पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएन : मन्त्री भुसाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएन : मन्त्री भुसाल


५ माघ २०८०, शुक्रबार


सर्लाही । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा न्यून लगानी भएको बताएका छन् । आज आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाका अवसरमा कृषिको क्षेत्रमा तीन प्रतिशतमात्रै बजेट बिनियोजन भएकाले र त्यो पर्याप्त नभएको बताए । उनले कृषिमा सिँचाइ, मलखाद, बीउबिजनलगायत प्राविधियुक्त कृषिलाई अगाडि बढाउनु आवश्यक रहेको धारणा राखे । 

मन्त्री भुसालले कुल २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये करिब १७ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा पुगेको बताए । उनले चुरे संरक्षण, प्राङ्गारिक मलको प्रयोगले मात्रै उत्पादनलाई बढावा दिन सकिने र त्यसको उचित बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए । प्रविधिको विकाससँगै कृषि प्रविधिमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाइ थियो । 

उनले कृषिजन्य उत्पादन र कृषिमा सुधारात्मक परिवर्तन ल्याउन प्रविधि, उद्योग, मल बीउ, सिँचाइलगायत व्यवस्थापनका साथै बजारको उचित व्यवस्था गर्न आवश्यक रहेको र बजारको मागअनुसार कृषिजन्य वस्तुको उत्पादन गर्दा कृषि क्षेत्रमार्फत नै फड्को मार्न सकिने बताए।

किसानका उत्पादन र प्रविधियुक्त कृषिखेतीको प्रवर्द्धन र व्यवस्थापन गर्न सहज होस् भनेर कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका अध्यक्ष रमेश बुढाथोकीले बताए ।

‘मधेस प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनी मेलामा उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो । साथै बैंक तथा संस्थाबीच अन्तरक्रिया, पशु उपचार, गोबर परीक्षण, माटो परीक्षणका साथै किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको प्रदर्शन र स्थानीय कलाकारबाट कला, संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मेला माघ ७ गतेसम्म सञ्चालन हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस