झण्डै १६ सय सरकारी कर्मचारीलाई कारबाही सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झण्डै १६ सय सरकारी कर्मचारीलाई कारबाही सिफारिस


९ पुस २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजारभन्दा धेरै उजुरी परेका छन्। एक वर्षको अवधिमा सो उजुरी परेका हुन् ।

दर्ता भएका उजुरीमध्येबाट १६ हजार ७३२ उजुरी फर्छ्यौट गरिएको विवरणमा उल्लेख छ। यस्तै यो एक वर्षको अवधिमा विभिन्न कसुरमा १७४ वटा मुद्दा दायर भएको छ।

यी मुद्दाबाट करिब २ अर्ब रुपैयाँ बिगो दाबी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रगति विवरणमा उल्लेख छ। यस अवधिमा अख्तियारले ३७ वटा स्टिङ अपरेसनका क्रममा ५६ व्यक्तिलाई पक्राउ गरिएको पनि प्रधानमन्त्रीको १ वर्षको उपलब्धी विवरणमा लेखिएको छ।

यस्तै, एक वर्षको अवधिमा राष्ट्रिय सतर्कता केन्द्रले ९४० वटा उजुरी दर्ता गरेको र तीमध्ये ७१८ वटा फर्छ्यौट गरिएको पनि विवरणमा उल्लेख छ। केन्द्रले ३५६ वटा सरकारी कार्यालयहरूको अनुगमन गरेर १ हजार ५ सय ८६ कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस गरेको विषय पनि सरकारले आफ्नो वर्ष दिनको उपलब्धीका रूपमा उल्लेख गरेको छ।

यस्तै, मिटरब्याजसम्बन्धी आयोग गठन गरेर मिटरब्याज पीडितको समस्या समाधानमा पनि पहल गरिएको सरकारको उपलब्धी पुस्तिकामा उल्लेख छ। यस्तै, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याएको सरकारले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएको मङ्गलवार एक वर्ष हुँदैछ। सो अवसरमा भोलि प्रधानमन्त्री ‘प्रचण्ड’ले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस