कानुनमन्त्री गिरीले भने-संसद् अवरोध नगर्नेबारे काँग्रेसबाट सकारात्मक कुरा आएको छ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कानुनमन्त्री गिरीले भने-संसद् अवरोध नगर्नेबारे काँग्रेसबाट सकारात्मक कुरा आएको छ


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको प्रमुख प्रतिपक्षी काँग्रेसले संघीय संसद्को आगामी अधिवेशनमा अवरोध नगर्नेबारे सकारात्मक प्रस्ताव ल्याएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधि सभामा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक र सचेतकहरू तथा संसदीय समिति सभापतिसहितको बैठकका क्रममा मंगलबार मन्त्री गिरीले उक्त धारणा राखेका हुन् ।

सहकारी समस्या समाधानका लागि लागि सरकारले कानुनी व्यवस्था गर्न लागेको र प्रमुख प्रतिपक्षले संसद् अवरोधको समाधानको प्रस्ताव राखेको उनले जानकारी दिए ।

‘संसदमा गतिरोध हुनुपर्ने कुनै कारण छैन । काँग्रेस प्रमुख प्रतिपक्षको हैसियतमा छ । यति धेरै विधेयक पारित गरेर जानुपर्ने छ । संसद्लाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने छ । यस्तो परिस्थितिमा सानोतिनो विषयवस्तु उठाएर प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन । प्रमुख प्रतिपक्षको साथ र सहयोग पाउँछौँ भन्ने लाग्छ, ’मन्त्री गिरीले भने, ’हामी-सत्ता र प्रमुख प्रतिपक्ष) विभिन्न तहमा औपचारिक-अनौपचारिक छलफलमै छौँ । उहाँहरू (काँग्रेस) बाट सकारात्मक कुरा आएको छ । त्यसकारण संसद् अवरोध हुने, संसद्मा बाधा व्यवधान हुन्छ भन्ने मलाई लाग्दैन ।’

मन्त्री गिरीले देशभरिका सहकारीका समस्या समाधान गर्नका लागि सरकारले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिए । उनले सम्भव भए अध्यादेश र समयले नभ्याएमा संसद्मा विधेयक ल्याएर कानुनी व्यवस्था गर्ने तयारीमा सरकार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस