सत्ता गठबन्धनलाई लिएर सांसदबीच घोचपेच, धोका पाएकाले धोका दिए के हुन्छ ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्ता गठबन्धनलाई लिएर सांसदबीच घोचपेच, धोका पाएकाले धोका दिए के हुन्छ ?


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली काँग्रेसलाई छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे । नेपाली राजनीतिमा सबै कुरा सम्भव छ भन्ने सत्ता गठबन्धनको फेरबदलले पुष्टि गरेको छ । 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) सम्मिलित सरकार पुनर्गठन भएसँगै नयाँ गठबन्धनलाई लिएर राजनीतिक दलका सांसदबीच घोचपेच चलेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले पटक पटक गठबन्धन फेरेर राजनीतिक अस्थिरता निम्त्याएको बताए । एक वर्षमा दुई पटक गठबन्धन फेरेको प्रधानमन्त्रीले ५ वर्षमा १३ पटकसम्म गठबन्धन फेर्न सक्ने उनको भनाइ छ । ‘मैले क्यालकुलेटरमा हिसाब गरेँ, गठबन्धन कति पटक फेरिने रहेछ भनेर । यही गतिमा प्रधानमन्त्री हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ’, उनले भने, ‘५ वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?’

२१ फागुनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच ८ बुँदे सहमति भएको थियो । त्यही सहमतिलाई लिएर लेखकले प्रधानमन्त्रीमाथि प्रश्न मात्र उठाएनन्, असक्षम भएको संज्ञा दिँदै राजनीतिक बेइमान भनी टिप्पणी गरे । आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि काँग्रेसले ‘प्रचण्ड’लाई राजनीतिक बेइमान भनी टिप्पणी गरेको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले ‘प्रचण्ड’लाई राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गरे । सांसद पौडेलले काँग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै काँग्रेसकै नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गरे । पौडेलले भने, ‘गिरिजा प्रसाद कोइरालाले ठिकै व्यक्ति छान्नु भएछ । अब यो देश सबै हिसाबले तपाईँले सम्हाल्नु होला भनेर कमरेड प्रचण्डलाई जिम्मा लगाएको कुरा साँचो हो । कोही पनि आतंकित हुन जरुरी छैन । गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्दै हुनुहुन्छ ।’

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसद्भित्र जुनसुकै दलका बिचमा पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे । आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई शुभकामना दिँदै उनले यो यात्रा अविराम र अविचलितरुपमा अघि बढोस् भन्ने कामना गरे । 

‘प्रधानमन्त्रीबाट विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधानसम्मतरुपमा विकल्प खोज्ने काम भएको छ । यसलाई सबै दलले सहज र स्वभाविकरुपमा लिनुपर्छ’, उनले भने, ‘अहिले प्रतिपक्षमा पुगेको काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बन्धमा केन्द्रित रहन्छ । यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ ।’

काँग्रेसका सांसद रामहरि खतिवडाले ‘प्रचण्ड’लाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ । काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार नुहुन्छ भने । फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता समीकरण फेरिनुमा प्रचण्डको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाए । बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्ति भन्दै नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्माननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नवगठित सरकारलाई असफल हुने छुट नभएको बताए । ‘सत्ता परिवर्तन भए पनि देशप्रतिको जनताका अवस्था परिवर्तन भएको छैन । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’, उनले भने, ‘यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । हिँड्दाहिँड्दै जिम्मेवारीले आफैँ थिचिने खालको हुने छुट पनि यो सरकारलाई छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताए । ‘प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन’, उनले भने, जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताए । उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले मुलुकको समस्या र चुनौतीलाई सम्बोधन गर्न दलहरू गम्भीर हुनुपर्ने बताए । ‘सबैको सकारात्मक र रचनात्मक सहयोग भएमात्रै मुलुकमा विद्यमान चुनौती समाधान गर्न सकिन्छ’, सांसद अधिकारीले भने ‘सरकारमा हुँदा वा प्रतिक्षमा हुँदा जनतालाई केन्द्रमा राख्नुपर्छ, विद्यमान राजनीतिक अस्थिरतालाई समाधान गरेर अघि बढ्नुपर्छ ।’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले मुलुकलाई राजनीतिक स्थायित्व दिन दलहरू एकजुट हुनुपर्ने बताए । 

बिहीबारको संसद बैठकमा सांसदहरुले राखेको मन्तव्यमा आधारित

Tags :
प्रतिक्रिया दिनुहोस