अवैध सुन छानबिनमा देखिएन समन्वय, उड्डयन कार्यालयले भन्यो- एकल परिचालित भई सामूहिक लक्ष्य प्राप्त गर्न कठिन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवैध सुन छानबिनमा देखिएन समन्वय, उड्डयन कार्यालयले भन्यो- एकल परिचालित भई सामूहिक लक्ष्य प्राप्त गर्न कठिन


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २१ गते राति बरामद गरिएको १४ किलो अवैध सुन छानबिनमा सरोकारवाला निकाय बिच समन्वयको अभाव देखिएको छ । सुन तस्करी बारे छानबिन गर्न गठित समिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय बिच समन्वयको अभाव देखिएको हो ।

सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । समितिले आइतबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै छानबिनका क्रममा माग गरे अनुसारको सिसिटिभी फुटेज प्राप्त गर्न नसकेको जानकारी गरायो ।

विमानस्थलको आगमन तर्फको पछिल्लो तीन महिनाको सिसिटिभी रेकर्ड माग गरिएकोमा ब्याकपको सीमितताको कारण जम्मा पछिल्लो २१ दिनसम्मको मात्र रेकर्ड प्राप्त गर्न सकिएको समितिको भनाइ छ । विमानस्थल नागरिक उड्डयन कार्यालयले मङ्गलवार विज्ञप्ति निकालेर विमानस्थलको सिसिटिभी फुटेज २१ दिनदेखि नरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिक उड्डयन कार्यालयले प्रष्टीकरण दिँदै भनेको छ, ‘सबै सिसिटिभीको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमशः बढ्ने क्रममा छ । यस अघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा ढिलै भए पनि यो वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भई सकेकोले सम्पूर्ण सिसिटिभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुनेछ ।’ नागरिक उड्डयन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरू प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध हुन नसकेको जनाएको छ ।

‘यो बजेट आ.वा.२०७९/८० मा व्यवस्था भई टेन्डर प्रक्रिया अन्तर्गत खरिद गरी २७ असोज २०८० मा रेकर्ड स्टोरेज विस्तारको लागि नागरिक उड्डयन, भन्सार कार्यालय, नेपाल प्रहरी, अध्यागमन कार्यालय प्रमुखको उपस्थितिमा संयुक्त बैठक बसी निर्णय गरी जानकारी समेत गराई तीन महिना स्टोरेज क्षमता भएको प्रविधिको जडान कार्य अघि बढाइएको हो,’ नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रताप बाबु तिवारीद्वारा मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख छ । तिवारीका अनुसार १६ टिबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको हो ।

छानबिन समितिले भिआइपी कक्ष जाने सिँढीको क्यामेरा आउट अफ सर्भिस देखिएको हुँदा सो को मार्ग प्रयोग गर्दाको भिडियो क्लिप प्राप्त हुन सकेको थियो । यसअघि अर्थ मन्त्रालयमा पनि सिसिटिभी फुटेज ३ महिना नरहेको पाइएपछि २०७९ साउन १० मा गृह मन्त्रालयले सबै सरकारी निकायलाई कार्यालयको सिसिटिभी फुटेज ३ महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको थियो ।

यसै गरी छानबिन समितिले त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा वितरण गरिएका पासहरूको मोबाइल नम्बर सहितको विवरण प्राप्त हुन नसकेको जनाएको थियो । यस बारे नागरिक उड्डयन कार्यालयले भन्सार कार्यालयले जानकारी मागेको विषयमा उपलब्ध भएसम्मको सूचना उपलब्ध गराइएको जनाएको छ ।

नागरिक उड्डयन कार्यालयले भनेको छ, ‘पास वाहकको रेकर्ड माग भए बमोजिम नाम नामेशी उपलब्ध गराइएको र टेलिफोन नम्बरको हकमा कुनै व्यक्ति/संस्था विशेषको आवश्यक भए उपलब्ध गराउन सकिने जानकारी गराइएको पनि हो ।’

करिब चार हजारको नाम नामेशी उपलब्ध गराउन समय लाग्ने भएकाले व्यक्ति/संस्था विशेषको कसको चाहिएको भनेर नागरिक उड्डयन कार्यालयले विवरण मागेको थियो । तर, छानबिन समितिले व्यक्ति/संस्था विशेषको किटान गरी टेलिफोन नम्बर नमागेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

‘१७० भन्दा बढी निकायहरू कार्यरत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि निकायले एकल रूपमा परिचालित भई विमानस्थलको सामूहिक लक्ष्य प्राप्त गर्न कठिन नै हुन्छ,’ नागरिक उड्डयन कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्तिको गैर कानुनी क्रियाकलापका कारण कुनै पनि संस्था बदनाम हुन सक्दैन ।’ यसले घुमाउरो पारामा भन्सार कार्यालय एक्लै हिँड्न खोजेको नागरिक उड्डयन कार्यालयले सङ्केत गरेको छ ।

विमानस्थलमा समन्वय अभावको विषय छरप्रष्ट हुँदा पनि सरोकारवाला निकाय भने समन्वय भइरहेको बताउन चुक्दैनन् । विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक तिवारीले समन्वय भइरहेको बताए । उनले भने, ‘समन्वयको अभाव छ भन्न मिल्दैन । सामूहिक रूपमा जानु पर्छ भन्न खोजिएको हो । विमानस्थल स्थित प्रमुख निकायहरू बिच छलफल र समन्वय भई नै रहेको छ ।’

यसै गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले सुन तस्करीको छानबिनमा नागरिक उड्डयन कार्यालयले पूर्ण सहयोग गरेको बताए । उनेले भने, ‘हामी टिम वर्कमा विश्वास गर्छौ । एउटै निकायले मात्र काम गरे हुँदैन । सबै निकाय बिच समन्वय र सहयोग भयो भने विमानस्थलमा देखिएका सबै समस्याको समाधान हुन्छ । एउटा निकायको मात्र प्रयासले पूर्ण हुन सक्दैन ।’

विमानस्थलमा पाँच सय भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको छ । सिसिटिभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेसन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको छ । अध्यागमन कार्यालय र भन्सार कार्यालयले पनि आ–आफ्नो क्षेत्रमा सिसिटिभी जडान गरी सञ्चालन तथा सर्वेलेन्स कार्य गर्दै आएका छन् । विमानस्थल भित्रको सन्दिग्ध गतिविधि सम्बन्धमा सूचना दिन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न निकायहरू कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार : १४ किलो सुन छानबिन गर्दा १० गुणा बढी तस्करी भएको निष्कर्ष, इन्जिनियरमाथि निगरानी राख्न सुझाव

सम्बन्धित समाचार : विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाएको सुन छानबिन टोलीको गुनासो

सम्बन्धित समाचार : ‘ओभरसाइट एजेन्सी’ धेरै हुँदा विमानस्थलमा गन्जागोल

Tags :
प्रतिक्रिया दिनुहोस