आउनुहोस् आत्मसमीक्षा गरौँ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आउनुहोस् आत्मसमीक्षा गरौँ


प्रशासन विशेष ब्युरो

१७ माघ २०७३, सोमबार


आखिर हामी समस्या वन्ने कि समाधान ? देश विकासको लागि यो वा त्यो अथवा पक्ष वा विपक्ष भन्दा माथि उठ्ने संस्कार किन बस्न सकेन ? के हामीले राजनीति र प्रशासनमा ईच्छा र सृजनशीलता सहितको योग्य जनशक्ति भित्र्याउन नसकेकै हो त ? कि भित्र्याएपछि उपयुक्त वातावरण भएन वा काम नगर्नेले गर्नेलाई आफ्नो धारमा लग्यो ? तटस्थ प्रशासक वा राजनैतिक नेतृत्व वा राजनैतिक विशेषज्ञ कुनै एक मात्र हाम्रा कामको लागि पर्याप्त छैनन भन्ने जान्दाजान्दै पनि उपयुक्त संयोजन वा सहकार्यको मोडल प्रयोग किन हुन सकेन ?

कुनै खास चिजभन्दा छाँया ठूलो भएजस्तै किन नेपालका केन्द्रीय निकायहरुमा खास जिम्मेवार कार्यसमूहभन्दा पनि परामर्शदाता वा सल्लाहकारको झुण्ड ठूलो छ ? आ-आफ्नो गच्छे वा पद अनुसार काम नगर्ने बहानाको ठूलै सूचि पेश गर्नेर गुनासो पनि धुँवाधाररुपमा गर्ने प्रवृत्ति किन मौलायो ? आआफ्नो जिम्माको काम गरिछाड्ने हुटहुटी किन देखिदैन ? सिंगापुर, जापान, कोरियाले छोटो समयमै लोभलाग्दो र आश्चर्यलाग्दो प्रगति गरिसक्दा पनि हामीहरु किन समयलाई दुर्लभ स्रोत मानिरहेका छैनौँ ? “वाचडग” पनि भनिने संवैधानिक निकायहरुले किन नागरिकहरुलाई आ-आफ्नो भूमिका सम्वन्धमा आश्वस्त पार्न सकिरहेका छैनन ?

सामाजिक, सांस्कृतिक, जैविक विविधता लगायतका वहुविविधता हुँदाहुँदै पनि नेपालमा भएका तुलनात्मक लाभका स्रोत र संभावनाको प्रयोग किन कमजोर छ ? स्वतन्त्रताको प्रयोग गर्दा किन अशोभनीय व्यवहार प्रदर्शन हुन्छ ? यानेकी स्वतन्त्रताको प्रयोग सापेक्षिक हुनुपर्नेमा किन निरपेक्ष जस्तो देखिएको होला ? राष्ट्रिय हित, सार्वभौमसत्ता र नागरिकउपरको समतामूलक व्यवहारलाई सौदावाजी गर्न कसले छूट दिएको होला ?हाम्रा नीतिहरु कि त समयानुकूल वन्न सकेका छैनन, अपूरा छन् कि समग्रतामा हेर्न असक्षम छन्किन होला ?


सिंगापुर, जापान, कोरियाले छोटो समयमै लोभलाग्दो र आश्चर्यलाग्दो प्रगति गरिसक्दा पनि हामीहरु किन समयलाई दुर्लभ स्रोत मानिरहेका छैनौँ ?


किन नीतिहरुलाई लोकप्रियताको हतियार बनाइन्छ र कार्यान्वयनमा विवेकशिलताको अपेक्षा गरिएको होला ? हाम्रो देश सुशासन सम्वन्धमा कानुननै बनाएर अघि बढेको देश भएर पनि किन सुशासनको अनुभूति भने दिलाउन सकिएन ? उजुरी पेटिकामा उजुरी नपर्ने, सार्वजनिक सुनुवाइमा सहभागिता न्युन हुने किन हुन्छ ? एउटा चाइनिज भनाई रहेको छ कि “कुनै नयाँ बाटो हिडसकेकालाई सोधेर मात्र नयाँ यात्रा शुरु गर” । तर यसको विपरितअनुभवी वा विज्ञको रोष्टर तयार पारी सल्लाह लिन वा अनुकरणीय सुधार प्रयास गर्नेअग्रजको कामलाई सह्राना गर्न किन सकिरहेका छैनौँ ?

आवाशविहिनहरुको समस्या समाधानका लागि तारे होटलमा सेमिनार हुन्छ तर झुपड वस्तिमा पुगेर खास समस्या वुझ्ने काम हुँदैन किन ? पूर्वी तराईका ८ जिल्लामा विकास भन्दा पनि अविकास वढिरहेको किन होला भनेर सोही भूक्षेत्रमा जिम्मेवारवालाहरु भेला भएर मन्थन भएको किन सुनिएको छैन ? भारत र चीनले घेरेको नेपालभित्र वस्ने नेपालीहरुले खासगरी सीमाक्षेत्रमा धेरै अन्तर महशूस हुने खालका पूर्वाधारको भर पर्नुपर्ने र वेलावखत नाकावन्दी र सडकवन्दीको मारमा कहिलेसम्म पर्नुपर्ने हो ?


समस्यामाथि समस्या थुर्प्रो लाग्दै पहाड बन्दा समेत हामी रमीता हेरेर बस्ने कि यथाशक्य समाधान पनि गर्दै जाने ?


भूकम्पपीडित क्षेत्रमा खटिएका केही संस्थाहरुको होटल वास खर्च नै राहत रकम भन्दा ठूलो देखियो किन ? भूकम्पले इल्लि र विल्ली पार्दा समेत भवन आचार संहिता पालना गर्ने तर्फ खासै प्रगति देखिदैन किन ? गरिव र गरिवीका समस्या समाधान गर्न उनीहरुसमेतको सहभागितावाट खास समस्या पत्ता लगाई समाधानमा सहभागी बनाउन किन सकिएन ? सेवा प्रवाहका थुप्रै कठिनाईसँग जोडिएको अभिलेख प्रणालीमा किन सुधार हुन सकिरहेको छैन ? कम्पयुटरको विहंगम प्रयोग हुन सक्ने हुँदाहुँदै किन टाइपमा सिमित गरिएको छ ?

पूर्वाधार सम्वन्धी अन्तरसम्वन्धित कामहरुलाई वहुनिकायमा छरेर प्रशासनिक खर्च वढाउने र समन्वय कमजोर पार्ने खेल किन भएको होला ? सामाजिक न्यायसम्म पुग्ने खुड्किलोको रुपमा रहेका समावेशीकरणको किन यथोचित प्रयोग हुन सकेन ? किन औपचारिक अदालतमा गएर न्याय माग्ने जनताको संख्या १५ प्रतिशतभन्दा वढी हुन नसकिरहेको किन होला ? विकास, रुपान्तरण, उन्नति र समृद्धिका सोँचलाई व्यवहारमा उतार्नमा के कस्तो खाडल देखिए ? हामी मन्त्रालय थप्दा, संगठन विस्तार गर्दा वा पदाधिकारी नियुक्त गर्दा तत्कालको जोड घटाउ मात्र हेर्ने कि त्यसको प्रभाव वा नतिजावाट समेत निर्देशित हुने ?राम्रो काम गर्न राम्रो प्रकृया अपनाइँदिँदा के विग्रन्छ ? कसैले गरेको किन नहोस् राम्रोलाई राम्रो भन्न र सकेसम्म निरन्तरता दिन किन नसकिएको ?

हाम्रा मौलिक क्षमता र कौशलहरु जगेर्ना गर्दै नयाँ प्रविधिलाई भित्र्याउन सकिदैन र ? आफैले व्यवसाय गर्न सक्ने अवस्थामा अरुले दिएको जोखिमयुक्त नोकरी गर्न अरब मुलुक धाउनु परेकोदेखी देखी उनीहरुलाई बीउ पुँजी कर्जा र सीप दिएर सहजीकरण गर्न सरकार र सरकारी निकायले पहल किन नगरेको होला ? किन हामीकहाँ काम गर्ने वा मेहनत गरेर खुशी रहनेलाई नालायक भनी कम दु:ख गरेरै वा कैफियतवाट रकम जोहो गर्नेलाई बहादुर भनिएको होला ? अकर्मण्यताको निदान नगरी तथा इमान्दारपूर्वक आआफ्नो स्थानबाट थप प्रयत्न नगरी माथि उल्लेखितलगायतका कैयौँ प्रश्नहरुको उत्तर फेला पर्दैन । समस्यामाथि समस्या थुर्प्रो लाग्दै पहाड बन्दा समेत हामी रमीता हेरेर बस्ने कि यथाशक्य समाधान पनि गर्दै जाने ? यो यक्ष प्रश्नलाई मनन गरी आत्मसमीक्षा गर्दै आजैबाट समग्र विकास र उन्नतिका खातिर समर्पित बनौँ ।

सच्चा, कर्मशील र राष्ट्रवादी नेपालीको परिचय आफ्नो कामबाटै दिऔँ । सहकार्य, समन्वय र सहअस्तित्वलाई अवलम्वन गरौँ । अति जरुरी काम पहिले गरौँ र अति कमजोर नागरिकलाई अवसर लिन सक्षम बनाऔँ । अस्तु ।

सुवेदी नेपाल सरकारका उप सचिव हुन् ।

र यो पनि, 

आत्मशुद्धि र शान्तिको प्राप्ति

Spiritualism and Work Life

आउनुहोस् आत्मसमीक्षा गरौँ

संगठनको समग्र वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको प्रयोग

Revitalizing Disaster Hit Tourism in Bhotekoshi Area

लोकसेवाका परीक्षार्थी र कार्यरत कर्मचारी दुवैका लागि पुस्तक उपयोगी छ

खोटाङबारे बुझेका कुरा

Tags :
प्रतिक्रिया दिनुहोस