हरियाली जिल्ला, लालीगुराँस मार्ग र शैपाल « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

हरियाली जिल्ला, लालीगुराँस मार्ग र शैपाल


२० माघ २०७४, शनिबार


भीमदत्त पन्त राजमार्ग । सुदूर पश्चिममा महेन्द्र राजमार्गपछि बढी चहलपहल हुने राजमार्ग हो । यही राजमार्गले मलाई यो माघको चिसोमा डडेलधुरा पुर्याउनेछ । धनगढीबाट डडेलधुरा पुग्ने यो १ सय ३५ किलोमिटर लामो बाटो निकै सुन्दर छ । कतै सलल बगेको, कतै बान्की परेको, कतै भीरैभीरमा कुदिएको, कतै उकाली ओरालीमा ढालिएको ।

आठ वर्षअघि डडेलधुरा प्रवेश गर्ने क्रममा जिल्लाको प्रवेशद्वारमा “हरियाली जिल्ला डडेलधुरामा यहाँलाई स्वागत छ” लेखिएको साइनबोर्ड देख्दा डडेलधुरा वनजङ्गलको क्षेत्रमा अग्रपंक्तिमा उभिएको भान भएको थियो ।

नारा बनाउदैमा यथार्थ हुने त होईन । त्यसो हुँदो हो त नेपालले अहिलेसम्म निकै प्रगति गरिसकेको हुन्थ्यो । नेताहरु कसैले नेपाललाई स्वीट्जरल्याण्ड, कसैले सिंगापुर बनाइदिने नारा बारम्बार दिएकै हुन् । तर खै अहिलेसम्म त्यसो भएको ? केन्द्रीय स्तरका नारामा खासै दम नदेखिएतापनि स्थानीय नारामा केही छ कि ? बाँकी बाटो यही नाराको परीक्षण गर्नुपर्ने भयो ।

“हरियो वन नेपालको धन ।”

बाल्यकालमा निकै सुनेको, पाठ्यपुस्तकमा बारम्बार पढेको र केही समय अघिसम्म नेपालको सन्दर्भमा निकै चरितार्थ उखान थियो । तर वर्तमानमा अधिकांश क्षेत्रमा यो भनाई ‘आउटडेटेड’ भइसकेको छ । यद्यपि वन जोगाउने र पुनर्जीवन दिने काम जारी छ ।
हगुल्टेको लेक ।

भीमदत्त राजमार्गको सर्वोच्च बिन्दु ।

कहिलेकाहीँ हिमपात भएर यातायात नै अवरुद्ध हुने बिन्दु ।

माघको ठिहि¥याउने जाडोमा त्यही ठाउँमा पुगेको थिएँ, तर जाडोको त्यतिसारो अनुभूति भएन । आजभोलि जलवायु परिवर्तनले मौसम बुझी नसक्नु भएको छ । त्यसैको नतिजा होला ।

विकास र वातावरणमा चाँसो राख्ने जो कोही यात्रु बोर्डमा लेखिएको कुराले उत्सुकता अनि कल्पनाको संसारमा पुग्छ । तर कल्पनाको गहिराइमा डुब्न नपाउदै वास्तविकताको धरातलमा ओराल्दछन् राजमार्ग चारैतिर देखिने वनजङ्गलको हरियाली अनि वनै राताम्मे पार्दै हाँगै निहुराउने गरी फूलेका लालीगुराँसका गुच्छाले ।

विश्व तापक्रममा भएको वृद्धिको नतिजास्वरुप यहाँको तापक्रम पनि बढेको छ । चैत बैशाखमा फूल्ने लालीगु्राँसले माघमै वनजङ्गलमा लाली चढाइ सके । वनैभरी ढकमक्क छन् । वनमा हरियाली छाएको छ । बसन्त ऋतु आईसके जस्तो । तर बसन्त आउन अझै एक महिना बाँकी छ क्यालेण्डर अनुसार ।

पहाडी डाँडाकाँडामा खडेरी हावी हुदै जाँदा र तराइका फाँटहरु तीव्र फँडानीले उजाड हुँदा प्राकृतिक सङ्क्रमणकाल लागेझै भएको छ अहिले । मानिसहरु मौसम परिवर्तनको पीडाबाट आहत छन् । यस्तोमा ‘हरियाली जिल्ला’ नामकरण गरेर वन संरक्षण गर्ने प्रयासको वास्तविकता नियाल्न साइनबोर्डको भनाईले प्रेरित गर्छ ।

जिल्ला नारामा भनेजस्तै हरियाली देखिन्छ सदरमुकाम पुगुञ्जेल । जङ्गल राम्रै छ यहाँ । जङ्गल भएपछि हरियाली हुने नै भयो ।

गैरा–अमरगढी खण्डमा कालोपत्रे सडकमा सरर गुडिरहँदा दायाँबायाँ फूलेका लालीगुँरासले हल्लिई हल्लिई स्वागत गरिरहे । जसले मनोरमताका साथै नयाँ उत्साह समेत थपिदिए यात्रामा । प्रत्येक नव आगन्तुकलाई यस्तै अनुभूति मिल्छ होला ।

प्राकृतिक सुन्दरता हेरेर नअघाउने प्रकृति खञ्चुवाका लागि यहाँको वनजङ्गल राम्रै खुराक बन्न सक्छ । त्यसमाथि बाटोमा लालीगुँरासको गुच्छा बनाएर बेच्न बसेका स–साना बालबालिका हातभरी फूल देखाउँदै गाडीको दुवैतिर झुम्मिदा भव्य अतिथि सत्कार गरेको आभाष हुन्छ ।

राजमार्गमा ओहोरदोहोर गर्ने छोटो दूरीका यात्रुबाहक गाडीको सिसा, झ्यालढोका लालीगुराँसले सजिसजाउ पारेर गुडेको देख्दा राष्ट्रिय फूलप्रतिको आत्मीयता बढेर जान्छ ।

राजमार्गको यस खण्डमा आवतजावत गर्ने हरेक यात्रुु जङ्गलमा राज गरेर बसेको लालीगुराँससँग प्रत्यक्ष अप्रत्यक्ष साइनु गाँस्न बाध्य हुने भएकोले यस मार्गलाई ‘लालीगुराँस मार्ग’कै उपमा दिँदा फरक पर्दैन ।

पूर्वी नेपालको तीनजुरे–मिल्के–जलजले लालीगुराँसको राजधानी मानिन्छ तर यति धेरै लालीगुराँस फूलेको देखिने राजमार्ग सायद अन्यत्र छैन ।

तीनजुरे–मिल्के–जलजले झन् कति राताम्मे होला यतिबेला ? यो सुदूर पश्चिमी भूमिबाट सुदूरपूर्वी पहाडको सम्झना गरे मैले ।

अत्यधिक उत्पादन र बहुआयामिक उपयोगिताका बाबजुद् चुँड्ने, फाल्ने, कुल्चिने गरेको देख्दा यदाकदा लालीगुराँसको प्रतिष्ठा घटेको भान हुन्छ । राम्रो चीजको राम्र्रै उपयोग गर्ने क्षमताको हामीमा कमि छ । प्रमाण हुन् खेर फालिएका लालीगुराँसका थुँगाहरु ।
शैपाल हिमाल ।

डडेलधुरा जाने बाहिरियाको लागि थप आकर्षण बन्छ सेताम्मे शैपाल । पहाड उक्लने घुम्तीमा यात्रुहरु शैपालसँग लुकामारीको मिठो अनुभव बटुल्न पाउँछन् । पहाडी खोचहरुमा गाडी भित्र जाने र बाहिर निस्कने क्रमले शैपालसँग लुकामारीको अभ्यास गराउँछ ।

भौगोलिक हिसाबले शैपाल बझाङमा पर्छ तर प्रकृति सीमाविहीन हुन्छ । सुन्दरता अवलोकन गर्न आँखालाई कसैले बन्देज लगाउन पनि सक्दैन ।

भनिन्छ “सुन्दरता केवल हेर्नको लागि हो न कि छुनको लागि” । अर्कै जिल्लामा अवस्थित सम्पदा धित मर्ने गरी हेर्न सकिन्छ यहीबाट । कुनै रोकटोक छैन । प्रतिबन्ध छैन ।

डडेलधुरासँग अपरिचित बाहिरियाले पहिलो नजरमै अनुभव गर्ने र सदा स्मरणीय पक्षहरुमध्ये प्रमुख केही यिनै हुन् जो स्थानीय पर्यटन प्रवद्र्धन गर्ने ‘ब्राण्ड’ बन्न सक्छन् ।

दूर्गमता ।

गरिबी ।

पछौटेपन ।

विकटता ।

यिनैको पर्यायको रुपमा सुदूर पश्चिमलाई हेर्ने मानसिकता डडेलधुरा प्रवेशपश्चात गलत सावित हुन्छ । जसरी मेरो भयो । यद्यपि यो ठाउँ सम्पन्नताको शिखरमा छ भन्ने आधारहरु पनि छैनन् । हामीसँग स्रोत साधन प्रशस्तै छन् । खाँचो छ केवल उचित परिचालनको, परिचालन गर्ने व्यक्तिको, पद्धतिको ।

(उपाध्यायको प्रकाशोन्मुख कृति ‘डोटी राम्रो डडेलधुरा’ को अंश)

र यो पनि,

आजको सेवाग्राहीलाई सेवा बेच्ने होइन वितरण गर्ने हो

शिविर निजामती सेवामा प्रवेश गर्ने द्वार बनोस्

लोकसेवाको पुस्तक लेखनमा ‘ट्रेन्ड चेन्ज’ गर्न जरूरी छ

थाइल्याण्ड र नेपालको हुलाक सेवा

निजामती सेवा दिवस : विश्व र नेपालमा

लाइसेन्स नेपालीकरणको घनचक्कर

Tags :
प्रतिक्रिया दिनुहोस