स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर : आयोग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर : आयोग


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन अपिल गरेको छ ।

आयोगले नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुले प्रत्याभूत गरेका प्रावधानहरूको कार्यान्वयन गरी प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार तथा सम्बन्धित सबैमा अपिल गरेको हो । विगत केही वर्षदेखि नेपाल वायु प्रदूषित हुने देशहरूको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको भन्दै आयोगले नागरिकको स्वास्थ्यमा पर्न सक्ने असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रारम्भिक अनुगमनका क्रममा नेपालमा स्थापित वायु गुणस्तर मापन गर्ने २७ वटा संयन्त्रमध्ये १५ वटा संयन्त्रले काम नगरेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘नेपालमा प्रतिवर्ष ४२ हजारभन्दा बढी नागरिकले वायु प्रदूषणका कारण मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको देखिएको छ,’ प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा मात्रै प्रतिवर्ष ५ हजार बढीको मृत्यु वायु प्रदूषणको कारण भइरहेको पाइएको छ । मुख्य गरी दीर्घकालीन फोक्सोको रोग, मुटुको रोग, मस्तिष्कघात, श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण आदि स्वास्थ्य समस्या हुने गरेको अनुगमनका क्रममा देखिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस