रोजगारसहित विकास निर्माणमा महिला सहभागिता वृद्धि गर्दै प्रधानमन्त्री रोजगार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोजगारसहित विकास निर्माणमा महिला सहभागिता वृद्धि गर्दै प्रधानमन्त्री रोजगार


१८ असार २०८०, सोमबार


स्याङ्जा। प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण विकास निर्माणमा महिला सहभागितामा वृद्धि भएको छ । कार्यक्रम मार्फत हुने विकास निर्माणका कामहरू साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजना, भवन निर्माणमा महिलाको सहभागिता बढेको हो । विकास निर्माणमा सहभागी भएका महिलाहरूले आर्थिक उपलब्धि समेत हासिल गरेका छन् ।

स्याङ्जाको बिरुवा ४ खुदिदालथरकी रेणुका दाहाल विगत ४ वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध छन् । कार्यक्रम अन्तर्गत उनले सडकका खाल्टाखुल्टी पुर्न ठेलामा माटो बोक्ने, गोरेटो बाटोमा सिँढी बनाउने, पहिरो सफा गर्ने, नाली खन्ने, नाला पुर्ने जस्ता काम गर्छिन् । यसबाट उनको रोजीरोटी चलेको छ भने आमाले खनेको बाटोले छोरीहरूलाई विद्यालय जान पनि सहज भएको छ । 

२०७७ सालमा उच्च रक्तचापबाट लडेका उनका श्रीमान् फेरि कहिल्यै उठेनन् । श्रीमानको औषधि उपचार खर्च र छोरीहरूको पढाइलाई निरन्तरता दिने जिम्मेवारी उनीमाथि प¥यो । यो त्यति सहज थिएन । तर, प्रधानमन्त्री रोजगार कार्यक्रमले उनको घाउमा मलम लगाउने काम ग¥यो ।  

दाहालका तीन छोरीहरू छन् । जेठी छोरी स्नातक दोस्रो वर्ष, माइली छोरी कक्षा १० र कान्छी छोरी ८ कक्षामा पढ्दै छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले छोरीहरूको पढाई खर्चका लागि मद्दत पुगेको उनले बताइन् । ‘सम्पत्तिले ६ महिना मात्र खान पुग्छ । बाँकी समय निमेकमै गुजारा चलाउने हो ।’ उनले भनिन्, ‘सीप छैन । सीप नभए पनि प्रधानमन्त्री रोजगारमा काम पाएकी छु । सय दिन भन्दा पनि अलि बढी दिन काम पाए सहज हुने थियो ।’

बिरुवा ८ की जोगमाया थापा (५८) पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तर्ले भञ्ज्याङ्गदेखि आले डाँडा पदमार्ग र मदन आश्रित पार्कदेखि मनकामना पदमार्ग आयोजनामा काम गरेकी छन् । त्यसबाट प्राप्त पारिश्रमिकले उनको परिवारको औषधि उपचार र घर खर्च चलेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमले विकास निर्माणको काममा पनि सहभागी हुन पाएको र घर खर्च पनि जुटेको उनले बताइन् । जोगमायाले आगामी आव २०८०÷८१ को लागि छोरोलाई वडा कार्यालय पठाई बेरोजगार दर्ता फर्म भर्न लगाएको जानकारी दिइन् । 

थापा र दाहाल जस्तै बिरुवा १ की रुपा खत्री (३६) पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध भई नाली बनाउने, बाटो सरसफाइ गर्ने, सिँढी बनाउने जस्ता काम गरेकी छन् । दाहसंस्कार स्थल (मसानघाट)मा पानी लैजाने, बाटोको छेउँछाउँमा झाडी र नाला सफा गर्ने,  ढुङ्गा, बालुवा, गिट्टी बोक्ने जस्ता काम गरेको उनले बताइन् ।

२०७८ फागुन १५ मा वडा कार्यालय पुगेर बेरोजगार सूचिमा सूचिकृत हुन फर्म भरेकी उनी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट न्यूनतम एक सय दिनको रोजगारी पाइन्छ कि पाइँदैन भन्ने अन्योलमा थिइन् । रोजगार सेवा केन्द्र बिरुवाले प्राथमिकताको आधारमा छनोट गरेको बेरोजगार व्यक्तिहरू मध्येमा उनी परिन् । फेदी तिलडाँडा गोरेटो बाटो निर्माण आयोजना सम्पन्न गर्दासम्म उनले ८६ दिन काम गरेकी थिइन् ।

