मुख्यमन्त्री कार्की र एमाले नेताबीच छलफल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री कार्की र एमाले नेताबीच छलफल


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेश सरकार विस्तार र समृद्ध प्रदेशको विषयमा मुख्यमन्त्री केदार कार्की र सत्तासाझेदार दल नेकपा एमालेका नेताबीच छलफल भएको छ।

सोमबार भएको छलफलमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की अनुपस्थित रहे पनि दलका उपनेता राम राना, प्रमुख सचेतक रेवतीरमण भण्डारीलगायत अन्य नेता थिए। बैठकपछि एमाले कोसी प्रदेशका प्रमुख सचेतक भण्डारीले सरकार विस्तार, बजेट, र प्रदेश सभा सञ्चालनका विषयमा छलफल भएको बताए।

भण्डारीका अनुसार मन्त्रीमण्डल विस्तारपछि बजेट पास गर्ने विषय अघि बढ्ने बताए। दलका नेता कार्की काठमाडौंमा रहे पनि बैठक भएको बताएका प्रमुख सचेतक भण्डारीले मन्त्री विस्तारको विषयमा सहमति जुट्न नसकेको प्रस्ट्याए। एमालेले प्रदेश सरकारमा एमाले र काँग्रेस गठबन्धन मात्र रहनुपर्ने जनाउँदै आएको छ।

एमालेले प्रदेशमा ५ वटा मन्त्रालयको माग गरेको बताइएको छ। जसमा काँग्रेस ४ वटा र एमालेले ५ वटा मन्त्रालयसम्म लिन सक्ने अवस्थामा रहेको बताइएको छ।

प्रदेशका मुख्यमन्त्री कार्कीले असोज २८ गते पदभार ग्रहण गरेका हुन्। त्यसैगरी, मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र काँग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन्।

सोमबार भएको बैठकमा मुख्यमन्त्री कार्की, बिना विभागीय मन्त्री शमशेर राई, एमालेबाट दलका उपनेता राना र प्रमुख सचेतक भण्डारी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस