गृहको उत्कृष्ट कर्मचारी व्यवस्थापन, नवनियुक्त ४० जनाको पदस्थापनसहित ७५ अधिकृतको सरुवा  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गृहको उत्कृष्ट कर्मचारी व्यवस्थापन, नवनियुक्त ४० जनाको पदस्थापनसहित ७५ अधिकृतको सरुवा 


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा अधिकृतहरूको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रालयले सोमबार(आज) नवनियुक्त ४० जना शाखा अधिकृतहरूको पदस्थापन र ३५ जना शाखा अधिकृतहरूको पदस्थापन, सरुवा तथा काज गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले अध्यागमन विभाग वा अन्तर्गत २० जना, जिल्ला प्रशासन कार्यालयहरूमा १७ जना, इलाका प्रशासन कार्यालयमा दुई र एक जना सीमा प्रशासन कार्यालयमा गरी ४० जना नवनियुक्त शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।  यसरी पदस्थापन गरिएका अधिृकतहरुमध्ये १० जना महिला रहेका छन् । 

त्यसैगरी लामो समयसम्म जिल्लामा बसेकालाई उपत्यकामा ल्याइएको छ भने अध्यागमन कार्यालय तथा उपत्यकामा एक वर्ष भन्दा बढी बसेका ३५ जना शाखा अधिकृतहरूलाई विभाग तथा जिल्ला कार्यालयहरूमा खटाइएको छ । 

सरुवामा जहिल्यै सोर्सफोर्स तथा गुनासो रहँदै आएको वर्तमान सन्दर्भमा गृह मन्त्रालयले पहिलो पटक नवनियुक्त सबै कर्मचारीहरूलाई रोजाएरै पदस्थापन गरेको छ । कर्मचारीको पदस्थापनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन विभिन्न विधिहरू अवलम्बन गर्दै शतप्रतिशत कर्मचारीहरूलाई चित्त बुझाएर कार्यक्षेत्रमा खटाएको हो । 

साथै अध्यागमन कार्यालय दोहोर्‍याएर जाने प्रवृत्तिलाई निरुत्साहित गर्न पहिलो पटक अध्यागमन नबसेका कर्मचारीलाई प्राथमिकता दिएको छ । यसलाई अध्यागमन सुधारको रणनीतिका रूपमा मन्त्रालयले लिएको छ ।

पदस्थापन गर्दा मन्त्रालयको प्राथमिकता अनुसार सेवा प्रवाहको लागि आवश्यक जनशक्ति नभएका अध्यागमन विभाग वा अन्तर्गतका कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू तथा सीमा प्रशासन कार्यालयमा खटाउने गरी व्यवस्था मिलाएको छ । 

नवनियुक्त शाखा अधिकृत कर्मचारीहरूको पदस्थापन लागि ५ वटा विकल्प सहित छनौटको अवसर दिइएको थियो । ४० जनामध्ये ३२ जनाको लोक सेवा आयोगले तोकेको ढाँचाअनुसार प्राथमिकता क्रम मिलान गरिएको छ भने ८ वटाको हकमा प्रशासन महाशाखा प्रमुखको उपस्थितिमा सम्बन्धित शाखा अधिकृतसँग छलफल गरी छनौटको अदल बदली गरी शतप्रतिशत मिलाइएको मन्त्रालयका प्रशासन शाखा प्रमुख तथा कार्यक्रम सञ्चालक कृष्ण सापकोटाले बताए ।  

सोर्सफोर्सलाई निरुत्साहित गर्दै जाने रणनीति अनुरूप दुर्गम तथा विभिन्न जिल्लाहरूमा पूर्व कार्यरत अधिकृतहरूलाई माग अनुसार उपत्यका भित्रका र कर्मचारीलाई पाइक पर्ने कार्यालयहरूमा  सरुवा हुने गरी रिक्त स्थान पदपूर्ति गर्ने प्राथमिकता राखिएको छ भने लैङ्गिक रूपले संवेदनशील एवम्  स्वास्थ्य समस्यालाईसमेत मध्यनजर गर्दै घर पायकलाई प्राथमिकता दिइएको कार्यक्रम सञ्चालक सापकोटाले जानकारी दिए । 

अभिमुखीकरण समापन तथा पदस्थापन पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रवि लामिछानेले कर्मचारीमा इमान्दार प्रयास रहने हो भने सुधार सम्भव रहेको बताएका छन् । नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै गृह मन्त्री लामिछानेले आम प्रवृत्ति भन्दा माथि उठेर नमुना बनेर देखाउन सके भविष्य उज्ज्वल रहेको बताए । 

‘इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई कहिल्यै कसैले प्रलोभनमा पार्न सक्दैन’ गृहमन्त्री लामिछानेले भने, ‘तपाई कस्तो बन्ने हो भन्ने कुरा तपाईकै हातमा छ, राम्रो बन्दा भविष्य उज्ज्वल छ, नराम्रो काम गर्दा जुनसुकै बेला पनि नराम्ररी नै फस्न सक्छ’

इमान्दारीता भन्ने कुरा कसैले दिएर भन्दा आफैले विकास गर्ने कुरा भएकोले अहिलेको नयाँ पुस्ताका कर्मचारीबाट राज्यले त्यही इमान्दारीता खोजेको गृहमन्त्री लामिछानेको भनाई छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै गृह सचिव एकनारायण अर्यालले कर्मचारीहरूलाई ज्ञान र सिपसहित मोटिभेट गरेर नै कार्यक्षेत्रमा पठाइने बताए । नव नियुक्त ऊर्जावान् अधिकृतहरूको गृह प्रवेशबाट आफूले उत्कृष्ट सेवा प्रवाहको अपेक्षा गरेको बताउँदै नागरिकको मुहारबाट सेवा सन्तुष्टिको मापन हुने भएकोले इमान्दार भएर सेवा प्रवाह गर्न सुझाए । 

गृह सचिव अर्यालले पछिल्लो समय अध्यागमनबारे आउने गरेका गुनासाहरू समाधान गर्न रोल मोडल भएर निस्कनु पर्नेसमेत नवनियुक्त अधिकृतलाई बताए । गृह मन्त्रालयले अध्यागमनको रिफर्म तत्काल खोजिरहेको बताउँदै सो कार्यमा नयाँ अधिकृतको जोस र जाँगरबाट त्यो अपेक्षा पुरा हुने विश्वास समेत व्यक्त गरे । ‘गृहमन्त्रीज्यूले शुरुदेखि नै रिफर्म चाहिरहनुभएको छ र सोही अनुसार मन्त्रालयले सुधारको सुरुवात गरिसकेको छ’, गृह सचिव अर्यालले भने, ‘जे जति विकृति र विसङ्गतिहरू छन् तपाईँहरूले हटाउनु हुन्छ भन्ने अपेक्षा गृह मन्त्रालयले गरेको छ’

राम्रा र सुधारका योजनाहरू जहिल्यै स्वागतयोग्य रहेको भन्दै हरेक व्यक्तिसँग भएको रिफर्मका योजनाहरू जतिसुकै बेला पनि मन्त्रालयमा आएर नेतृत्वसँग भन्न सक्ने पनि गृह सचिव अर्यालले अधिकृतहरूलाई बताए ।  

नेतृत्व विकासका लागि एक पटक जिल्लामा बसेर सबै खाले सेवासँग घुलमिल हुनै पर्ने बताउँदै गृह सचिव अर्यालले आई पर्ने अनेक खाले समस्या तथा अन्य कार्यालयहरूको जिम्मेवारी भित्र नपरेका सबै कामहरू जिल्ला प्रशासनको जिम्मेवारी भित्र पर्ने भएकोले ती समस्याको समाधान गर्न सकेमा जस्तो सुकै काम पनि सहजै गर्न सकिने बताए । 

सहभागीको तर्फबाट नवनियुक्त शाखा अधिकृत अस्मिता ढकाल र अनिल रिजालले आफ्नो आफ्नो भनाई राखेका थिए । दुई दिने अभिमुखीकरण तालिमले समग्र गृह प्रशासनसँगै सेवा प्रवाहका ढाँचा, कार्यसम्पादन, व्यवहार र संस्कृति सम्बन्धमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गरेको अधिकृत ढकालले बताइन् । समग्र नेतृत्वले अग्र पङ्क्तिमा रहने अधिकृतहरूबाट के कस्तो अपेक्षा  गर्ने रहेछ भन्ने विषयमा पनि जान्ने अवसर प्राप्त गरेको भन्दै सकारात्मक, सदाचारी र सिर्जनशील भई पदीय जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाइन् । 

त्यसैगरी रिजालले अभिमुखीकरणबाट गृह मन्त्रालय के हो र यसका महाशाखाहरूले के कसरी काम गर्छ र आफ्नो डिउटी के हो भन्नेबारेमा बुझ्न पाएको बताए । यो अवसर प्राप्त हुने थिएन भने भन्दै उनले भने ‘सिधै कार्यालयमा काम गर्दा अलि बढी नै बाधा अड्चन र समस्याहरू आउँथ्यो कि रु यो दुई दिनको अवधिले कामकारबाहीबारे प्रष्ट बनाएको छ’

कार्यक्रम सञ्चालनका क्रममा मन्त्रालयका प्रशासन शाखा प्रमुख सापकोटाले सोमबार गरिएको पदस्थापनबाट अध्यागमन कार्यालय त्रिभुवन अध्यागमन विमानस्थल अध्यागमन अधिकृतको स्वीकृत दरबन्दी एक सय २१ जना नै पूर्ति भएको बताएका छन् ।

नवनियुक्त अधिकृतहरूलाई तालिमका क्रममा शान्ति सुरक्षा र समन्वयको विषय, विपद् तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी संक्षिप्त जानकारी, मानव अधिकार, कानुन तथा फैसला कार्यान्वयन विषय संक्षिप्त जानकारी, नागरिकता वितरण: समस्या र समाधान, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी प्रशासनको भूमिका र जिल्ला प्रशासन कार्यालयहरूसँग सहकार्य अपराधका ज्वलन्त विषयहरू र कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो । 

त्यसैगरी नीति, योजना र अनुगमन एवं लागू औषध नियन्त्रण सम्बन्धी व्यवस्था, राष्ट्रिय परिचयपत्र, घटना दर्ता र राहदानी वितरण सम्बन्धी कानुन र कार्यान्वयन को अवस्था बारेमा जानकारी, स्थानीय प्रशासन र कारागार व्यवस्थापन सम्बन्धी विषयमा जानकारी, कसुरजन्य सम्पत्ति व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयहरूको भूमिका, अध्यागमन, भिसा व्यवस्थापन अन्तराष्ट्रिय सम्बन्ध राष्ट्रिय सुरक्षाका सवालहरू र विकास व्यवस्थापनमा स्थानीय प्रशासनले गर्नुपर्ने समन्वयबारे पनि जानकारी दिइएको थियो । 

साथै सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सशस्त्र प्रहरी वल, नेपालको भूमिका, जिल्ला प्रशासन कार्यालय सँगको समन्वय तथा सहकार्यका विषयहरू, क्रस बोर्डर इस्यूहरु पनि जानकारी दिइएको थियो ।

हेर्नुस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस