स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति बिनाको विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै कानुनी व्यवस्था विपरीत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा विदेशी पाठ्यपुस्तकहरू प्रयोग नगर्न नगराउन सबै विद्यालय तथा अभिभावकलाई अनुरोध गरेको छ ।

सबै स्थानीय सरकार एवं शिक्षा विकास तथा समन्वय इकाईहरूलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत अनुरोध गरेको छ ।

केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको भन्ने विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचार तथा अभिभावकहरूको गुनासोले केन्द्रको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरेको छ ।

शिक्षा ऐनको दफा ८ र शिक्षा नियमावली, २०५९ को नियम ६ मा विद्यालयले स्वीकृत पाठ्यक्रम र पाठ्यसामग्री लागू गर्नुपर्ने कानुनी व्यवस्था छ ।

केन्द्रले गत १६ चैतमा सूचना जारी गर्दै सबै स्थानीय तहका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त पाठ्यपुस्तक÷पाठ्यसामग्री÷सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन सूचित गरिसकेको सूचित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस