काँडै राम्रो लाग्यो सर, यो काठमाडौँ के राम्रो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँडै राम्रो लाग्यो सर, यो काठमाडौँ के राम्रो ?


प्रशासन विशेष ब्युरो

२६ फाल्गुन २०७३, बिहिबार


हुनेखाने वर्ग सुविधासम्पन्न ठाउँमा बसाइ सर्छ तर जो गरिखाने वर्ग हो उ आफ्नै ठाउँ बनाउन लागि पर्छ । जति नै दुःख पीडा भएपनि जन्मथलो नै प्यारो लाग्छ । गाउँ ठाउँको विकासका लागि उनिहरु बलबुताले भ्यायसम्म लागि पर्छन् र यस्तै कर्मबीरहरुको आँट, साहस र पराकर्मले नै बन्छ गाउँ, ठाउँ र समाज । जिल्लाको आधा भन्दा बढी भूभाग ओगटेको बझाङ जिल्लाको काँडा गाविस तिनै कर्मबीरहरुको वाहुवलमा गाउँपालिका बनेको छ । हुन त गाउँपालिका बन्दैमा आफैमा सम्पन्न भइहाल्ने होइन तर सदियौं देखि केन्द्र तथा जिल्लाकै वेवास्ताको सिकार बन्दै आएको काँडाले गाउँपालिका बनाउनै लागि गर्नु परेको संघर्ष र सफलता आफैमा उदाहरणीय छ । यही क्रममा गाउँपालिकाको माग गर्दै राजधानी पुगेका गोपालसंग सिद्धराज उपाध्यायले केही भलाकुसारी गर्नुभएको छ । प्रस्तुत छ सम्बाद जस्ताको त्यस्तै:

 

काँडालाई छुट्टै गाउँपालिका बनाउने आश्वासन पाउनुभएको छ, कतिको खुसी लागेको छ ?
अहिले त निकै खुसी लागिरहेको छ । जिल्लाका सबैले हामीलाई हेपिसकेको हो । जब त्यहाँका सबै जनता आन्दोलनमा उत्रियांै, जब आन्दोलन सक्रिय भएर आयो भदौदेखि काठमाडौंमा छौं, हाम्रो निकै खर्च पनि भयो । यो खर्च गराउने भनेका जिल्लाका राजनीतिक दलका पदाधिकारी हुन् । काठमाडौं आएर जिल्लाका सबैले सहयोग गरे । सबैले सहयोग गरेका हुनाले अहिले हामी खुसी भन्दा पनि निकै खुसी छौं ।

जिल्लाका नेताहरुलाई घरघरबाटै निकालेर भएपनि सम्बन्धित ठाउँमा पुर्याएरै छाड्नुभयो होइन त ?
हो हजुर । जिल्लाका बिगार्ने नेता थिए, जो रेखा कोर्ने नेता थिए उनीहरुले हामीलाई बिगारीसकेको हो । माथिका सबै दलका नेताज्यूहरु, भूपु तथा अहिलेका सभासद्हरुले हामीलाई धेरै सहयोग गरे ।

गाउँपालिका भएर मात्रै खान त पुग्दैन, अरु विकास पनि चाहिन्छ होला नि ?
एउटा नियमले भन्ने हो भने अब पनि हामीले चार दिन लगाएर पनि तलकोटसम्म आएर सेवा लिने अवस्था हुनुहुदैन । अगाडि पनि गाउँ विकासको प्रधान मेलकृष्ण गाविसबाट भइसकेको हो । अझै उस्तै राणाकालको जस्तो दुःख हो । फेरि पनि त्यही दुःख भोग्नु नपरोस् भनेर हामीले जोर गरेर सम्पूर्ण दिदी बहिनी, दाजुभाइ, बुद्धिजीवी सम्पूर्णलाई काठमाडौँ जाउँ बोल्यो भने हुन्छकी भन्ने आशाले आइयो । अहिले सम्पूर्ण राजनीतिक दल, पत्रकार सम्पूर्ण महानुभावहरुले हामीलाई सहयोग गरे खुसी व्यक्त गर्न चाहन्छु ।

कतिको कष्टपूर्ण रह्यो त काठमाडौंको बसाई ?
निकै संघर्ष गरिसक्यौ । नेपाली कांग्रेसको कार्यालयमा पनि तीन पटक गइयो, एमालेको कार्यालयमा पनि तीनै पटक गइयो, प्रधानमन्त्री कार्यालयमा पनि तीनै पटक गइयो । स्थानीय विकास मन्त्रालय, आयोगमा त दिनदिनै धायौं । धाउँदा धाउँदा सबैले गाउँले जस्तै चिनिसके । नयाँ शक्तिबाट केही हुन्छ की भनेर त्यहाँ पनि गइयो । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि गइयो ।

भेटघाटका क्रममा क–कसले के के भने त ?
सबैले ल हुन्छ हुन्छ । बनाइदिन्छौ । तपाइँहरुको दुःख रहेछ भनेर सबैले सहयोग गर्छौं भनेका छन् ।

कस्तो रह्यो तपाइको व्यक्तिगत अनुभव ? यो भन्दा पहिला काठमाडौं आउनु भएको थियो ?
नाई यो भन्दा पहिले आएको थिएन । काठमाडौं ठिकै लाग्यो । गरेपछि हुँदोरहेछ । जुनसुकै ठाउँमा पनि मान्छे चाहिने रहेछन् । व्यक्ति भनेको व्यक्ति नै हो केही लाग्दैन रहेछ, राजनीतिक दलले भनेको सबै हुने रहेछ ।

यहाँ आउनु भनेको त हामी जस्ता गाउँलेका राम्रो कुरा होइन । गाउँ ठाउँका सोझासाझा मान्छेका कुराहरु माथिसम्म पुर्याइदेलान्, हामीलाई बनाउलान् भन्नका निम्ति नेताहरुलाई पठाउने हो । हामीले यहाँ आउनु भनेको ठुलो दुःख हो ।

काँडा राम्रो कि काठमाडौँ राम्रो ?
काँडै राम्रो लाग्यो सर । यो काठमाडौँ के राम्रो ?

ठूल ठूला सडक, सररर गाडी गुडेका अनि झिलिमिली बत्ती, राम्रो लागेन ?
कसरी लागेन भन्दा यो भनेको ठूलाबडाको देश हो । हाम्रो देश होइन यो । कि पागलको । कि रोडमा मागी खानेको । कि लेखापढी गर्ने ठूला कर्मचारीको । कि देश चलाउनेको देश हो । हामी जस्ताको होइन । मेरो बुझाई अनुसार ।

काँडामा त दुःख छ नी ?
दुःख छ त ।
खानु छ हाम्रो टुना र पाँगर अन्नको वेसन
रहनु छ हाम्रो आल्लो र भाङ्ग्रो भागरी फेसन ।
हाम्रो त्यो ठाउँ त्यस्तो ठाउँ हो जहाँ अनाज नभएर पनि जडिवुटीले पालिने ठाउँ हो । सरकारले चाह्यो भने काँडा क्षेत्र धनी क्षेत्र हुने ठूलो आशा छ । यार्सागुम्वाकै रसिद काटेपनि त्यो ठाउँ धनी होला ।

काँडामा गाडी कहिले पुग्ला ? तपाइको पालामा पुग्ला भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
गाडी त पुग्थ्यो तर जुनसुकै राजनीतिक दलले पनि हामीलाई त्यसै पन्छाउने गरेको छ । माथिबाट जडिबुटी मार्ग हुने भन्ने कुरा सुनेका थियौं यदि त्यो रोड बन्यो भने हामीलाई धेरै सुबिधा हुनेथियो, नभए त हाम्रा दुःख छँदैछन् ।

काँडा त चीनसँग जोडिएको गाविस हो, कतिको जानुहुन्छ चीनतिर ?
चाइना हाम्रो नजिक पर्छ । चाइनाको सीमाना ताक्लाकोटमा १५/२० पटक गएको छु । डोको डालो लगेर ?

आम्दानी कतिको हुन्छ ?
त्यहाँ एक डोकाको सय सुक्कर छ दिन्छ । त्यहाँको एक सुक्करको अठार रुपैया सटानी हुन्छ । सय सुक्करको कति भयो ? सय सुक्कर छ एक डोकाको ।

कति दिनमा पुग्नुहुन्छ ताक्लाकोट ?
जाने वेला भारी बोकेर जानुपर्ने भएकोले पाँच छ दिन लाग्छ । फर्किने बेलामा तीन दिनमा घर पुग्छौं ।

 

र यो पनि,

 काँडालाई अलग गाउपालिका बनाउन अन्तिमसम्म हामी लड्छौं ।

अरु त दिएनौ, दिएनौ एउटा गाउपालिका त देऊ न सरकार !

अधिकारका लागि लड्नै पर्ने रहेछ भन्ने अनुभुति भएको छ

काठमाडौं आउँदा राज्य भनेको यस्तो हुँदोरहेछ, बोली भाषा भनेको यस्तो रहेछ भन्ने लाग्यो

हामी जस्तै अनुहार रहेछ तर दिमाग–बुद्धिले, त्यहाँसम्म पुगिँदो रहेछ

Tags :
प्रतिक्रिया दिनुहोस