‘काम सानो ठूलो हुँदैन । वर्षको सय दिन भन्दा पनि हामी जस्तो बेरोजगार र आर्थिक अवस्था कमजोर भएकालाई वर्षभरि नै काम पाए राम्रो हुने थियो ।’ उनले भनिन्, ‘काम पाएमा महिला भनेर पछि हटिँदैन । सबै काम गर्न सक्छु । गर्छु ।’ फर्म भरेमा काम पाइन्छ भन्ने सुनेको र फर्म भरेपछि रोजगारी पनि पाएको उनले सुनाइन् ।

पहिलो पटक श्रम बापतको पैसा आफैँ बैंकमा गएर निकाली चाडबाड मनाउँदा निकै खुसी लागेको उनले बताइन् । ‘हातमा सीप थिएन । १४ वर्षको उमेरमै विवाह भयो । धेरै पढ्न पाइन । तर, प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी दियो । घर खर्च चलेको छ,’ उनले भनिन् ।

‘अर्को वर्ष पनि रोजगारी दिनु है’

वि.सं. २०७५ साल फागुनबाट शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारका लागि वरदान साबित भएको छ भने दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । रोजगारी सिर्जनाले गर्दा श्रमिकहरूको जीवनस्तर र सामुदायिक पूर्वाधारको क्षेत्रमा विकास भएको छ । कार्यपालिका सदस्य माया गुरुङले आर्थिक अवस्था कमजोर भएका र घरमा चुलो बल्न नसक्ने परिवारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत पु¥याएको बताइन् ।

एक पटक रोजगार कार्यक्रममा आबद्ध भएका श्रमिकहरूले यसको निरन्तरताको अपेक्षा राख्ने गरेका छन् । वडा नं. ३ का तेजबहादुर थापा (५५)ले माझगाउँदेखि धम्पालीथरसम्म गोरेटो बाटो निर्माण आयोजना लगायत अन्य पूर्वाधारका क्षेत्रमा काम गरेका छन् । माझगाउँदेखि धम्पालीथरसम्म गोरेटो बाटो निर्माण आयोजना सम्पन्न हुँदा उनले ८२ दिन काम गरे । 

यसबाट प्राप्त पारिश्रमिकले परिवारको पालनपोषण, छोराछोरीलाई पठनपाठन र घरको ऋण तिरेको उनले जानकारी दिए । थापाले भने, ‘पैसा निकालेर घरायसी खर्चको लागि सामान किने, केही रकमले छोराछोरीलाई कपी किताब किने । अर्को वर्ष पनि रोजगार दिलाउनु है ।’

वडा नं. ५ सिम्लेका सोमबहादुर थापा (३७) ले पनि गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध भएका हुन् । उनले बाटो बनाउने, नाला खन्ने, खाल्टाखुल्टी पुर्ने काम गरेका छन् । जलजलेबाट बौरीबोटसम्म, वडा कार्यालयबाट बाख्रा पानीसम्म बाटो बनाएको उनले बताए ।

मलेसियाबाट फर्केको थापाले रोजगारी कै लागि बिदेसिने मनस्थितिमा छैनन् । तर, कक्षा ६ मा पढ्दै गरेको छोरोको भविष्य राम्रो बनाउनका लागि एक सय दिनको रोजगारी पर्याप्त नहुने उनको भनाइ छ । 

लागत साझेदारी कार्यान्वयन

बिरुवा गाउँपालिकाले प्रधानमन्त्री रोजगारका लागि योजना छनोट गर्दा पालिकाको आवश्यकता र उक्त कार्यक्रमको जनशक्तिले गर्न सक्ने काम अनुसार योजना पहिचान गर्ने गरेको छ । रोजगारमा संलग्न हुने जनशक्ति सबै सीप युक्त र दक्ष नहुने भएकाले योजना पनि उहीहरूले सम्पन्न गर्न सक्ने खालकै छनोट गर्ने गरिएको पालिकाले जनाएको छ ।

रोजगार कार्यक्रमका लागि पैदल मार्ग, कृषि क्षेत्र, सडकको नाला सरसफाइ जस्ता योजनाहरू पालिकाले छनोट गर्ने गरेको छ । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गरेर नै काम गर्ने गरेको छ ।  योजनाहरूका लागि पालिकाको तर्फबाट सामग्री उपलब्ध गराउने गरिएको र जनशक्ति प्रधानमन्त्री रोजगारबाट उपलब्ध हुने गरेको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन कसरी गरिन्छ भन्ने विषय महत्त्वपूर्ण छ । यसैलाई मध्यनजर गर्दै बिरुवा गाउँपालिकाले लागत साझेदारीमा कार्यान्वयन गर्ने गरेको छ । ‘लागत साझेदारीमा काम गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार दिने र निर्माण सामग्री गाउँपालिकाबाट दिने गरिएको छ ।’ अध्यक्ष, कुँवरले भने, ‘यसले राम्रै उपलब्धि भएको छ । कार्यक्रम पनि सकारात्मक ढङ्गबाट अघि बढेको छ ।’

प्राविधिक सहायक भानुभक्त आलेका अनुसार विगत दुई वर्षदेखि पालिकाको साझेदारीमा काम हुने गरेको छ । निर्माण सामग्री पालिकाबाट उपलब्ध हुने गर्छ भने श्रमिक रोजगार कार्यक्रमबाट उपलब्ध हुने गर्दछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा अदक्ष कामदार नै सहभागी हुने गर्दछन् । दीर्घकालीन प्रभाव पार्ने योजना छनोट गर्ने गरिएको र अदक्ष भएका कारण निगरानीमै काम गर्ने गरिएको उनले बताए । आलेले भने, ‘योजना सुरु भएदेखि सम्पन्न नहुँदासम्म तीन पटकसम्म अनुगमन र निरीक्षण गर्ने गरिन्छ । श्रमिकलाई सिकाउने पनि गरिन्छ ।’ बेलाबेला आयोजना स्थल पुगी श्रमिकहरूको समस्या र गुनासो सुनी समाधान गरी काममा उत्प्रेरित गर्ने गरेको वडा नं. ५ का अध्यक्ष ङन बहादुर थापाले जानकारी दिए ।

स्थानीय स्तरमै गएर योजना आवश्यक छ छैन, अनुगम र निरीक्षण पछि योजनाहरू छनोट गर्ने गरिएको गाउँपालिकाका प्रवक्ता कृष्ण बहादुर क्षेत्रीले बताए । छनोट भएका योजनाहरू कार्यपालिकाको बैठकबाट पारित गरेपछि कार्यान्वयनमा आउने गरेका छन् ।

आगामी दिनमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने सोच रहेको क्षेत्रीले जानकारी दिए । उनले भने, ‘बेरोजगारहरूलाई समूह नै बनाएर कृषि क्षेत्रमा लगाउनु पर्दछ । जसले उत्पादन वृद्धि र रोजगारी दुवै प्राप्त हुने देखिन्छ ।’

गरिबी न्यूनीकरण र बेरोजगार अन्त्यमा एउटा इट्टा थप

बिरुवा गाउँपालिकामा आव २०७६/७७ मा सूचिकृत बेरोजगार व्यक्तिको संख्या ३५७ रहेको छ । जसमा पुरुष २१६ र महिला १४१ छन् । सूचिकृतमध्ये १०९ जनाले रोजगारी पाएका थिए । आव २०७७/७८ मा सूचिकृत बेरोजगार व्यक्तिको संख्या २६५ रहेको छ । जसमध्ये पुरुष २३२ र महिला ३३ रहेका छन् । सूचिकृत बेरोजगार मध्ये ११९ रोजगारीमा खटिएका थिए ।

आव २०७८/७९ मा सूचिकृत बेरोजगार व्यक्तिको संख्या २०६ रहेको छ । जसमध्ये पुरुष १३१ र महिला ७५ रहेका छन् । सूचिकृत बेरोजगारमध्ये ८४ जनाले रोजगारी पाएका थिए । आव २०७९/८० मा सूचिकृत बेरोजगारको संख्या २०९ रहेको छ । जसमध्ये पुरुष १२८ र महिला ८१ रहेको छ । सूचिकृत भएका मध्ये ६८ जनाले रोजगारी पाएका थिए ।

बिरुवा गाउँपालिकाका रोजगार संयोजक खेमराज मरासिनीका अनुसार गरिबी न्यूनीकरण गर्न र बेरोजगार अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले एउटा इट्टा थपेको छ । सामुदायिक पूर्वाधारका क्षेत्रमा काम हुँदा विकास निर्माणमा पनि टेवा प¥याएको उनले बताए ।

कार्यक्रमले सिपविहीन आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई राज्यले न्यूनतम रोजगारी र प्राप्त पारिश्रमिकले गरिबी निवारण गर्न सहयोग पुगेको छ । समान कामका लागि समान पारिश्रमिक व्यवस्था भएकोले सामूहिक रूपमा काम गर्दा लैङ्गिक भिन्नता नभई समानता ल्याउनमा समेत यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

आर्थिक हिसाबले विपन्न घर परिवारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले घर व्यवहारका लागि अरूको भर पर्नु नपरेको, घरायसी आर्थिक समस्या सुल्झिएनुका साथै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याई सरकारको अभिभावकत्वको अनुभूति गराएको मरासिनीले बताए ।

पालिकामा सञ्चालित योजनाहरू

बिरुवा गाउँपालिकामा सामुदायिक पूर्वाधार निर्माण, सडक यातायात, पर्यटन प्रवर्द्धन, खानेपानी तथा सरसफाइसँग सम्बन्धित योजनाहरू सञ्चालित छन् । बिरुवा गाउँपालिकाका रोजगार सहायक भोजबहादुर रानाका अनुसार रोजगार कार्यक्रम अन्तर्गत बाटो मर्मत तथा स्तरोन्नति, वाल निर्माण, पदमार्ग मर्मत तथा स्तरोन्नति, पानी व्यवस्थापन तथा सरसफाइ, सडक मर्मत तथा सरसफाइका काम हुने गरेका छन् ।

चालू आर्थिक वर्षमा १६ सय मिटर पैदल मार्ग निर्माण भएको छ । गाउँपालिकाका प्रवक्ता क्षेत्रीले गाउँपालिकामा पदमार्ग र साना सिँचाइ योजनालाई प्राथमिकतामा राखेर काम गर्ने गरिएको बताए । 

वडा नं. १ मा सञ्चालित योजनाहरूमा फेदी तिलडाँडा गोरेटो बाटो निर्माण, संसानघाट पानी व्यवस्थापन तथा बाटो सरसफाइ र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ रहेका छन् । वडा नं. २ मा कमिसेडाँडा गोरेटो बाटो, तुलसीचौर गोरेटो बाटो र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ रहेका छन् ।

वडा नं. ३ मा माझगाउँदेखि धम्पालीथर सम्म गोरेटो बाटो निर्माण, धोबादी माथिल्लो टोलदेखि दलित बस्तीसम्म गोरेटो बाटो र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ रहेका छन् । यसैगरी वडा नं. ४ मा भोर्ले पोखरीदेखि सिरानघरसम्म गोरेटो बाटो, नयाँ वडा कार्यालयदेखि माथि सडकसम्म गोरेटो बाटो र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ रहेका छन् ।

वडा नं. ५ मा सम्मखर्के तल्लो शिखरसिंह गहते पदमार्ग निर्माण, लौसी नियाँबारी गोरेटो बाटो र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ रहेका छन् । वडा नं. ६ मा दुर्गादेवी पदमार्ग, बलेउ पदमार्ग र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ गर्ने रहेका छन् । वडा नं. ७ मा यादीदेखि यादी भञ्ज्याङ्ग ग्रामीण सडक स्तरोन्नति र वडा भित्रका बाटो मर्मत तथा सरसफाइ रहेका छन् । वडा नं. ८ मा मदनआश्रीत पार्कदेखि मनकामना पदमार्ग, तर्ले भञ्ज्याङ्गदेखि आले डाँडा पदमार्ग रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस