हवाई टिकटमा मनपरी रोक्न कोटा छुट्याउने सहमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हवाई टिकटमा मनपरी रोक्न कोटा छुट्याउने सहमति


१० पुस २०८०, मंगलबार


काठमाडौँ । लामो समयदेखि जुम्ला विमानस्थलमा हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन् ।

विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो ।

सर्वसाधारण र बिरामीले जहाजको टिकट पाउन सहज नभएको गुनासो आएपछि सर्वपक्षीय बैठक आह्वान गरिएको पजल्ला प्रशासन कार्यालयले जनएको छ । बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ । जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई-दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस