शिक्षण संस्थाबारे वास्तु टिप्स « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

शिक्षण संस्थाबारे वास्तु टिप्स


भीमप्रसाद गुरागाँई

९ असार २०७५, शनिबार


शताब्दियौं पहिले गुरुकुलमा ऋषिमुनिहरूले वास्तुशास्त्रको प्रयोग गरेका कुरा वैदिक र पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

गुरुकुलमा वास्तुशास्त्रको प्रयोग गरिनुको कारण थियो– शिष्य (विद्यार्थी)हरूलाई अनुकूल वातावरण सिर्जना गर्नु ।

कक्षाकोठा हल, पुस्तकालय, खेल मैदान, शारीरिक सुसंगठन कक्ष, चमेना गृहलगायत कुन दिशा तथा कोणमा बनाउनेबारे वास्तुशास्त्रमा उल्लेख हुन्छ ।

शैक्षिक संस्थामा वास्तुशास्त्रको उपयुक्त प्रयोग गरे विद्यार्थी जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्षम हुनुसँगै सहयोगी, शान्त र आनन्दित हुन्छन् ।

त्यसकारण वास्तुशास्त्रको उचित प्रयोग र व्यवस्थापन गर्नु आवश्यक हुन्छ । यसले विद्यार्थी र शिक्षकहरूमा सकारात्मक ऊर्जा पनि सृजना हुन्छ ।

शिक्षण संस्थाका लागि केही वास्तु टिप्सहरू
१. शैक्षिक संस्थानहरूको भवनहरू पूर्व वा उत्तर दिशामा मोहडा फर्किएको शुभ हुन्छ ।

२. कक्षा कोठामा विद्यार्थीहरूलाई पूर्व वा उत्तर दिशामा फर्काएर राख्नुपर्छ । बोर्डलाई पूर्व वा उत्तरतिरको भित्तामा राख्नुपर्छ ।

३. शैक्षिक संस्थानको ईशान कोणमा मन्दिर वा पूजाकोठा भएमा शुभ हुन्छ ।

४. भूमिगत पानीको स्रोतका लागि स्थान पूर्वोत्तर वा पूर्व दिशा हो । ओभरहेड ट्यांक नैऋत्य पश्चिम वा वायव्यमा हुनुपर्छ ।

५. शैक्षिक संस्थानका भवनहरूमा लिफ्ट वा सिढी दक्षिण–पश्चिम, दक्षिण–पूर्व वा उत्तर–पश्चिम दिशामा शुभ हुन्छ ।

६. शैक्षिक संस्थानका भवनहरुमा सिढी उक्लिदा प्रदक्षिणा घडीको दिशामा घुमेर उक्लिने हुनुपर्छ ।

७. शैक्षिक संस्थानका भवनहरूमा चमेना गृह वा अन्य कुनै वितरण कक्ष उत्तर–पश्चिम दिशामा शुभ हुन्छ ।

८. शैक्षिक संस्थानका भवनहरूमा शौचालय र स्नानगृह उत्तर–पश्चिम वा दक्षिण–पश्चिम दिशामा शुभ हुन्छ ।

९. बागबगैंचा र पार्क उत्तर–पश्चिम वा दक्षिण– पश्चिम दिशामा हुनुपर्छ ।

१०. शिक्षक तथा प्राध्यापकहरूले पूर्व वा उत्तर दिशामा रहेर अध्यापन गराउनुपर्छ ।

११. विश्राम तथा आगन्तुक पर्खने कक्ष ईशान वा उत्तर दिशामा हुनुपर्छ ।

१२. कम्प्युटर, सूचना प्रविधि तथा संचार कक्ष ईशान तथा वायव्य कोणमा हुनुपर्छ ।

१३. शारीरिक सुसंगठन तथा योग व्यायाम कक्ष ईशान तथा वायव्य कोणमा हुनुपर्छ ।

१४. प्रशासनिक, अध्ययन, निर्देशक तथा कार्यालय प्रमुखको कक्ष नैऋत्य कोणमा पूर्व या उत्तर फर्किएको हुनुपर्छ ।

१५. आन्तरिक प्रशासन तथा लेखा शाखा ईशान कोणमा र काम सम्पादन गर्दा पूर्वतर्फ फर्किएर गर्नुपर्छ ।

१६. चिया चमेना कक्ष वायव्य कोणमा हुनुपर्छ ।

१७. खोज, अनुसन्धान तथा प्रविधि विकासका काम गर्ने ठाउँ आग्नेय कोणमा हुनुपर्छ ।

१८. जीवविज्ञान र विकास निर्माणका लागि प्रयोगशाला नैऋत्य कोणमा हुनुपर्छ ।

१९. शिक्षक कर्मचारी तथा विद्यार्थीहरूको लागि आवास गृह नैऋत्य कोणमा हुनुपर्छ ।

२०. गह्रौं यन्त्र तथा औजारहरू राख्ने ठाउँ वायव्य, पश्चिम र नैऋत्य कोणमा हुनुपर्छ ।

२१. विद्युतीय उपकरण, उत्पादन, प्रसारण र कक्ष नैऋत्य वा वायव्य कोणमा हुनुपर्छ ।

२२. कार्यकक्ष वा कक्षाकोठाहरू बीचमा पर्नु अशुभ हुन्छ ।

२३. पुस्तकालय र दराजहरू वायव्य कोणमा राख्नुपर्छ ।

२४. सभाहल ईशान कोणमा र मुख्यढोका पूर्व वा उत्तरतर्फ फर्किएको शुभ हुन्छ ।

२५. खेलकुद मैदान पूर्व दिशामा निर्माण गर्नुपर्छ ।

२६. विद्यलायको फोहोर व्यवस्थापन तथा शौचालय दक्षिण, पश्चिम तथा उत्तर पश्चिम दिशामा उपर्युक्त हुन्छ ।

र यो पनि ,

यसरी बनाऔं घरलाई वास्तुदोषमुक्त

 

Tags :
प्रतिक्रिया दिनुहोस