सुदूरपश्चिममा नयाँ समीकरण बनाउन नाउपा निर्णायक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा नयाँ समीकरण बनाउन नाउपा निर्णायक


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनाएपछि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) फेरि निर्णायक भूमिकामा पुगेको छ ।

२६ माघमा नाउपाले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र रावलले मुख्यमन्त्री पद गुमाएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस र एमाले जोसुकैले गठबन्धन बनाए पनि सात सांसद रहेको नाउपा निर्णायक छ ।

अहिले काँग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा नाउपाले एक मन्त्री र राज्यमन्त्री पाएको छ । सोमबार बनेको एमाले-माओवादीसहितको गठबन्धनमा सहभागी नभए सुदूरपश्चिममा नयाँ सरकार गठन असम्भव छ ।

प्रदेश सभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका (सभामुखसहित) ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपा र स्वतन्त्र एक-एक सांसद छन् भने एउटा सिट रिक्त छ । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ ।

फेरिएको समीकरणअनुसार माओवादी र एमालेसँग २० जना प्रदेशसभा सदस्य हुन्छन् । नाउपा समेत मिसिएपछि त्यो संख्या बढेर २७ पुग्छ । तर यदि नाउपा फेरिएको समीकरणमा सहभागी नभए मुख्यमन्त्री शाहले एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार प्रदेश सभामा बहुमत कायमै राख्न सक्छन् ।

काँग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा रहँदा शाहको पक्षमा २९ जना प्रदेश सभा सदस्य हुन्छन् । जुन सरकार टिकाउन बहुमत हो । नाउपाका अध्यक्ष रेशम चौधरीले भने नयाँ गठबन्धनको पक्षमा उभिने बताइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस