कर्णालीमा विकास माग्ने कि गर्ने ? एक कर्मचारीले भुईँतिरबाट हेर्न खोज्दा  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कर्णालीमा विकास माग्ने कि गर्ने ? एक कर्मचारीले भुईँतिरबाट हेर्न खोज्दा 


७ कार्तिक २०८०, मंगलबार


लेख सार: भूँईमान्छेको नाममा सतहमा गरिने सामाजिक सुरक्षा र सेवाका काम, जिम्मेवारीमा लिप्त र तृप्त नभई गरिने आलोचना र माग, सूक्ष्मतामा प्रवेश नगरेको जानकारी र आत्मानुभूति विनाका नेता र अगुवाका भाषण र कर्म नै हामी पछाडि परिरहेका त हैनौँ भन्ने आत्मानुभूति भयो कर्णालीको सेरोफेरोमा प्रवेश गर्दा । वरिष्ठ साहित्यकार सिके लाल (कान्तिपुर दैनिक २०८०, असोज १७) ले आत्मानुभूति गरेजस्तो अध्ययनबिनाको प्रमाणपत्र धारीहरु एवम् अध्ययन र अनुभूति नै नगरेका बुझक्कडहरू विकासका विज्ञ बनेका छन् र विकासलाई गिजलेका त छैनन् ? भूँई मान्छेको नाममा अस्वभाविक उत्तेजनाबाट  गोलबन्द गरी  विकासे बजेटमा प्रभाव पार्ने प्रवृत्तिको ज्ञान र तागतलाई विनिर्माणको खाँचो र उपायका बारेमा यो लेख केन्द्रित छ ।

अलमल र उद्भ्रान्त: जागिरमा चक्कर खाने काम बेलाबेलामा भई रहन्छ । घनचक्रमा फसिन्छ । उत्रिन्छ पनि । स्वास्थ्य लगायतका धेरै उद्भ्रमका विषयवस्तु सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा पर्दछ भन्ने कुरा कर्णाली प्रदेशको सामाजिक सचिव भएर आउँदा सम्म हेक्का थिएन । चिकित्सा शिक्षा आयोगको सदस्य-सचिवबाट कर्णाली प्रदेशमा सरुवा भएको थियो । त्यहाँ काम गर्दा स्वास्थ्य क्षेत्रका बारेमा केही सामान्य विषयवस्तुहरू जानकारी थियो । तर सूक्ष्मतामा तागत थिएन । स्वास्थ्य, शिक्षा, बालबालिका, महिला तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद यी सबै विषय क्षेत्र कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने रहेछ । यसरी अलमल र उद्भ्रान्त कै परिवेशमा परिवेशलाई सिकाइमा रूपान्तरण गर्ने अवसर र अभिलासालाई विस्तरै व्यवहारमा रुपान्त्रण गर्ने प्रयासले निरन्तरता पाउन थाल्यो ।  

सुरुका कुरा: आफ्नो जागिरे दैनिकी र कार्य प्रकृतिको रसायन मिले जस्तो लाग्यो । प्रतिदिन जस्तो छलफल, बैठक, गोष्ठी र बहस । विकास साझेदारहरूसँग बैठक, छलफल आदि। शिक्षा क्षेत्रमा मात्र बीस र स्वास्थ्यमा दुई दर्जन जति साझेदारी गर्ने संस्थाहरू । सोही अनुसार अरु विषय क्षेत्रमा, तर युवा तथा खेलकुद र स्वास्थ्यको आयुर्वेद क्षेत्रमा शून्य।

शिक्षा क्षेत्रका मान्छे (मान्ठा) को अधिक बारम्बारता भएको र चोटिलो अभिव्यक्ति र माग थियो विद्यालय भवन र खेलमैदान चाहियो । स्वास्थ्यकर्मी र चिकित्सक लगायतका जन जानकार र प्रतिनिधिका कुरा ५० बेडका अस्पताल र ठुला-ठूला चिकित्सकीय औजार (मेडिकल इक्युप्मेन्ट) चाहियो । सामाजिक विषय क्षेत्रका (बालबालिका, अपाङ्गता, महिला, जेष्ठनागरिक आदि) माग सुर्खेतका राम्रा होटेलमा कर्णालीका पिछडिएका भुईँ मान्छेको सशक्तीकरणका लागि भाते गोष्ठी/मिले सम्म बास, भात र भत्ता समेतको । युवा तथा खेलकुद तर्फका युवाहरूको पिरलो र माग यो वा त्यो खेलको प्रतिस्पर्धामा राजधानी वा अन्यत्र सहभागी हुन जान पर्‍यो खर्च चाहियो । सरकारले गरेन हामी एकलै यति धेरै गर्‍यौँ । प्रदेश सरकारले केही गरेको छैन । हामीलाई खर्च दिए पुग्छ। आदि इत्यादि ।

शिक्षाका जानकार तथा जिम्मेवार जनप्रतिनिधि बालबालिका सिकाइका कुरा गर्न जान्दैन, भ्याउँदैन वा के हो ? शिक्षामा सुधार नयाँ र ठुला विद्यालय-घर हो भन्नेमा पूर्ण केन्द्रित छन् । स्वास्थ्यका सेवी वा कर्मी र जानकारहरू जनशक्ति थप्ने, बेड बढाउने ठुला औजार खरिद गर्नेमा केन्द्रित । टेलिमेडिसिन (दूर चिकित्सा पद्धति) मा सरकारले ठुला धन राखी खर्च गरेको छ । स्वास्थ्यकर्मीहरू दूर दरारका बिरामीले त्यस पद्धतिबाट कस्तो सेवा पाए । कति सेवा पाए। कतिले पाए भन्ने विषयमा अपवाद्‍मा पनि सुन्‍नपाइदैन। तथापि विशिष्ट सेवा पुर्‍याएको भत्ता बढाउने कुरामा मतो मिलेकै छ। 

भुईँ नजिकको सम्मान, बुझाई, चिच्याहट: हामी भुईँ कर्मी होइनौँ । हुन पनि सक्दैनौँ । चाहादैनौं पनि । हाम्रो अनुगमन पनि त्यस्तै हुन्छ । कसैले लाहुरे अनुगमन भन्छन् । कसैले भाते र राते अनुगमन । सतही अनुगमन। कर्मकाण्ड अनुगमन आदि। नगर्न भन्दा केही गर्न त उपयुक्त नै होला । यही कुरा मनमस्तिकमा राखी जिल्लाका शिक्षा सम्बद्ध जिल्ला स्तरीय कार्यालय, स्वास्थ्य, आयुर्वेद र सामाजिक, युवा तथा खेलकुद समेत। त्यी चार/पाँच कार्यालयमा कम्तिमा केही घण्टा बिताउने । कार्यालय परिसर अवलोकन गर्ने । अवस्था, समस्या र समाधानका विषयमा प्रस्तुति र छलफल गर्ने । अन्तर्गतका केही विद्यालय वा निकायहरूको अवलोकन र अन्तरक्रिया गर्ने गरी योजना भयो । सरकारी योजना सम्पन्न नहुने कुरै भएन ! कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला बाहेकका सबै जिल्ला पुगियो, घुमियो। सुनियो जे बुझियो बुझियो ।

अवलोकन, छलफल र अन्तरक्रियाका क्रममा तत् तत् ठाउँको तत्कालीन अवस्था र परिवेशका बारेमा राम्रै जानकारी मिल्यो । समस्या राम्रैसँग प्रतिविम्ब भए । सुझाव पनि आए। सुझाव मात्र आएनन् प्रदेश मन्त्री र सचिवलाई प्रश्न पनि प्रस्तुत भए । पत्रकारहरूले अझ चोटिलोसँग प्रश्न तेर्स्याए । जिल्लाका मान्छेले सबै भन्दा सजिलोसँग सुझाव दिए प्राय सबको सुझाव उस्तै थियो । प्रदेश सरकारले/सामाजिक मन्त्रालयले स्रोतको व्यवस्था गरेर प्रस्तुत गरिएका समस्या सबै समाधान गरिदिने/गर्न पर्‍यो/गर्नु पर्छ/ किन नगरेको ? थप प्रश्नमा अरु जिल्लालाई भन्दा हाम्रो जिल्लामा किन बजेट कम पठाएको ?

शिक्षाका भुईँका कुरा : एउटा विद्यालयमा पुगियो नगरपालिकाका दुई कोठा र सामाजिक मन्त्रालयका चार कोठा अनि पुरानो सहित सात/आठ कोठा भएको कोठामय पूर्वाधार रहेछ । बाहिरबाट पहेँलो रङ समेत लगाएको देख्दै राम्रो विद्यालय भवन रहेछ । त्यसैले होला स्थानीय अगुवाहरूले त्यही अवलोकन गर्न आग्रह गरेका थिए । विद्यालयमा अवलोकनको क्रममा अभिभावक र जानकारहरू धेरै जना  भेला भएका थिए । विद्यालयका बालबालिका कसरी सिकिरहेका छन् भन्ने बारेमा केही समय बिताइयो । अझ सूक्ष्मतामा प्रवेश गर्दै केही समय बिताइयो । विद्यालयमा शौचालय नै रहेनछ। विद्यालयमा ‍औषत विद्यार्थी उपस्थित एक चौथाइ पनि रहेनछ । अघिल्लो दिनमा १२३ जनामा जम्मा ७ जना विद्यालय गएको रहेछन् । विद्यालयमा खानेपानीको व्यवस्थापन रहेन छ । कक्षाकोठाहरू हेर्दै जाँदा अरु कक्षा भन्दा बाल विकासको कक्षा तुलनात्मक रूपमा व्यवस्थित रहेछ । अलि खुसी लाग्यो । विद्यालयमा बच्चा खेल्ने खासै ठाउँ रहेनछ । बाल विकासकी शिक्षिका/सहजकर्तासँग कुरा गर्ने मन भयो ।

पहिला अलि असजिलो मान्नुभयो बिस्तारै विषयवस्तुमा खुल्नु भयो । मैले आदर पूर्वक जिज्ञासा राखेँ “यहाँ भएका सबै अभिभावक, व्यवस्थापन समितिका मान्छे, हामीसँगै आएका जिल्लाका मानिसहरूले बालबालिका विद्यालय अनुपस्थित हुनु अभिभावकले नपठाएर हो, उनीहरूमा चेतना नै छैन  भन्छन्, त्यसै हो ? ” वहाँले सहज उत्तर दिनु भयो “ठुला मान्छेले भनेको कुरा ठिकै त होला नि सर”  भन्नुभयो । उहाँको  अनुहारबाट संकेत मिल्यो । त्यो ठिक हुनुपर्छ । केही गन्थन पछि वहाँलाई थप प्रोत्साहन  गर्दै यस विद्यालयको बारेमा जान्ने तपाईँहरू भन्दा अरु हुन सक्दैनन् तपाइले केही थप कुरा भन्न पर्छ भन्ने कुरामा विश्वस्त परेपछि खुल्नु भयो । भन्नुभयो÷”सजिलो तरिका छ, सबै विद्यार्थी विद्यालय आउँछन् ।” 

“सरकारले दिएको २० रुपैयाँको खाजा सधैँ सबैलाई दिने ।” वहाँको सरल उत्तर थियो । मैले थप जिज्ञासा राख्दै “त्यो बीस रुपैयाँले पुग्दैन भन्छन् ?” वहाँको फेरि त्यस्तै सरल उत्तर थियो “अरुमा त्यसो होला हाम्रो यहाँका दलित बस्तीका बच्चा हुन्, कतिको घरमा खान पनि मुस्किल छ । खाजा (दिवा खाजा) मकै दिए पेट भरी पुग्छ ।” म दङ्ग परेँ । “कसले कसरी भुट्ने र बच्चालाई दिन त ?” भन्ने जिज्ञासाको पनि सहजै उत्तर प्राप्त भयो । वहाँको भनाइ थियो  “पालो गरेर अभिभावकलाई जिम्मा लगाए हुन्छ कि ? भन्नुभयो। म हौसिँदै “तपाईँको विचारमा के भए यो बाल विकासलाई उत्तम खालको बनाउन सक्नुहुन्छ । बोर्डिङ स्कुल भन्दा राम्रो बनाउन सक्नु हुन्छ” भनेँ । “अहिले विद्यालयको आँगन सानो छ, बच्चा तल खस्छन् । विद्यालयको आँगनमा घेराबार। बच्चाले सजिलै पानी खान मिल्ने धारो । त्यसपछि दिवा खाजा यति भए पुग्छ, अरु जे चाहिन्छ म नै व्यवस्था गर्छु । बोर्डिङका बालबालिका यहाँ आउने गराउन सकिन्छ ।” 

वहाँ एसएलसी पास मात्र हुनुहुँदो रहेछ । तीस दिन जतिको बाल विकासको तालिम लिएकी । उहाँको आवाज उच्च प्रमाणपत्र धारीबाट किचिएको छ । सम्भ्रान्त, नवसंभ्रान्त र राजनीतिक कर्मीबाट पिल्लिएको रहेछ भन्ने कुरामा पूर्ण विश्वस्त हुन सकिन्थ्यो ।

अर्को जिल्लाको एउटा विद्यालय देखाउने स्थानीय सरोकारवलाहरुले रहर गरे । गयौँ ८ कक्षासम्म चलेको विद्यालयमा १५ कोठा बनेको रहेछ । पटक पटक संघीय, प्रदेश र स्थानीय तह गरी तिनै तहका सरकारको अनुदानमा ती कोठाहरू बन्दै रहेछ । तर कुनै काम पनि राम्रोसँग पूरा भएको रहेनछ । ठूलाठूला कोठा रहेछन् । खेलमैदान अलपत्र, डोजर लगाएर पैसा नभएर छाडेको रे । अधुरा सबै काम राम्रैसँग पुरा गर्न अझै करोडले पुग्दैन जस्तो अनुमान भयो । त्यसको सेवा क्षेत्र निश्चित रहेछ । तत्कालमा १०० जना भन्दा केही बढी विद्यार्थी जसअनुसार सरदर १५ जना पनि एउटा कक्षामा नभएको पाइयो । विद्यार्थीको कक्षागत संख्या तल्लो कक्षामा घट्दो छ । जनसङ्ख्याको प्रकृति आदि सबै पक्ष हेर्दा त्यस विद्यालयमा विद्यार्थी घट्ने हो, बढ्ने होइन, पक्का छ । किन त्यस्तो उपद्रो र भद्रगोल गरेको होला सानो विद्यालय/साना कोठा र स्थानीय सामग्रीबाट विद्यालय भवन भए त भई हाल्यो नि !  भन्ने कुरा दिमागमा आयो। करोडौँ रुपैयाँको घर। सिमेन्ट लगेर हुर्मतका साथ केन्द्रीय डिजाइनमा बनेको त्यी अर्ध अनावश्यक संरचनाले सबैलाई हैरान पारेको रहेछ ।

त्यो जुम्लाको पोटमार भन्ने ठाउँ अत्यन्तै सुन्दर भूमि रहेछ । स्वीजरल्याण्डको जुरिज पर्यटकीय स्थलभन्दा राम्रो लाग्यो । खेल्ने ठाउँका लागि डोजरले भत्काएको मैदान चाहिँदैन । प्राकृतिक चउरहरू वरपर प्रयाप्‍त छन् त !  मन बिग्रियो सकभर केही नबोली बिदाइ हुने प्रयास गरियो ।

स्वास्थ्य क्षेत्रका भूँइतिरका कुरा : स्वास्थ्य क्षेत्रका कुरापनि सामान्यतया उस्तै छन् । विषय क्षेत्र फरक भए ता पनि । सारमा उस्तै । एउटा जिल्लामा सबैजसो सरोकारवाला भेला भए । कुरा सुनियो । सबैको एक स्वर थियो ५० बेडको अस्पताल चाहियो । मन्त्रालयले त्यो जिल्लालाई पक्षपात गर्‍यो । एम एस एस (मेडिकल स्टयाण्डर सर्भिस) अर्थात् अस्पतालले पूरा गर्न पर्ने चिकित्सकीय न्यूनतम सेवा र सुविधाको अवस्था परीक्षण गर्न टोली त्यहाँ पुगेर काम सम्पन्न गरिसकेको रहेछ। धेरै सूचकमा आधारित त्यो परीक्षण/मूल्याङ्कनका साधनको नतिजा अनुसार त्यो स्वास्थ्य कार्यालयअस्पताल कमजोर व्यवस्थापकीय क्षमता भएकोमा पर्दो रहेछ । त्यो मूल्याङ्कन समूहसँग राम्रै छलफल भयो, करिव ९०% त्यसले औँल्याएका विषयवस्तु स्थानीयता र व्यवस्थापकीय कुशलतामा भर पर्ने रहेछ । त्यसमा पनि थप स्रोतको आवश्यक नपर्ने । पुन:अस्पतालको अवलोकन भयो । कमजोरीमा स्वअनुभूति नगरी भएका कमजोरी अरूतिर सोझ्याइ दिँदा सहज हुँदो रहेछ ।

सामाजिक विषय क्षेत्रका कुरा : एउटा अर्को जिल्लामा जेष्‍ठ नागरिकको विश्राम स्थलमा पुगियो ।  माग पत्र प्राप्त भयो भ्रमण कार्यक्रम, मनोरञ्जनका लागि रकम, विश्राम गृहको नयाँ भवन, साविक भवनको मर्मत आदि । यी विषयमा धेरैले जोडतोडका साथ कुरा उठाए । कस्तो राम्रो कुरा यस्तो कुरालाई सहयोग गर्नु पर्छ भन्ने मनमा छाप पर्‍यो । स्थानीयअरुले धेरै  जोड त गरेका थिएनन् , संयोगले नजिकैको एउटा सुरक्षा गृह (सेफ हाउस) मा पुगियो । आफन्त र आफ्नै घरकाको वलत्कारमा परेका वालिका, बलात्कार परेका र सूचना बाहिर पुर्‍याइ भनी घरबाट निकालिएका महिला आदि इत्यादि विषयवस्तुका बारेमा अवगत भयो । ती बालबालिका र महिलामा साहसी रूप देखाउने महापुरुषहरूको पहुँच राजनीति कर्मी मात्र होइन, प्रहरीले समेत हैरानी व्यहोर्न परेको विषयवस्तु हृदयविदारक थियो । कथा धेरै थिए । कल्पना भन्दा बाहिरको विषय थियो । अकल्पनीय र आश्चर्य लाग्ने । त्यही भक्कानिन्छ जस्तो भयो । अझ बढी जानकारी लिन डर लाग्यो ।

त्यस अवलोकनले अघिल्लो अवलोकनको बुझाइलाई विनिर्माण गर्‍यो । ती जेष्ठ नागरिकहरूले त वृद्ध भत्ता पाएका थिए । धेरैजसो निवृत्त कर्मचारी र शिक्षक रहेछन् । यी र यस्ता असक्षम महिला र बालबालिकालाई सुरक्षा दिने कुरामा किन जिल्लाका सरोकारवालाको चासो कम होला भन्ने लाग्यो । पहिलाको ज्ञान भत्कियो (डिकन्स्ट्रक) भयो। नयाँ ज्ञान वन्‍न सकेन (रिकन्सट्रक्ट भएन) । साबिकको कर्णालीका अनकन्टार भीर, दैलेख, सुर्खेत र जाजरकोट तिरका अकिञ्चन राउटे, गन्दर्भ र वादीहरूका कथा र व्यथा अझ कस्ता होलान् ?

मनमा चिसो पर्‍यो यो मतिले हामी कता जाने होला ।  नकारात्मक सोच पनि उब्जियो कोरोना र युक्रेन युद्ध जस्ता प्रतिकुल परिवेशले उत्पात मच्चिने छ । त्यति वेला सबै अतासिने छन् बाँच्नको लागि सुरक्षित भूमिको खोजी हुनेछ । आफू सुरक्षित हुन आफ्ना रैथाने वस्ति तथा कुना कन्दरा तिर लाग्ने छन् । देखे जानेका सीप र बुद्धि ती भूमिहरूमा उपयोग हुनेछ अनि विकास सम्भव होला । नत्र विकास खाने हो । मानव क्षमता विकासमा को लागेको छ र विकास हुन्छ ? भूँइ मान्छेको हितमा खास के काम भएको छ र यहाँ ? नव धनाढ्य र ठालुहरू जन्मेका छन् । राजनीतिक दल, झुणड र गुट हबला दिएर विभिन्न बाहानमा विकास खाने । भूँइ र रैथाने वस्तिका नाममा आफ्नो थातथलो छाड्ने हर्कत गर्ने । यो विकासको नमुनाले अधो गति लगाउँछ । अधोगति लगाउदैन् ।

विकासको नेतृत्व गर्ने राजनीति तर्फ सोच पुग्ने रहेछ त्यताको सोचले पनि शान्ति मिलेन । भुईँ मान्छेका कुरा नसुने पनि चुनाव जितिने भयो । किनकि तिनको संख्या र आवज चुनावलाई प्रभाव पार्ने खालको छैन र भएन । त्यो भन्दा सजिलो तरिका चुनावमा केही रकमा खर्च गरेर उनीहरूको गरिबीको पिडामा छणिक मलहम लगाउने र चेतनाको अवस्थाबाट फाइदा लिन सजिलो देखियो ।

अन्य: यी माथिका विषयवस्तु प्रतिनिधि मूलक मात्र हुन् । पानाका पानामा र दिमागमा थुप्रै कथा र उपकथा छन् । सल्यानकी एक हकी, कर्मठ, व्यवशायिक रूपमा सक्षम, युवा महिला डाक्टरलाई मुसुन्डेहरुको जमातले राजनीति कर्मीहरूको सहयोगमा लखेटेको घटना । कालिकोटको करिब छ/सात करोड सरकारी धन खर्च भएको अस्पतालको शून्य उपलब्धिको पेचिलो अवस्था र  हामीले व्यहोर्न परेको हुर्मत । आफैँ पैसा तिरेर भर्ना भएका विद्यार्थीको छात्रवृत्ति सम्बन्धी पत्रकारहरू समेतको बुझाइ र घोचाइ, व्यथा र कथा आश्चर्य चकित छन् । यस लेखको विषम बन्न सकेन । छुट्टा छुट्टै लेखको रूपमा विस्तार हुने अपेक्षा गरौँ ।

गुरु तर्फ फर्किदा: यी र यस्ता घटनाहरूले नेपालीका एक जना गुरुले भनेको कुराको याद आइरहेको छ ।

एका देशमा साह्रै जनप्रिय राजा थिए रे । जनता दिन दिनै दुःखी हुँदै गएछन् । राजाबाट जनताको चाहाना पूरा गर्ने मन्त्रीको खोजी भएछ । एक जना महापुरुषले यति स्रोत भए समाधान गर्छु भने छन् राज्य कोषको सोही अनुसार उपयोग गर्ने गरी मन्त्री बनाइए छ । उनिबाट भएन । अर्कोलाई बनाइएछ । एक पछि अर्को कुनै मन्त्रीले पनि जन अपेक्षा पूरा गरेन । धेरै काल बित्यो । राजकोष सकियो । जनतासँग कर लिन पनि राजालाई नैतिक साहस भएन रे । राजालाई सन्ताप झन् बढ्दै गयो । राजा एक दिन वैरागिएर सामान्यजनको पोषाकमा रैतीको बस्ती तिर लागेछन् । एउटा चौतारामा केही गाउँलेहरू गफ गरिरहेको ठाउँमा कुरो सुनेछन् । राजाले सबै कुरा सुनेपछि, तपाईँले कुरा गरेको मान्छे को हो ? भनेर सोधेछन्। ती मान्छे अर्को गाउँमा गएको जानकारी मिलेछ।

केही समय पछि ती अर्को गाउँ गएको मान्छेलाई दरबारमा बोलाई मन्त्री बन्न प्रस्ताव गरिए छ । ती गाउँलेले सिफारिस गरेका मानिसले राजलाई “महाराज हजुरलाई किन मन्त्री चाहियो ? भनेछन् । जनता दुःखी भए त्यसैले भनेर राजाले भनेछन् । जहाँ गए पनि गुनासो मात्र गर्दछन् धन भएन भन्दछन् । मेरा जनता सुखी भएनन् भनी बिलौना गरेछन् । अनि तिम्रो माग के छ भन मन्त्री बन भनेछन् । स्रोत कति चाहिन्छ भनेछन् । ती आगन्तुक पुरुषले मलाई थप स्रोत केही चाहिँदैन, मन्त्री बनाउनुस् र दुई महिना बिदा दिनुहोला त्यस पछि बल्ल स्रोतका कुरा गरौँला । भनेछन् । उनी मन्त्री भए बिदा लिए।

आफ्नै गाउँमा गएर गाउँले प्रति आभार व्यक्त गर्दै म तपाईँहरूले गर्दा मन्त्री भएँ। अब मलाई के भन्नु हुन्छ भनेछन्। उनीहरूले तपाईँलाई के सहयोग गर्नु पर्छ गर्छौ, राजाको इच्छा पुरा गर्नुहोस् , राजाको इच्छा नै हाम्रो देशको संवृद्धिको इच्छा हो भनेछन्, ती गाउँलेले मन्त्रीसँग आफ्नो अपेक्षा र माग केही मागेनन् सहयोग गर्ने बाचा गरे। मन्त्रीले प्रत्येक गाउँलेलाई देशको एउटा-एउटा गाउँ जिम्मा लगाएर ध्यान, प्राणायाम, योग र आचरणका कुरा सिकाउन पठाएछन् । आफू पनि पछि-पछि सहयोगी बनेर गएछन् ।मन्त्री दुई महिना पछि दरवार फर्के राजासँग भलाकुसारी गरे, राजाले अब केही माग भनेछन् । उनले राजालाई “महराज अब जनतासँग जानुहोस् जनता को कति दुःखी छ, बुझ्नु अनि त्यही आधारमा म माग माग्छु” भनेछन्। राजा गए सबै प्रजाले आ-आफ्नो काम गरेका छन् , फुर्सदमा अर्कालाई सहयोग गरेका छन्, जप ध्यान, प्राणायाम, योग गरेका छन् । राजालाई दुःख सुख नै देखाएनछन् । राजा फर्के। मुलुक क्रमशः समृद्ध हुँदै गएको थियो रे । 

अन्त्यमा: धेरैले प्रदेश मन्त्री र सचिवलाई निकै ठूलो मान्छे मानेर तथास्तु भने पछि सबै कुरा पूरा हुन्छ भन्ने बुझेजस्तो गरेर , धेरै माग राखे । नगरिदिएको गुनासो पनि गरे । ठुलो मान्छे बनाइदिएकोमा धन्यवाद छ । मन्त्रीसँगको अनुगमन र कार्यक्षेत्र भ्रमण रमाइलो पनि हुने रहेछ, कार्यकर्ता र जनताको उपद्रो उत्साहपूर्ण भेला चाखपूर्ण थियो । तथापि भुँइमान्छे कुरा सुन्न/बुझ्न नपाउँदा जिल्लाको यात्रा अपुरो भएको महसुस भएको छ । हामी भन्दा ती उहिलेका गुरु र ती बाल विकासकी शिक्षिका पो यो जमानाका विज्ञ रहेछन् । चेत यस्तै भयो । यस्तै आयो ।

कसैले गरेका छन् । अरु कसैले गरिदिएका छन् । कसैले मेसो पाएका छैनन् । धेरैले मागेका छन् । मागिदिनेहरूको अवस्था उदिमान छ । गरिदिएका छन् । नगरेका पनि छन्। गरेका पनि छन् । नीति र कार्यक्रम भन्दा नियत ठूलो रहेछ । सच्चा मान्छे छन् तर भुईँमा नै छन् । नगर्ने, गरिदिने र मागिदिनेलाई गर्ने बनाउनुको विकल्प देखिदैन । सकिन्छ । गर्न पर्छ । राजनीतिककर्मी लगायतले बुझिदिनु पर्‍यो, उपाय छ ।

आशा गरौँ, हाम्रो चेत र चिन्तनमा निखार आउने छ । अहिलेको स्थिति सधैँ नरहला । विकासको यात्रा राजनीतिक चेतसँग बढी सम्बन्धित देखिन्छ । सिर्जना र घरेलु नमुनाको विकासको यात्रा सोचेभन्दा लामो र कठिन पनि हुन्छ । कुन राजनीतिक दललाई विकास गर्न इच्छा नहोला र ! कुन नेतालाई विकास गरेर देखाउने रहर नहोला ! हिजो भन्दा आज धेरै भएको छ । हुँदैछ । दुर्गमका गाउँहरूमा विद्यालय र स्वास्थ्य तथा सामाजिक सुरक्षाका राज्यका सेवा र संयन्त्र पुगेका छन् । ती सबैलाई ऊर्जावान् बनाउन साथ हामीले कर्णालीको विकासमा फड्को मार्नेछौँ ।

(यस लेखका पंक्तिकार कर्णाली प्रदेशका सामाजिक मन्त्रालयका सचिव हुन् )

Tags :
प्रतिक्रिया दिनुहोस