बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री


३० मंसिर २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।”

प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए । “अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्”, उनले भने, “लोकतन्त्रमा मात्रै सबै संस्कृति समान रूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध सङ्घर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।”

उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामर्थ्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे ।

कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेताहरू राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस