बलि चढाएर मनाइयो अष्टमी  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बलि चढाएर मनाइयो अष्टमी 


५ कार्तिक २०८०, आइतबार


सिमकोट । परम्परादेखि मनाउँदै आएका मठ मन्दिरमा हिन्दु धर्मालम्वीहरुले बोकाको बलि चढाएर अष्टमी मनाएका छन्। हुम्लामा विशेष गरी भवानी देवताको पूजापाठ गर्दै धामी नाचेर मनाउने गरिन्छ।

सिमकोट गाउँपालिका-५ र ६ मा आज विशेष गरी दुर्गा भवानीको मन्दिरमा धामी नाचेर र बोकाको बलि दिई मनाइएको छ। सो क्रममा देवी देवताको पूजापाठ पनि गरिएको छ।

यसरी देवताको नाममा चढाएको बलि भने बाजा बजाउने दमाईलाई दिने चलन छ। यो बलिको व्यवस्था भने भवानी देवता मान्ने स्थानीयले जनही रुपैयाँ उठाएर व्यवस्था गर्ने गरिन्छ।

भवानी देवता मान्ने घरबाट रोटी पकाएर मठमन्दिरमा ल्याई पूजा गर्ने चलन छ। सिमकोटका यी दुवै गाउँमा भवानी देवताका धामी नभएका कारण सम्भावित धामी हुने महिला र पुरुषलाई देवता आएपछि नाचेका थिए।

त्यसैगरी ठकुरी र क्षत्री समुदायको बसोबास हुने प्रत्येक गाउँमा आइतबार दिनभर भवानी देवताको पूजापाठ र धामी नाचेर अष्टमी मनाइएको छ।

जिल्लाका झण्डै पचासभन्दा बढी गाउँमा यसरी देवी देवताको नामा बलि चढाएर अयटमी मनाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस