भाद्र ३ गते, २०७६

आत्मशुद्धि र शान्तिको प्राप्ति

जीवन जिउने कला कसरी सिक्ने र कहाँ सिक्ने भन्ने जिज्ञाशा सबैलाई हुन्छ नै । यसै सन्दर्भमा केही गन्यमान्य र विशेष स्थान बनाएका व्यक्तित्व, अगुवा वा साधकका केही जीवनोपयोगी सन्दर्भलाई आधार मानी आत्मशुद्धि र अहिंशाको विषय यो छोटो लेखमा उठान गर्ने जमर्को गरिएको छ ।

माहात्मा गान्धीले लेखेको सत्यको खोज (My experiment with truth) भन्ने जिवनी अध्ययन गर्दा जीवन जिउने कला र शान्तिको खोजी सम्वन्धमा केही विषयमा घोत्लिन बाध्य भइन्छ । अहिंशाको बाटो ठीक कि हिंसात्मक संघर्षको बाटो रु राजनीतिक फाँटमा दुईमध्ये कुनै वा दुवै बाटोमा हिँड्नेहरु हामी भेट्दछौं । अझ कोहीकोही त एउटा बाटोमा हिंड्दाहिड्दै सो बाटो त्यागेर अर्कोतर्फ लागेको उदाहरण पनि पाइन्छ । तथापि समय क्रममा देखिएको परिणामले र विश्लेषणबाट के देखिएको छ भने अहिंशात्मक बाटो नै श्रेष्ठ, उत्तम, उपयुक्त र दिगो हो । माहात्मा गान्धीले आफ्नो जीवनकै निश्कर्षका रुपमा भनेका छन्ः सत्यमय वन्ने एकमात्र मार्ग भनेको अहिंसा हो । यसै विषयलाई मनन गरेरै हुनुपर्दछ विश्वमा शान्ति र सुव्यवस्था कायम राख्ने उद्देश्य रहेको संयुक्त राष्ट्र संघले माहात्मा गान्धीको जन्मदिन अक्टोवर २ लाई अहिंसा दिवस (गान्धी जयन्त्ती) को रुपमा मनाउन थालेको छ ।

सिकाई, भोगाई र गराईको क्रमले पनि हामी कस्तो जीवनशैली जिउने भन्ने कुराको निर्धारण हुने गर्दछ । शरीर, मन शिक्षित गर्नुभन्दा आत्मा शिक्षित र दिक्षित गर्नु मुश्किल छ । यसका लागि बढी मेहनत गर्नुपर्ने, जानेवुझेका भोगेका खारिएका साधकलाई भेट्नुपर्ने पनि हुन सक्छ । हामीले सिक्ने क्रममा शारिरीक शिक्षामा जस्तो वौद्धिक वा आत्मिक ज्ञान दिने वेला दण्डको प्रयोग हुँदैन । यसमा त प्रशंगहरु, कथा, मामिला वा सन्दर्भको प्रयोग हुन्छ । भनिएको पनि छ कि असत्य वोल्नेले सत्य वोल्ने शिक्षा दिन सक्दैन । सिक्ने प्रकृया लामो हुन्छ । यसै सन्दर्भमा गान्धीकै भनाई पनि रहेको छ कि Live as if you were to die tomorrow. Learn as if you were to live forever.

शुद्ध बन्नु भनेको मन, वचन र कर्मद्वारा निर्विकार वन्नु, रागरद्वेष आदिबाट टाढा रहनु हो । यो काम सरल भने अवश्य पनि छैन । त्यसैले भनिएको पनि छ कि मनको विकारलाई जित्नु भनेको संसारलाई शस्त्रयुद्धद्वारा जित्नुभन्दा कठीन छ । मनको विकार अरुले हैन, स्वयंले देख्ने विषय हो । गान्धीले यही विषयलाई ‘समयको प्रयोग’ भनेका छन् । स्वयंबाट हुने हुँदा यसलाई आत्मशुद्धि पनि भनियो । आत्मशुद्धिविना जीवहरुसँग एक्यभाव हुन सक्दैन, जीवनका हरेक क्षेत्रमा शुद्धिको आवश्यकता छ । यो शुद्धिविना अहिंशा धर्मको पालना असम्भव छ । एउटा व्यक्ति वा वस्तीमा शुद्धिकरणको प्रकृया प्रारम्भ भयो भने त्यस्तो प्रकृया बढ्दै गई अनेकौँ शुद्धि स्वतः संभव हुन्छ ।

गौतम वुद्धले आफ्नो सन्देशमा अप्पि दीपो भवू भनेर सुधारको शुरुवात आफुबाटै गर्नुपर्दछ भन्नुभएको छ । यसलाई थप स्पष्ट पार्दै वहाँले राख्नुभएको छ कि म कसैको हात समातेर मुक्तिद्वारसम्म पुर्याउन सक्दिन, कोहीपनि त्यसै तहाँसम्म पुग्न पनि सक्दैनन। यसका लागि त हर व्यक्तिले स्वयं आफ्नो आत्मालाई प्रकाशित गर्नु जरुरी छ, आफ्नो दीपक स्यवं नवनी मोह माया नहटाई अन्धकार टाढा भाग्नै सक्दैन ।

व्यक्तिको आत्मिक विकासको वाधक भनेको उसको अहंकार पनि हो । जीवन मरणशील छ भन्ने जान्दाजान्दै पनि मानिसले धेरै धनसम्पत्ति र सामग्री थुपार्दछ जसले उसलाई खुसी दिदैन । यसको साटो उसले आध्यात्मिक शिक्षा र साधना गरेको खण्डमा जिवन जिउन सरल बन्दै जान्छ । हामी पनि आर्यघाटमा आफन्तको मलामी बनेर जाँदा वा अन्य कामले उक्त दृश्य देख्दा हाम्रो पनि नियति यस्तै हुने हो भनेर वास्तविक धरातलमा पुग्दछौँ । मरणशीलता सम्वन्धमा एउटा कवितात्मक भनाई यहाँ राखिएको छः
सारा वस्तु अनित्य छन् जगतमा आत्मा भने नित्य छ
फक्री फूल सुगन्ध छर्छ पछिता त्यै भूमिमा झर्दछ ।

सत्वचन, सत्मार्ग र सात्विकपनको विकास भएमा मात्र शान्ति स्थापनाले दिगो रुप पाउँछ । यस सम्वन्धमा भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक एपिजे अव्दुल कलामले दिएको आध्यात्मकि विचार मननीय लाग्दछ । यदि ह्रदयमा सत्यता छ भने चरित्रमा सुन्दरता आउँछ यसले राष्ट्रमा मेलमिलाप र अमनचैन ल्याउँछ अनि विश्वमा शान्ति संभव हुन्छ । हुनपनि जतिजति खराव कामहरु भएका छन् व्यक्तिको सोँच, प्रवृत्ति वा भित्री गुणका कारण भएका छन् । यदि यसलाई सच्याउने हो भने भित्री सफाई नै सही उपाय हुनसक्दछ र यसको उपाय भनेको अध्ययन, ध्यान, विवेकशिलताको विकास र प्रयोग नै हो ।

जीवन र जगतका खास खास कुरा बुझ्न र व्यवहारमा उतार्न गुरुको खाँचो पर्दछ । साधकले जति छिटो गुरु भेट्दछ उसको साधनाले परिणाम भेटाउन संभव हुन्छ । यस सम्वन्धमा स्वामी आनन्द अरुणको भनाई स्मरणीय छ । उनका अनुसार ‘जसरी दियोले ज्योति नभेटेसम्म उज्यालो हुँदैन नदीले समुद्र नभेटेसम्म शान्त हुँदैन त्यसैगरी साधकले गुरु नभेटेसम्म तृप्त हुँदैन।’

व्यक्तिगत जीवन झन झन जटिल बनिरहेको छ, एकलकाटे बनिरहेको छ । स्वास्थ्य विज्ञानले भन्दछ कि स्वार्थ, लोभ, अनुदारता, संकीर्णता, असत्य व्यवहारले मानिसलाई केवल दुःखी बनाउँछ, उसलाई पीडा, वेचैनी, अनिन्द्रा साथै रोग प्रतिरोधात्मकक्षमता समेत कमजोर पार्दछ । अनुहार अध्यारो र विकृत रुपमा परिणत हुन्छ । अर्कोतिर सत्य, अहिंसा, इमान्दारीता, निस्वार्थतालाई अवलम्बन गर्ने व्यक्ति वास्तविक रुपमा प्रफूल्लित र प्रसन्न रहेको देख्न पाउँछौ । जव मन, विचार, आहार, शुद्ध हुन्छ, तव कर्म शुद्ध हुन्छ, हृदय पवित्र बन्दछ । कसैले देखावटी प्रसन्नता प्रदर्शन गरेमा पनि त्यो अस्थायी हुन्छ । जसको कुनै अर्थ छैन । दिगो प्रशन्नताको लागि त काम पनि गर्ने र साधना पनि गर्ने जीवनशैली आवश्यक छ । यसको सकरात्मक परिणाम भने व्यक्ति परिवार समाज हुँदै कालान्तरमा राष्ट्र र विश्वसम्म पनि पुग्दछ ।

नेपालको इतिहासलाई दृष्टिगोचर गर्ने हो भने पनि जवजव हिंसात्मक आन्दोलन संचालन भए तवतव सृजना भन्दा विनास, सम्वन्ध भन्दा विभाजन, विश्वास र मेलमिलाप भन्दा शंका उपशंका सन्देह बढेर गएको हामी देख्छौँ वा व्यहोर्छौ । १० वर्षे हिंशात्मक द्वन्द्वका क्रममा भएको ज्यादतिका वारेमा उल्लेख गरिरहन पर्दैन । हत्या हिंशा र वेपत्ता पार्ने काममा संलग्नको वारेमा वास्तविकता पत्ता लगाई दिगो शान्तिको वातावरण गराउन सत्य निरोपण र वेपत्ता छानविन आयोग गठन भएपनि कृयाशील हुन सकेका छैनन । स्थानीय तहमा द्वन्द्वको घाउ मेटाउने संस्थागत प्रयन्त स्थानीय शान्ति समितिहरुले केही हदसम्म गरेतापनि व्यापक, छानविनमूलक र परिपूरणसहितको सम्वोधन हुन सकिरहेको अवस्था भने छैन । साच्चिकै शान्ति प्राप्तिका लागि र भोलिका दिनमा हिंशा नदोहोरिने अवस्थाका लागि व्यक्तिगत तहमा जिम्मेवारीवोध आवश्यक छ । सवै पक्ष र सरोकारवालाको सहभागिता र विचारविमर्शका साथमा विज्ञबाट मध्यस्थता र सहजीकरण पनि सँगसँगै अगाडि लैजानुपर्दछ । लोकतन्त्र, मानवाधिकार, सुशासन लगायतका आदर्श अवस्थाका लागि पनि व्यक्ति इमान्दार हुनु नितान्त आवश्यक छ । परिवर्तनको शुरुवात आफैबाट भन्ने विकासानन्दको भनाई गराईमा नवदली परिवर्तन संभव छैन ।

अन्त्यमा, अहिलेको समाजले लिएको गलत वाटो हेर्दा अध्यात्मवाद र नैतिक शिक्षा किन आवश्यक छ भन्ने कुरा दोहोर्याइरहन पर्दैन । पूर्वीय सभ्यताका के के विषय जगेर्नायोग्य छन् त्यसको वस्तुगत विवेचना र मनन गर्दै आत्मसंयम, स्वाध्ययन र सकरात्मक सत्संगमार्फत शान्ति स्थापना गर्ने र सर्वे भवन्तु सुखिन ‘। को अवस्थामा पुग्नु नै अहिलेको आवश्यकता हो । अन्त्यमा, खुशी सम्वन्धमा गौतम वुद्धको निम्न भनाई सचित्र प्रस्तुत गरिएको छ:

र यो पनि, 

आत्मशुद्धि र शान्तिको प्राप्ति

Spiritualism and Work Life

आउनुहोस् आत्मसमीक्षा गरौँ

संगठनको समग्र वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको प्रयोग

 Revitalizing Disaster Hit Tourism in Bhotekoshi Area

लोकसेवाका परीक्षार्थी र कार्यरत कर्मचारी दुवैका लागि पुस्तक उपयोगी छ

खोटाङबारे बुझेका कुरा

आश्विन ७ गते, २०७४ - ०५ः४१ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg