१४ किलो सुन छानबिन गर्दा १० गुणा बढी तस्करी भएको निष्कर्ष, इन्जिनियरमाथि निगरानी राख्न सुझाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१४ किलो सुन छानबिन गर्दा १० गुणा बढी तस्करी भएको निष्कर्ष, इन्जिनियरमाथि निगरानी राख्न सुझाव


८ पुस २०८०, आइतबार


Gold

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । गत मंसिर २२ गते गठन भएको १४ किलो सुन तस्करी प्रकरणको छानबिन लागि गठन भएको समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । जसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । 

२२ मंसिरमा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यस क्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अङ्कित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए । 

छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’ मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । विमानस्थलमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

विमानस्थलबाट सुन बाहिर पठाउन नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिकल राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

समितिलाई अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री अध्ययन तथा कल डिटेल एनालाइसिस गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यादेश थियो । समितिले भन्सार ऐन २०६४ तथा नियमावली २०६४ बमोजिमको अधिकारको प्रयोग गरी छानबिन गरेको थियो ।

समग्र सूचना तथा तथ्याङ्कहरूको विश्लेषण गरी राय सुझाव पेस गर्ने, विमानस्थलमा कार्य सञ्चालन गर्ने विभिन्न निकायहरूको ड्युटी तालिका लिई अध्ययन तथा विश्लेषण गर्ने र ड्युटीमा रहेका क्रु मेम्बरहरूबारे जानकारी लिई अध्ययन गर्ने कार्यादेश अनुसार समितिले अध्ययन थालेको थियो । सीसीटीभी फुटेज एनालाइसिस, फोन र सामाजिक सञ्जालका मेसेन्जहरुको सम्पूर्ण डिटेल अध्ययन, संलग्न व्यक्तिहरूको यात्रा विवरण, सीसीटीभी फुटेज तथा कर्मचारीहरूसँग सम्बन्धित विवरण तथा तथ्यहरूको समितिले विश्लेषण गरिएको थियो । 

१४ किलो सुन तस्करी प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वमा ६ सदस्यीय समिति गठन भएको थियो । मीन घलेको समूहले दुबईमा तथाकथित अङ्कित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको समितिले विभिन्न सुभलावहरु पनि दिएको छ ।

समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । समितिले निरीक्षणका लागि जाने ईन्जिनियरहरुको टुलबक्स लगायतका औजार अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ्, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने÷लिने व्यवस्था मिलाउन समितिले सुझाएको छ । व्यक्तिगत सवारी साधनहरू सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र लैजान रोक्नुपर्ने, नेपाल आयल निगममा जाने कर्मचारीहरूको सवारी साधन पार्कीङ्ग गरे पश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच पछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनु पर्ने सुझाव समितिको छ ।  

यस्तै अन्तर्राष्ट्रिय रन वे को १ नम्बर वे को छेउबाट आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवत जावत बन्द गर्नु पर्ने सुझाव पनि समितिको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले प्रतिवेदनले सुधार गर्नु पर्ने विषयहरू औँल्याएको जानकारी दिँदै १४ किलो सुन प्रकरणमा संलग्नहरुविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस