चिसोका कारण बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिसोका कारण बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे


२४ मंसिर २०८०, आइतबार


महोत्तरी  । चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी  बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीले बताए । अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका  बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए । 

“यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्”, उनले भने, “खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन् ।” यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्ध वृद्धा र महिला बढी रहेका जनाइएको छ 

मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा. चन्द्रमणि खत्रीले बताए । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ । जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुवाँले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिए । जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती (पराले झुप्राका बस्ती)मा बढी देखिएको उनको भनाइ छ ।

चिसो बढेसँगै धुलो र धुवाँका कारण बढेको स्वास्थ्य समस्या आहार व्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । “हेर्नुहोस्, घरबाट निस्कनासाथ जताततै धुलो उडिरहेको देखिन्छ, तर आम नागरिक मास्क लगाउने गर्दैनन्”,स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने, “यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।” आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा  मौसमअनुसार लवाइ सन्तुलित गरे हम्मेसी कुनै स्वास्थ्य समस्या नआउने उनको भनाइ छ ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान–बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय  प्रमुख  गुप्ताले बताए ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान–बेलुका जाडो छल्ने उपायका लागि काम गर्न स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले पछि अप्ठ्यारो बेला व्यवस्थापन गर्न सजिलो हुन्छ ।”

 मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस