उपनिर्वाचनको नतिजाबारे राप्रपाले भन्यो-संकेत सकारात्मक भएनन्, रणनीतिमा समीक्षा गर्छौँ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

उपनिर्वाचनको नतिजाबारे राप्रपाले भन्यो-संकेत सकारात्मक भएनन्, रणनीतिमा समीक्षा गर्छौँ


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले इलाम र बझाङका चुनावी सङ्केतहरू सकारात्मक नभएको टिप्पणी गरेका छन् । इलाम र बझाङमा राप्रपाका उम्मेदवारहरूले सय मत कटाउन नसकेपछि प्रवक्ता श्रेष्ठले यथास्थितिमा देश अघि बढ्न नसक्ने बताए ।

उनले भनेका छन्, ‘तथापि परिणामको प्रारम्भिक संकेतहरुबाट यथास्थितिमा देश अघि बढ्न सक्दैन, बदलिनैपर्छ र बदल्छौँ भन्ने हाम्रो संकल्प कमजोर भएको छैन । यो उपचुनावले हामीलाई हाम्रो रणनीति र कार्यनीतिको समीक्षा र पुनरावलोकन गर्ने मौका दिएको छ । हाम्रा प्रयत्नहरू जारी रहनेछन्, कुनै क्षेत्र विशेषमा भएको चुनावबाट निराश हुने कुरै छैन ।’

जनता जनार्दन मतदाताबाट व्यक्त अभिमतलाई स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ ।

उनले थपेका छन्, पछिल्ला जुनसुकै चुनावहरूमा मतदाताको ठूलो संख्याले मतदान नगर्ने अवस्था यसपटक पनि देखिएको छ । यो वर्तमान राजनीतिक प्रणालीप्रति मतदाताहरूको निराशाको सामूहिक अभिव्यक्ति हो, यसलाई नजरअन्दाज गर्न मिल्दैन ।

देशको सुदूर भविष्य, दीर्घकालीन हित, एकता र समृद्धि राप्रपाले लिएको बाटोबाट मात्रै सम्भव रहेको उनको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस