सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ : काँग्रेस « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ : काँग्रेस


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।

बैठकपछि काँग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली काँग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । त्यससँगै आजको बैठकले तत्काल नेपाली काँग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।

यदि काँग्रेसको माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने उनले चेतावनी दिए । नेपाली काँग्रेसले संसद अवरोध नचाहने बताउँदै लेखकले भने, ‘तर नेपाली काँग्रेसले उठाएको मागप्रति यदि सरकार गैरजिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भयो भने कुनै पनि संसदको बैठक अथवा संसद्का कामकारबाही अवरुद्ध हुने कुराको जिम्मा नेपाली काँग्रेस होइन, अहिलेको सरकारले लिनुपर्छ भन्ने पनि आजको दलले सर्वसम्मत निर्णय गरेको छ ।’

गृहमन्त्री रवि लामिछानेले संसदमा उपस्थित भएर जवाफ दिन्छु भन्दा किन नमानेको भनेर सोधिएको प्रश्नमा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको कुरा सुनिसकेकाले सबैको कुरा सुन्न जरुरी नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस