देउवाले काँग्रेस गण्डकी सभापतिसहित कास्कीका नेताहरूलाई काठमाडौँ बोलाए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवाले काँग्रेस गण्डकी सभापतिसहित कास्कीका नेताहरूलाई काठमाडौँ बोलाए


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न गण्डकी प्रदेशका सभापति र कास्की सभापतिसहित नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।

कास्की काँग्रेसले पोखरा महानगरपालिकाको मेयर अरूलाई छाड्न नसक्ने अडान लिइरहेको छ ।

सभापति देउवाले आज (मंगलबार) बिहान बालुवाटारमा छलफल गर्न भन्दै कास्कीका नेताहरूलाई बोलाएका हुन् ।

सभापति देउवाले छलफलका लागि बोलाएपछि गण्डकी काँग्रेस सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, नेता यज्ञबहादुर थापालगायत आज बिहान काठमाडौँ आउँदै छन् ।

‘सभापतिले हामीलाई छलफलका लागि बोलाउनुभएको हो । बिहान साढे ९ भित्र आइपुग्नु भन्नुभएको थियो। हामी गजुरी कटियो,’ सभापति बरालले भने, ‘बालुवाटारमा छलफल हुन्छ । स्थानीय चुनावबारे जिल्लाका अवस्था लगायतबारे छलफल गर्ने हो ।’

छ महानगरमध्ये पोखरा कसले लिने भन्ने सत्ता गठबन्धनमा विवाद छ । नेकपा एकीकृत समाजवादीले पोखरा दाबी गरेको छ भने काँग्रेसले पनि पोखरा छोड्न नसक्ने बताइरहेको छ ।

सत्ता गठबन्धनको बैठक आज बिहान ११:३० बजे बालुवाटारमा बस्दै छ । गठबन्धन बैठकअघि कास्कीका नेताहरूसँग सभापति देउवाले छलफल गर्न लागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस