख्या पनि वृद्धि हुँदै जान्छ । यस अवस्थामा त्यस धाराप्रवाहलाई परिचालन, सम्वाहन, व्यवस्थापन र नियन्त्रण गर्न एउटा मूल नेतृत्व वा नेतृत्व समूहको आवश्यकता पर्दछ ।

औपचारिक रूपमा नेतृत्व समूहको वर्चस्व वा नियन्त्रणमा विचार समूह परिचालन हुन्छ भन्ने चलन छ । तर राजनीतिक समूहको परिचालन, व्यवस्थापन र नियन्त्रणमा दुई प्रकारको अवस्था देखिन्छ । एउटा हो दलको मूल नेतृत्व नाम मात्रको वा आलंकारिक रूपमा रही केन्द्रीय नेतृत्वको कुनै चलाख व्यक्ति वा सानो व्यक्ति समूहबाट दलका हरेक गतिविधि परिचालन हुनु, र अर्को हो केन्द्रीय नेतृत्वमा रहेको प्रमुख व्यक्तिको योग्यता, क्षमता, प्रभाव, गतिशीलता, व्यक्तित्व, नेतृत्व क्षमता र सिप वा यदाकदा धुत्र्याई समेतको कारण समग्र दलको बागडोर उसैको हातमा सीमित हुनु । यस्तो अवस्थामा नेतृत्वको बोली नै दलको बोली, उसको विचार नै दलको विचार, उसको धारणा नै दलको धारणा र उसको आदेश नै अन्तिम सत्यको रूपमा स्थापित हुँदै जान्छ र यो स्थितिमा दलका एक से एक बुद्धिजीवीहरू नेतृत्वको भाष्यकारको रूपमा परिणत हुन्छन् । बुद्धिजीवीको समय आफ्नो विवेक र अन्तरात्माको आवाजबाट हैन नेताको बचाउ, प्रशंसा र विचारको स्थापना गर्दै बित्न थाल्छ । उसका आफ्ना मौलिक सोच, धारणा, निष्पक्ष विश्लेषण क्षमता र अक्कलको विसर्जन हुन्छ ।

पहिलो विश्व युद्धपछि इटालीमा फासिस्ट र जर्मनीमा नाजी नेतृत्वले जनताको स्थापित परिपाटीप्रतिको आक्रोश र निराशाको फाइदा उठाएका थिए । हिटलरको एक आदेशमा लाखौँ जर्मन जनता ज्यान फाल्न किन् चित मान्दैनथे भनेँ मुसोलिनीको एक झलक पाउन र उसको वाणी सुन्न हजारौँ लाखौँ जनता लालायित हुन्थे । तर यो शासन न स्थिर थियो, न देश र जनताको हितमा थियो, न त कुनै बौद्धिक र दूरदर्शी तरिकाले गरिएको थियो !

केही समयको लागि जनता मज्जाले बेवकुफ बने । यस्तो अवस्थामा जस्तो परिणाम आउनु अवश्यम्भावी थियो त्यस्तै आयो, त्यो थियो महाविनास । साम्यवादी पार्टीको विकास सुरुमा सामूहिक र जनकल्याणको भावनाले गरिन्छ, तर वलिष्ठ, चलाख र प्राधिकारवादी नेतृत्वको स्थापना भएपछि सारा अधिकारहरू त्यही व्यक्तिको पोल्टामा जान्छन् । पार्टी स्थापना गर्न र विचारधाराको श्री वृद्धि एवं उन्नतिको लागि ठुलो योगदान गरेका योद्धा र बुद्धिजीवीहरू नेतृत्वको लाचार अनुयायी हुन बाध्य हुन्छन् ।

