पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न डा. महतको आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न डा. महतको आग्रह


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका  प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।  

पार्टीको भ्रातृ संस्था नेपाल किसान महासङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले पार्टी बलियो भए मात्रै नेता कार्यकर्ता बलियो हुनेभन्दै पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन् । अहिलेको परिवेशमा पार्टीभन्दा व्यक्तिगत प्रचारले प्रश्रय पाइरहेको भन्दै त्यस्ता कार्यले सङ्गठनको हित नगर्ने उनको भनाइ थियो । 

प्रवक्ता डा. महतले भने, “व्यक्तिवाद होइन, सङ्गठनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न जरुरी छ । तब मात्रै सङ्गठन बलियो वा विस्तार भएर पार्टीको लोकप्रियता बढ्दै जान्छ । पार्टी बलियो भएमा त्यसबाट सबैले फाइदा लिने अवस्था बन्छ ।”

त्यस्तै, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई आआफ्नो दायित्व पूरा गर्ने गरी अगाडि बढ्न उनले आग्रह गरे । “राजनीतिक दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्त्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पुर्‍याउने हो । त्यसैले नेपाल विद्यार्थी सङ्घ, तरुण दल, किसान सङ्घ र अरु सबै सङ्गठनले आफ्नो लक्षित वर्गमा पार्टीको विचारलाई लिएर काँग्रेसको सङ्गठनलाई विस्तार गर्नुपर्छ”, उनले भने । 

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले ६५ प्रतिशतभन्दा बढी किसान भएको देशमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २५ देखि २६ प्रतिशत कृषिको योगदान रहेको र त्यो बिस्तारै घट्दै जानु चिन्ताको विषय हो भन्दै किसानका समस्या समाधान गर्न लाग्न जरुरी रहेको धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस