सबैभन्दा धेरै भोट पाएको व्यक्तिमाथि लगाइएको काँग्रेसको आरोप स्विकार्दैनौँ : रास्वपा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सबैभन्दा धेरै भोट पाएको व्यक्तिमाथि लगाइएको काँग्रेसको आरोप स्विकार्दैनौँ : रास्वपा


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेसले लगाएको आरोप स्विकार्न नसकिने बताएका छन्।

संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै सहकारी प्रकरणमा जोडेर मिथ्या आरोप लगाएर फसाउन खोजेको उनको आरोप छ।

‘उहाँहरूले समिति बनाउनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो। विषयवस्तु के सत्य तथ्य के ? भन्ने कुरा नबुझी मिथ्या आरोपको भरमा समिति नै चाहिन्छ भन्ने यो कुटिल चाल हो, ‘उनको भने,‘उहाँहरूले समिति बनाइदिनुस्, तपाईँहरू नै नेतृत्व गर्नुस्, बस्नुस् भन्नुभएको छ। त्यो कहाँबाट मिल्छ ?

‘हामीले हाम्रो नैतिकतालाई कहिले पनि बन्धक बनाएका छैनौँ। सत्य हो भने हामीले गर्नुपर्ने काम कारबाही गर्छौँ। यो पार्टी देशको चौथो ठुलो पार्टी हो। जसले यो देशको सबैभन्दा ठुलो मत लिएर सार्वभौम संसदमा आएको छ। त्यस्ता व्यक्तिमाथि मिथ्या आरोपको भरमा उसको राजनीतिक, सामाजिक र आर्थिक अधिकारहरू, मानवअधिकार खारेज गर्ने कुरा नेपाली काँग्रेसजस्तो लामो लोकतान्त्रिक इतिहास भएको पार्टीले जुन गर्छ त्यो रास्वपाले स्विकार्दैन।’

Tags :
प्रतिक्रिया दिनुहोस