सोभियत कालीन लेनिन, स्टालीन, चीनका माओत्सेतुङ यसका उदाहरण हुन् । उत्तर कोरियामा त जनवादी क्रान्ति गरेर स्थापना गरिएको गणतन्त्रमा एक जना व्यक्ति समस्त राष्ट्र हुने परम्परा नै बसिसक्यो । अन्यायबाट मुक्त भए भनिएका जनतालाई अव त जनता भनेको के हो, नागरिक अधिकार के हो, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिको अस्तित्व के हो भन्ने पनि पत्तो छैन ।

उदारवाद र लोकतन्त्रमा विश्वास गर्ने भनिएको भारतीय राष्ट्रिय काँग्रेस इन्दिरा गान्धीको समयमा उनको आदेश तामेल गर्ने सङ्गठनमा परिणत भयो । हालका प्रधानमन्त्री मोदीले अहिले जताततै आफैलाई मात्र देख्दछन्, गीतामा सर्व धर्म परित्याज्य मामेकम् शरण ब्रज भनेजस्तै मोदीकै शरणमा जाने बाहेक भाजपामा अरू कसैको खैरियत छैन । उदारवाद, बहुलवाद र लोकतन्त्रमा विश्वास गर्ने सिद्धान्त बोकेको नेपाली काँग्रेसमा केही व्यक्तिले नेतृत्वसँग सिउरी खेल्ने प्रयत्न गरे पनि खासै केही गर्न सकेका छैनन् । स्थापित नेतृत्वको गल्तीको परिणाम भोग्न पार्टी बाध्य छ र आस लाग्दा युवा नेता नेतृत्वको ढाकछोप गर्ने बौद्धिक ढाकिया र मूढमतिको महाभाष्यकार भएर बसेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा ए कसे एक पुराना घाघडान कामरेडहरु छन् तर उनीहरूको आवाज कतै सुनिँदैन । बोलिहाले पनि बितल नखाने र सम्बन्धित कानसम्म नपुग्ने गरी मधुरो बोली बोल्दछन् । एउटा मूल सूर्यको वरिपरि वृहस्पति, पृथ्वी, मङ्गल आदि सबै घुमिरहेको प्रतीत हुन्छ ।

भिजन भएको नेतालाई स्वप्नद्रष्टा भन्ने गरिन्छ । वासिङ्टन, लिङ्कन, गान्धी, मन्डेला, नेहरु र विपी स्वप्नद्रष्टा थिए । हाम्रा वर्तमान प्रधानमन्त्री पनि स्वप्नद्रष्टा नै हो । उहाँले आफ्नो जवानी जेलको कालकोठरी र गोलघरमा बिताउनु भयो । केपी ओलीले खाऊँ खाऊँ लाऊँ लाऊँ भन्ने र पढ्ने उमेर यातनामय अवस्थामा बिताउनु भएको छ । यस्तो त्याग र सङ्घर्षका प्रतीकले नेपाल र नेपालीको स्वर्णिम भविष्य, समृद्धि र सुखको सपना देख्नु स्वाभाविक हो । नयाँ नेपालको राज्य सञ्चालनको विगत पच्चिस तीस वर्षको समयमा उहाँले जुन तरङ्ग ल्याउनु भएको छ त्यो वर्णनीय छ ।

तर उहाँको यही सपनालाई केही मानिसहरूले निरर्थक लफ्फाजी भनेर उपेक्षा गरेको पाइन्छ । हामी लोकतन्त्रमा छौँ । प्रधानमन्त्रीलाई नेपाल र नेपाली जनताको कल्याणको लागि सपना देख्ने जति अधिकार छ त्यत्ति नै उहाँको त्यो सपनालाई अस्वाभाविक र असामयिक भनेर प्रतिवाद र बहस गर्ने अधिकार नेपाली नागरिकलाई छ । अझ साँच्चै भन्ने हो भनेँ प्रधानमन्त्री भएपछि उहाँका अधिकारहरू कर्तव्यमा रूपान्तरण भएका छन् र जनता उहाँलाई प्रश्न सोध्ने , आलोचना गर्ने र सुझाव दिने अधिकारले लैस भएका छन् ।

जनता सत्तामा पुग्ने सम्भावना प्रचुर रहेको नेतालाई धेरै सुन्दा रहेछन् । उसको भनाइलाई मान्यता दिँदा रहेछन्, उसका सपनालाई चाख मानेर गुन्दा रहेछन् र भविष्यको चम्किलो ताराको रूपमा हेर्दा रहेछन् । तर त्यही नेता जब साँच्चै सत्तामा पुग्दछ, जनताले सपना, कुरा र लफ्फाजी हैन काम खोज्दा रहेछन् । वास्तविक नेताले जनता कति निर्मम हुन्छन् भन्ने बुझ्नु आवश्यक छ । अमुक नेताले सत्ताको बागडोर सम्भालेको हेर्न वर्षौँ कुर्न सक्ने रहेछन्, तर उसले बागडोर संभालेपछि उसलाई उचित र मनासिब समय दिने धैर्य पनि हुँदो रहेनछ जनतामा । यही कुरालाई मनन गर्दै सत्तामा पुगेपछि परिस्थितिलाई सम्भाल्नु पर्दो रहेछ । पदीय अवस्थिति अनुसार जन अपेक्षा भिन्न हुँदो रहेछ भन्ने कुरा बुझ्न चुक्ने सुविधा हुँदो रहेनछ नेतालाई । हाम्रो प्रधानमन्त्री यदि चुक्नु भएको हो भनेँ यहीँनेर चुक्नु भयो ।

केही गरूँ भन्ने भावनासाथ धेरै अभिलाषा, चाहना र लोकप्रियताको लालसा लिएको नेता जब वास्तविक रूपमा आफ्नो अभिष्ठ पदमा पुग्दछ, उसलाई धेरै कुरा थोरै समयमा गर्ने हुटहुटी हुन्छ । तर जब यथार्थ परिस्थिति निराशापूर्ण र तत्कालको लागि असम्भव प्रायः देखिन्छ, नेतामा वर्तमानलाई छाडेर भविष्यको उडान भर्ने प्रवृत्ति हाबी हुन्छ । दार्शनिक कार्ल मेनहाइम भन्छन्, मौजुदा यथार्थ अवस्थामा आफ्नो चाहनालाई वास्तविकतामा परिणत गर्न नसक्ने आभास पाएपछि मानिस भविष्यको समृद्धिको उडान भर्न थाल्दछ । उनी अगाडि भन्छन् तर ती सपनाहरू कहिल्यै पनि पूरा हुँदैनन् भनेर अनुमान गर्नु गलत हुन्छ ।++

स्वप्नचिन्तनको अवस्थामा व्यक्तिले त्यस्ता उपलब्धिको चाहना गर्न थाल्दछ जो ऊ निवास गरिरहेको समाज र बाँचिरहेको समयमा सम्भव हुँदैन । स्वप्न चिन्तन यति सुखदायी र मनोरम हुन्छ, सपना देख्नेलाई आफ्नो चिन्तनबारे अरू मानिसले के विचार गरिरहेका होलान् भन्ने मतलब नै हुँदैन । सङ्घर्षको लामो इतिहास भएको नेताले देश र जनताको लागि केही गर्न सकियोस र भविष्यमा सम्झन लायक योगदान गर्न पाइयोस भनी कल्पना गर्नु अस्वाभाविक हैन । तर आफ्नो दैलै मुनिका समस्यालाई सम्बोधन नै नगरी सुदूर सपनामा रमाएको देख्दा विरोधी त के हितैषीहरु पनि निराश हुन सक्छन् भन्ने कुरा अनुभवी नेताले होस् राख्नु पर्दछ । अतः द्रष्टा र अविस्मरणीय राजनेता बन्न चाहने नेतृत्वले वर्तमान समस्या र जनताका तत्काल राहतका मामिलाहरूलाई प्राथमिक रूपमा सम्बोधन गर्दै भविष्यको समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्नेतर्फ उन्मुख हुनु श्रेयस्कर हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस